Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

पालिकाले शिक्षक नियुक्ति गरेपछि विवाद

मंगलबार, १६ असोज २०७५

काठमाडौं १६ असोज / रौतहटको माधवनारायण नगरपालिकाले नियमविपरीत शिक्षक नियुक्ति गरेको भन्दै विरोध भएको छ । गएको २६ चैतमा नगरपालिकाले १७ जना शिक्षक नियुक्ति गरेको सार्वजनिक भएपछि असन्तुष्ट जनप्रतिनिधि र स्थानीयले विरोध जनाएका हुन् । 

नयाँ पत्रिकाका अनुसार नगरपालिकाबाट नियुक्ति पाएका शिक्षकले विद्यालयमा हाजिर भएर काम सुरु गरेपछि मात्र शिक्षक नियुक्तिको विषय सार्वजनिक भएको हो ।

स्थानीय तहलाई शिक्षक नियुक्त गर्ने अधिकार नभएको ठहर सर्वोच्च अदालतले केही महिनाअघि नै गरेको थियो । सर्वोच्चको निर्देशनविपरीत मेयर वीरेन्द्रप्रसाद यादव, उपमेयर सिमलकुमारी साह र प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थको मिलेमतोमा १७ जनालाई गैरकानुनी रूपमा करारमा शिक्षक नियुक्ति गरिएको आरोप वडाध्यक्षहरूले लगाएका छन् । नियुक्ति दिइएका शिक्षकलाई मासिक पारिश्रमिक १४ हजार रुपैयाँ तोकिएको छ ।

यी हुन् नियुक्ति पाउने शिक्षक
नगरपालिकाले सञ्जीवकुमार गुप्ता र सरोजकुमारलाई मावि माधवपुर, सीता साहलाई देवी मावि सखुअवा, सुवासचन्द्र साहलाई राधाकृष्ण मावि मिठुअवा, प्रमोदप्रसाद यादवलाई आधारभूत विद्यालय भेलही, रिना कुमारीलाई राधाकृष्ण मावि मिठुअवा, रेनुराय यादवलाई आधारभूत मावि दिपही, सुरेन्द्र रामलाई आधारभूत मावि दिपही, रिना कुमारीलाई रामजानकी प्रावि दिपही, रामदरेश साहलाई प्रावि खडकी, नर्मदेश्वर पटेल र भिखारीराम यादवलाई बालिका आधारभूत विद्यालय विष्णुपुर्वा, दीपेन्द्रकुमार साहलाई प्रावि मिठुअवा कटहरिया, अनामिका कुमारीलाई पुनम कन्या प्रावि मिठुअवा, सुरेन्द्र रामलाई राधाकृष्ण मावि मिठुअवा, रिता यादवलाई सहिद सुरेश प्रावि सखुअवा र रुवि यादवलाई रामजानकी प्रावि दिपहीमा नियुक्ति दिइएको छ । अधिकांशको चलानी नम्बर एकै छ ।

तीनजनाले मनोमानी गरेको आरोप

नौवटा वडा रहेको नगरपालिकामा कसैको बहुमत नभए पनि मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले मनोमानी गर्ने गरेको वडा नम्बर–१ का अध्यक्ष रणधिरप्रसाद यादवले बताए । उनले पदपूर्ति सहमतिसमेत नबनाई एकलौटी रूपमा अवैधानिक रूपमा शिक्षक नियुक्ति दिएको आरोप लगाए । ‘कार्यापालिकाको बैठकसमेत नराखी, कसैलाई जानकारीसमेत नदिई गरिएको नियुक्ति हामीलाई मान्य छैन,’ उनले भने, ‘नियुक्ति पत्रमा समेत लेटरप्याड किर्ते गरेर एउटै चलानी नम्बर राखिएको छ ।’ शिक्षक नियुक्ति गर्दा मेयरले आर्थिक चलखेल गरेको आरोप उनको छ ।

वडा नम्बर–६ का अध्यक्ष राजीवकुमार यादवले पनि शिक्षक नियुक्तिको विरोध गरेका छन् । उनले शिक्षक नियुक्ति गरिएको नौ महिनापछि मात्रै थाहा भएको बताए । केन्द्रले शिक्षक भर्ना नगर्न निर्देशन दिएको भए पनि मेयर र उपमेयरले स्वेच्छाचारी  ढंगले नियुक्ति गरेको आरोप स्थानीयले लगाएका छन् ।

नयाँ पत्रिकामा माधवनारायण नगरपालिकाले १७ जना शिक्षक नियुक्ति गरेपछि विवाद शिर्षकमा अशोक पहाडीले लेखेका छन् । 

प्रतिक्रिया