काठमाडौं - कक्षा ११ र १२ मा ७ हजार ८ सय ५ शिक्षक कम भएको शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलले जनाएको छ । मंगलबार सरकारलाई बुझाएको कार्यदलको प्रतिवेदनमा उक्त तहमा १३ हजार ६ सय ६४ शिक्षक चाहिनेमा हाल ५ हजार ८ सय ५९ शिक्षक मात्रै कार्यरत रहेको उल्लेख छ । यो तहमा कूल विद्यार्थीको ५५ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत रहेको प्रतिवेदनमा उल्लेख छ ।
धेरै विद्यालयहरूमा शिक्षक– विद्यार्थी अनुपातको दायरा फराकिलो रहेको जनाउँदै प्रतिवेदनमा ६१ जना विद्यार्थी बराबर १ शिक्षक रहेको उल्लेख छ ।
सोही तथ्य विश्लेषण गरेर कार्यदलले शिक्षक ब्यवस्थापनको प्रस्ताव गरेको छ ।
जस अनुसार न्यूनतम ३ शिक्षक दरबन्दी प्रदान गर्ने, प्राविधिक तथा व्यावसायिक धार भएका विद्यालयमा र विज्ञान विषय सञ्चालन भएका विद्यालयमा थप १ गरी न्यूनतम ४ दरबन्दी कायम गर्न प्रतिवेदनमा प्रस्ताव गरिएको कार्यदल श्रोतले जनाएको छ । कक्षागत विद्यार्थी सङ्ख्याको आधारमा ६१ जना विद्यार्थी भएमा थप १ दरबन्दी प्राप्त गर्ने गरी प्रस्ताव गरिएको उक्त श्रोतको भनाई छ ।
यो तहको विद्यार्थी विवरण राख्ने प्रमुख निकाय राष्ट्रिय परीक्षा बोर्ड भए पनि तत्कालिन शिक्षा विभागले समेत तथ्याङ्क राखेको भए पनि दुई निकायका तथ्याङ्कमा भद्रगोल रहेको प्रतिवेदनमा उल्लेख छ ।
विभागको परिवर्तित संरचना शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि हरेक वर्ष जेठ ७ गते यो तहका विद्यार्थीको विवरण लिन्छ । तर कक्षा ११ र १२ को भर्ना समय असार–साउनमा हुने भएकोले तथ्याङ्क लिने समयको तालमेल नमिलेको कार्यदलले निष्कर्ष निकालेको छ ।
त्यसैले केन्द्रसँग उक्त तहका विद्यार्थीको एकीन तथ्याङ्क पाउन गाह्रो रहेको बताउँदै प्रतिवेदनमा बोर्डले आफनै स्वरूपमा राखेको तथ्याङ्क केन्द्रसँग मिलाउने काम नगर्दा आफूहरुलाई काम गर्न अत्यन्त कठिन भएको कार्यदलका एक सदस्यले बताए ।
दरबन्दी सङ्ख्या प्रक्षेपण गर्दा विद्यालयगत रुपमा गर्नुपर्ने हुन्छ । त्यसैले ती कक्षाको तथ्याङ्कलाई केन्द्रको तथ्याङ्कसँग मिलाएर मात्र एकीन तथ्याङ्क निकाल्न सकिने कार्यदले निष्कर्ष निकालेको छ । माया अधिकारीले लेखेका छन् ।
प्रतिक्रिया