काठमाडौं १ असोज नियमित पढाइ नहुने, शिक्षकको उपस्थिति नहुने, विद्यार्थी संख्याको गलत विवरण आउने, पूर्वाधार अभावमा विद्यार्थीलाई समस्या पर्ने र परीक्षाको नजिता सन्तोषजनक नभएका जस्ता गुनासा स्थानीय तहमा आउने गरेका छन् ।
यस्तो गुनासो आउने क्रम नरोकिएपछि त्यस्ता विद्यालयको अवस्था सुधार्न जनप्रतिनिधिहरू सक्रिय बनेका हुन् । ताप्लेजुङबाट आनन्द गौतम, विराटनगरबाट विनोद भण्डारी, झापाबाट अर्जुन राजवंशी र तेह्रथुमबाट चन्द्र कार्कीले कान्तिपुरका लागि तयार पारेको रिपोर्ट :
स्थानीय तह बनेयता विभिन्न नगर र गाउँपालिकाले आफ्ना क्षेत्रका सामुदायिक विद्यालयको अवस्था सुधार्न पहल गरिरहेका छन् । कतिपय तहले निश्चित मापदण्डका आधारमा केही विद्यालयलाई ‘नमुना’ बनाउने कार्यक्रम ल्याएका छन् । त्यसका लागि बजेट विनियोजनसमेत गरिएको छ । प्रारम्भिक रूपमा केही विद्यालय छानिसकिएको छ । यसलाई निरन्तरता दिन हरेक वर्ष केही संख्यामा विद्यालय छनोट गरी नमुना बनाउने योजना स्थानीय तहको छ ।
अवस्था बुझ्दै जनप्रतिनिधि
सामुदायिक विद्यालयको गुणस्तर सुधार्न ताप्लेजुङको फक्तालुङ गाउँपालिकाले अभियानै चलाएको छ । जनप्रतिनिधिहरू विद्यालय पुगेरै अध्ययन गर्न थालेका छन् । उनीहरू कक्षाकोठासम्मै पुगेर पढाइबारे विद्यार्थीसँग अन्तक्रिया गरिरहेका छन् ।केही दिनअघि फक्तालुङ गाउँपालिका अध्यक्ष सरोज एभेङले गाउँका विभिन्न विद्यालय पुगेर विद्यार्थी र शिक्षकको समेत हाजिरी जाँच गरे । बाल कक्षादेखि १० सम्म पढाइ हुने आदर्श मावि गएर हाजिरीअनुसार विद्यार्थी उपस्थित भए/नभएको जाँच गरेका थिए ।
यसैगरी वडा ३ का वडाध्यक्ष आइतराम लिम्बू विद्यालय स्रोतव्यक्ति भीम पौडेल र मनकुमार लिम्बूसहित पुगेर विद्यालय निरीक्षण गरेका थिए । उनीहरूले विद्यार्थीसँग अन्तक्र्रिया गरे । शिक्षकहरूले नियमित पढाए/नपढाएको सोधेका थिए । पढाइ कस्तो छ भनेर समेत बुझिएको लिम्बूले बताए ।
अध्यक्ष एभेङका अनुसार कतिपय विद्यालयमा शिक्षक नियमित नआउने, विद्यार्थी संख्या ढाँट्ने गरेको पाइएपछि नियमित अनुगमन थालिएको हो । शिक्षा नियमावली प्रभावकारी रूपमा लागू गर्न र नयाँ योजना बनाउन पनि सहयोगी हुने भएकाले स्थलगत अनुगमन गरिएको उनले बताए । भदौ मसान्तसम्म सबै विवरण संकलन गरिने गाउँपालिकाले जनाएको छ ।
वडा ६ को फले, ग्याब्लालाई घुन्सा आधारभूत विद्यालयमा गाभ्ने निर्णय गाउँपालिकाले गरिसकेको छ । शिक्षा मन्त्रालयले घुन्सामा आवासीय सुविधा दिने भएपछि विद्यार्थी संख्या कम भएका यी विद्यालय गाभ्ने निर्णय भएको हो । वडा ७ को याङमा आधारभूत विद्यालयलाई ओलाङचुङगोलामा गाभ्ने तयारी गाउँपालिकाको छ । विद्यार्थी संख्या नभएका विद्यालयका शिक्षकलाई अन्यत्र सार्ने र विद्यार्थीलाई सुविधा दिने गरी तयारी भएको अध्यक्ष एभेङ बताउँछन् ।
‘नमुना’ बनाउने अभियान
झापाका विभिन्न स्थानीय तहमा सञ्चालित ८ सामुदायिक विद्यालयलाई ‘नमुना’ बनाइने भएको छ । यसका लागि कार्ययोजना बनाउने प्रक्रिया सुरु भएको छ । दमक नगरपालिकाको हिमालय मावि, गौरादह नगरको प्रगति मावि, कनकाई नगरको कनकाई मावि, बिर्तामोडको महेन्द्र रत्न माविलाई नमुना बनाइने भएको हो । यसैगरी मेचीनगरको धुलाबारी मावि, हल्दिबारीको हल्दिबारी मावि, कचनकवल गाउँपालिकाको लक्ष्मीप्रसाद मावि र झापा गाउँपालिकाको डिल्लीराज माविलाई नमुना विद्यालय बनाउन छानिएको छ ।
विश्व बैंकको सहयोगमा सरकारले नमुना विद्यालय निर्माण गर्ने योजनाअन्तर्गत छानिएका ती विद्यालयका लागि कार्ययोजना बनाउन काम भइरहेको छ । झापामा ३ सय ६५ सामुदायिक विद्यालय छन् । यसका लागि शिक्षा मन्त्रालयबाट प्रत्येक विद्यालयलाई डेढ करोडका दरले बजेट निकासा भइसकेको छ ।
शिक्षा विभागले जारी गरेको ‘नमुना विद्यालय व्यवस्थापन निर्देशिका’ बारे ज्ञान नहुँदा जिल्लाका विद्यालयहरूले यसअघि निकै ठूलो बजेटको कार्ययोजना पेस गरेका थिए । विभागले कार्ययोजना संशोधन गर्न निर्देशन दिएको छ ।
विद्यालयहरूमा छात्र–छात्राको बेग्लाबेग्लै छात्रावास, प्रयोगशाला, पुस्तकालय, विद्यार्थी संख्याका आधारमा कक्षाकोठा, पर्याप्त शिक्षक र पठनपाठनमा आवश्यक सबै सामग्री उपलब्ध गराइने भएको छ । ‘हामी कार्ययोजना संशोधनमा जुटेका छौं,’ हल्दिबारी माविका प्रधानाध्यापक टंकबहादुर पाख्रिनले भने । उनले नमुना विद्यालयको काम छिट्टै सुरु गर्ने गरी कार्ययोजना चाँडै विभागमा पठाएर स्वीकृत गराउने तयारीमा रहेको बताए ।
छनोट भएका विद्यालयहरूमा भौतिक पूर्वाधार कमी छ । विद्यार्थीको चापअनुसार कक्षाकोठा नहुँदा लक्ष्मीप्रसाद देवकोटा माविका एउटै कक्षामा ७२ विद्यार्थी बस्न बाध्य छन् । उक्त विद्यालयमा हाल सञ्चालमा रहेका २६ मध्ये १८ कोठा मात्रै राम्रा छन् । ९ सय ३८ विद्यार्थी रहेको विद्यालयमा थप ४० कक्षाकोठा आवश्यक रहेको प्रधानाध्यापक हेमलाल आचार्य बताउँछन् ।
जिल्लाका अधिकांश विद्यालयमा भौतिक पूर्वाधारको कमीले पठनपाठनमा समस्या हुने गरेको शिक्षकहरूले बताएका छन् । विद्यालयहरूमा पर्याप्त कक्षाकोठा, शौचालय, पार्किङस्थल, प्रशासनिक भवनको अभाव छ तर नमुना विद्यालयमा छनोट भएकाले सरकारले ६५ प्रतिशत भौतिक पूर्वाधार, २५ प्रतिशत शिक्षण र १० प्रतिशत व्यवस्थापनमा खर्च गर्न मिल्ने गरी बजेट व्यवस्था गरेको धुलाबारी माविका सहप्रधानाध्यापक तेजप्रसाद चौलागाईंले बताए ।
डेढ करोड विनियोजन
विराटनगर महानगरपालिकाले नगरभित्रका ३ सामुदायिक र २ धार्मिक विद्यालयलाई ‘नमुना विद्यालय’ बनाउन करिब डेढ करोड बजेट छुट्याएको छ । विभिन्न १० मापदण्ड राखेर नमुना विद्यालयका लागि आवेदन मागेको थियो । तीमध्ये पहिलो चरणमा ५ वटालाई छानिएको हो ।
महानगरभित्र ५५ सामुदायिक र २० धार्मिक विद्यालय छन् । तीमध्ये नमुना विद्यालयका लागि ९ वटाले निवेदन दिएका थिए । नगरभित्रका सामुदायिक विद्यालयका स्रोतव्यक्ति विष्णुराज लामिछानेका अनुसार पोखरिया उच्च मावि, आदर्श उमावि, मिल्स मावि, ताजुल स्लाम आधारभूत विद्यालय र लक्ष्मीनारायण वेदविद्याश्रम मावि यसका लागि छानिएका छन् ।
पोखरिया, आदर्श र मिल्स प्रत्येकलाई ३५ लाख, ताजुल स्लामलाई २२ लाख र लक्ष्मी नारायणलाई भौतिक पूर्वाधार विस्तार र शैक्षिक सिकाइ प्रविधि विस्तारका लागि महानगरले २१ लाख रुपैयाँ उपलब्ध गराएको छ । पोखरिया उमावि सामुदायिक विद्यालयतर्फ शिक्षणमा मोरङकै उत्कृष्ट र आदर्श भौतिक पूर्वाधारमा नमुना मानिन्छ । दुवै विद्यालयले कक्षा १० सम्म अंग्रेजी माध्यमबाट पढाउँदै आएका छन् ।
नमुना विद्यालयका लागि महानगरले माविको शैक्षिक अवस्थासहित कक्षा ११ र १२ मा पढाइ हुने विषयको विवरण, विद्यालयको पर्याप्त जग्गा, विद्यार्थी अनुपात, एसईईको नतिजा, विद्युत् र इन्टरनेट पहुँच, शिक्षण सिकाइ, अंग्रेजी माध्यमको पढाइ, प्रविधिका आधारमा कक्षा सञ्चालन, जनशक्ति र उत्कृष्ट विद्यालय व्यवस्थापन समिति हुनुपर्ने मापदण्ड राखेको थियो ।
महानगर प्रमुख भीम पराजुलीका अनुसार छनोट भएका विद्यालयले महानगरले तोकेको मापदण्ड पूरा नगरे आर्थिक सहयोग दिइनेछैन । उनका अनुसार महानगरले हरेक वर्ष थप विद्यालयलाई नमुना विद्यालय बनाउन प्रत्येक शैक्षिक सत्रमा मापदण्ड तोकेर आवेदन माग हुनेछ । मापदण्डमा पर्ने थप ३ विद्यालयलाई आगामी शैक्षिक सत्रमा भौतिक पूर्वाधार विस्तार र शिक्षण सिकाइ प्रविधि विकासका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
महानगरले नगरभित्रका सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट अनिवार्य पढाउने अभियान पनि थालेको छ । स्रोतव्यक्ति लामिछानेका अनुसार त्यसमध्ये पोखरिया, आदर्श, सत्यनारायण र राधाकृष्ण माविले कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेका छन् । सरस्वती मावि र गोग्राहा माविले निमाविसम्म, जनपथ र मिल्स माविले प्राविसम्म अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेका छन् ।
नगरका थप दुई दर्जन विद्यालयले कक्षा ४ सम्म अंग्रेजी माध्यममा पढाउन थालेका छन् । लामिछानेका अनुसार बाँकी विद्यालयले शैक्षिक सत्र २०७६ देखि अंग्रेजी माध्यमबाट अनिवार्य पढाइ सुरु गर्ने प्रतिबद्धता गरेका छन् । नगरभित्र १८ मदरसा र २ गुरुकुल विद्यालय छन् । उनका अनुसार नगरभित्र विद्यालयमा आधारित ८० र समुदायमा आधारित ७० बालविकास कक्षा छन् ।
सुधार्न ३३ लाख बजेट
तेह्रथुमको म्याङलुङ नगरपालिकाले चालु आवमा खर्च गर्ने गरी नगर क्षेत्रको शैक्षिक विकासका लागि ३३ लाख रुपैयाँ छुट्याएको छ । नगर क्षेत्रभित्रका विद्यालयको भौतिक पूर्वाधार निर्माण, पुस्तक खरिदलगायत शैक्षिक गतिविधिमा खर्च गर्ने गरी ३३ लाख २६ हजार ६ सय रुपैयाँ बजेट छुट्याएको नगरप्रमुख सञ्जय तुम्बाहाम्फेले बताए ।
नगर क्षेत्रका सबै विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गर्ने नीति नगरपालिकाले लिएको छ । त्यसका लागि यो वर्ष १ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ । केही विद्यालयमा गत वर्ष नै विद्युतीय हाजिरी मेसिन जडान गरिसकिएको छ । सबै विद्यालयमा बालकक्षा सञ्चालन, शिक्षक र कर्मचारी व्यवस्थापन तथा प्रोत्साहन कार्यक्रमसमेतका लागि ४ लाख रुपैयाँ छुट्याइएको छ ।
कान्तिपुरबाट
प्रतिक्रिया