Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

सामुदायिक विद्यालयमा सफ्टवेयरको माध्यमबाट पढाइ

आइतबार, ०७ असोज २०७५

काठमाडौं ७ असोज / दोलखाको कालिञ्चोक गाउँपालिका क्षेत्रका सामुदायिक विद्यालयले सफ्टवेरको माध्यमबाट शिक्षण सिकाइ सुरु गरेका छन् । स्मार्ट टिभीको प्रयोग गरी मिदास ई–क्लास नामको सफ्टवेरमार्फत गाउँपालिका क्षेत्रका सवै विद्यालयमा डिजिटल कक्षाको शिक्षण सिकाइ सुरु गरिएको हो ।

नयाँ पत्रिकाका अनुसार गाउँपालिका क्षेत्रका ५१ वटै सामुदायिक विद्यालयमा गुणस्तरीय र समयअनुकूलको शिक्षा दिने उद्देश्यले डिजिटल कक्षा सुरु गरिएको छ । पहिलो चरणमा बाल कक्षादेखि कक्षा दुईसम्म डिजिटल कक्षा सञ्चालन गरिएको छ । प्रविधिमैत्री शिक्षण विधिबाट अहिलेसम्म २० वटा विद्यालयमा पठनपाठन सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण हुमागाईंले जानकारी दिए ।
विद्यार्थी उत्साहित

अधिकृत हुमागाईंका अनुसार सफ्टवेरमा बालकक्षादेखि कक्षा दुईसम्मका सबै विषयका विषयवस्तु समेटिएका छन् । ३२ इन्चको स्मार्ट टिभीमार्फत पाठ्यक्रमका विषयवस्तु पढ्न पाएपछि विद्यार्थी पनि उत्साहित हुँदै पढ्ने गरेका छन् । कक्षा सञ्चालनका लागि ३२ इन्चको एक थान टिभी र एक थान डेस्कटप कम्प्युटर गाउँपालिकाले नै उपलब्ध गराएको छ ।

सफ्टवेयर पनि गाउँपालिका आफैँले खरिद गरेको गाउँपालिकाका अध्यक्ष कुमार थामीले जानकारी दिए । डिजिटल कक्षा सञ्चालन गर्न गाउँपालिकाले प्रत्येक विद्यालय एक लाख रुपैयाँ खर्च गरेको छ । सामुदायिक विद्यालयमा डिजिटल प्रविधि प्रयोग गरी शिक्षण सिकाइ गर्न थालेपछि पढाइप्रति विद्यार्थीको आकर्षण पनि बढेको छ ।

विगतमा शिक्षकले पाठ पढेर सामान्य ब्याख्या गर्ने परिपाटीको अन्त्य भई विद्यार्थी आफैँले टेलिभिजनबाट हेर्दै सिक्न पाउने भएपछि बालबालिकामा पढाइप्रतिको आकर्षण बढेको कालिञ्चोक गाउँपालिकाका स्रोत शिक्षक कृष्णप्रसाद मैनालीले बताए ।

नयाँ पत्रिकामा श्याम खतिवडाले लेखेका छन् ।

प्रतिक्रिया