काठमाडौं ५ असोज / विद्यार्थी संख्या न्यून भएकाले समायोजन गरिएका सामुदायिक विद्यालयको भौतिक सम्पत्ति अलपत्र भएको छ । पाँच वर्षदेखि पर्वतका सामुदायिक विद्यालय विद्यार्थी अभावका कारण समायोजना गर्न सुरु गरिएको हो । नजिक रहेको अर्को सामुदायिक विद्यालयसँग गाभिएका विद्यालयको भवन, फर्निचरलगायत सामग्री वेवारिसे अवस्थामा छन् ।
पर्वतमा विद्यार्थी संख्या नभएकाले ३४ वटा विद्यालय गाभिएका थिए । सबैजसो विद्यालय प्राथमिक तहका छन् । जिल्लाका सात वटै स्थानीय तहमा रहेका विद्यालय नजिकका विद्यालयसँग गाभिएका हुन् । गाभिने विद्यालयमध्ये जलजला गाउँपालिकामा ६ वटा, कुस्मा नगरपालिकामा ५ वटा, फलेबास नगरपालिकामा ८ वटा, महाशिला गाउँपालिकामा ३ वटा, बिहादीमा ३ वटा र पैंयु गाउँपालिकामा ५ वटा छन् ।
सरकारले न्यूनतम एक जना शिक्षक बराबर ४५ जना विद्यार्थी नभएका विद्यालयलाई नजिकको अर्को विद्यालयसँग समायोजन गर्ने नीति अवलम्बन गरे अनुरुप विद्यालय समायोजन भएका हुन् । सरकारको उक्त नीति भए पनि पर्वतमा एक जना शिक्षक बराबर ४ जना विद्यार्थी भएकालाई समायोजन भएको थिएन । त्यतिकै संख्यामा विद्यार्थी नभएका ३४ वटा विद्यालय भौगोलिक, जनसंख्याका आधारमा समायोजन गरिएको जिल्ला शिक्षा विकास समन्वय इकाइ पर्वतका प्रमुख उद्धिराज पौडेलले जानकारी दिए । ‘भौगोलिक हिसाबले हदैसम्मको लचकता अपनाइए पनि विद्यार्थी नै नभएपछि विद्यालय गाभिएको हो’, उनले भने ।
स्थानीय तह कार्यान्वयन अघि गाभिएका विद्यालयको भौतिक सम्पत्तिको जिम्मेवारी विद्यालय व्यवस्थापन समितिलाई दिने गरिएको थियो । तर संघीयता कार्यान्वयनसँगै स्थानीय तहको निर्वाचनपछि गाभिएका विद्यालयको सम्पत्ति व्यवस्थापन गर्ने जिम्मा जनप्रतिनिधिलाई दिने गरिएको छ । गाभिएका विद्यालयको भौतिक पूर्वाधार व्यवस्थापनको जिम्मा सम्बन्धित वडाध्यक्षलाई दिने गरिएको इकाइ प्रमुख पौडेलले बताए ।
जिल्लाका गाभिएका ३४ वटै विद्यालयको भौतिक पूर्वाधार जीर्ण बन्नुका साथै त्यहाँका सामग्री उपयोग गर्ने नमिल्ने अवस्थामा पुगेका छन् । भवन जीर्ण बनेका छन् भने कतिपय सुरुका चरणमा गाभिएका विद्यालय भग्नावशेषमा परिणत भएका छन् । राज्यको लगानीमा निर्माण गरेका भौतिक पूर्वाधार अलपत्र हुँदा पनि सम्बन्धित निकायले व्यवस्थापन गर्न नसकेको स्थानीयवासीको गुनासो छ ।
भवन मर्मत गरी प्रयोग गर्न मिल्ने, बिक्री गर्न सकिने ढुंगा, काठ, जस्तापाता, फर्निचरजस्ता सामान अलपत्र बनेको कुस्मा नगरपालिका–३ दुर्लुङका बलबहादुर गुरुङले बताए । ‘राज्यको सम्पत्ति संरक्षणमा कसैको ध्यान गएन’, उनले भने । उक्त स्थानमा गाभिएको मिलन प्राविको दुई कोठे भवन आमा समूहले कार्यालयको रुपमा प्रयोग गरेको छ भने बाँकी सबै कक्षा कोठा जीर्ण बनेको छ ।
जनप्रतिनिधिले भने गाभिएका विद्यालयको भौतिक संरचना यथावतै रहेको दावी गरेका छन् । उनीहरुलाई स्थानीय तह वा सम्बन्धित वडाले आफ्नो विभिन्न प्रयोजनमा प्रयोग गर्न सक्ने बताउँदै त्यसको व्यवस्थापन गर्न आवश्यक कार्ययोजना बनाउन सुरू गरेको जनाएका छन् । फलेबास नगरप्रमुख पदमपाणि शर्माले सम्बन्धित व्यवस्थापन समिति र वडाका जनप्रतिनिधिको रोहबरमा त्यस्ता सम्पत्तिलाई सामुदायिक भवन वा अन्य कुनै तालिम, सेमिनार गर्ने भवनको रुपमा विकास गर्न लागिएको बताए ।
अन्नपूर्ण पोष्टमा माया अधिकारीले लेखेका छन् ।
प्रतिक्रिया