काठमाडौं - सीमा पारिबाट आएको अज्ञात समूहले गोली प्रहार गरेर सुनसरीमा विद्यालय सञ्चालक कुर्सिद मियाको हत्या गरेको छ । मियालाई गोली हानेर भागेका अज्ञात ब्यक्तिले सीमा सुरक्षामा खटिएको प्रहरी चौकिमा समेत गोली हानेर प्रहरीलाई घाईते बनाएको छ ।
हरिनगर गाउँपालिकामा रहेको रैय्यान नेशनल स्कुलका सञ्चालक समेत रहेका मियालाई गोली हान्ने ४ जना भारतीय क्षेत्र तर्फ भागेका प्रहरीलाई उदृत गर्दै पालिका अध्यक्ष गफार अन्सारीले जानकारी दिए ।
मियाले विगत ५ बर्ष देखि आफ्नै जग्गामा विद्यालय सञ्चालन गर्दै आएको उनले बताए ।
'म ब्यक्तिगत कामले अहिले जिल्ला बाहिर छु, तर घटनाका बारेमा एक एक खबर लिईरहेको छु, विहान साढे १० बजे तिर २ वटा मोटरसाईकलमा आएका चार जनाले गोली हानेर भारत तिर भागेका प्रहरीले मलाई बताएको छ' उनले भने, 'गोली हानेपछि भारत तीर भागेकाले उनीहरु पेशेवर हत्यार हुन सक्ने शंका गरिएको छ, प्रहरीले अनुसन्धान गरिरहेको छ ।'
विद्यालय सञ्चालन गर्दै आएका मिया राजनीतिक रुपमा तत्कालिन एमाले निकट हुन् । उनी यस अघि साविकको जिल्ला विकास समितिमा मनोनित सदस्य समेत रहेका अध्यक्ष मियाले बताए । तर घटनामा राजनीतिक कारण थियो वा अन्य कुनै कारण हो भन्ने बारेमा प्रहरीको अनुसन्धान अगावै भन्न नसकिने उनले बताए ।
मियालाई गोली हानेपछि भागेका ती अज्ञात ब्यक्तिले सीमा सुरक्षामा खटिएको प्रहरीलाई समेत गोली हानेर भागेको प्रहरीलाई उदृत गर्दै स्थानीय पत्रकार अरविन्द मेहेताले जानकारी दिए । गोली लागेर घाईते भएका एक प्रहरी जवानलाई थप उपचारका लागि विराटनगर लगिएको उनले बताए ।
प्रतिक्रिया