Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

बाढीले बगायो विद्यालय, विद्यार्थी खेल्ने चौरमा नदी

विहीबार, २८ भदौ २०७५

म्याग्दी - लगातार आएको पानीका कारण ठाउँ ठाउँमा झरेको पहिरोले थुनिएको रघुगंगा नदी एक्कासी बग्न थालेपछि उक्त वहावले विद्यालय र स्थानीयका घर सहितका सार्वजनिक संरचना बगाएको छ । मुस्ताङ र म्याग्दीको माथिल्लो क्षेत्रमा परेको पानीका कारण कालिगण्डकी सहितका अन्य नदीमा आएको बाढीले त्यस क्षेत्रको जनजीवन नराम्ररी प्रभावित भएको हो ।

छहरीमा थुनिएको रघुगंगाले पहिरो भत्काए पछि आएको बाढीले सोही गाउँपालिका ८ घ्याँसीखर्क स्थित रितुङ माध्यमिक विद्यालयको भवन बगाईदिएको छ । 

१ सय ७५ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयको सात वटा कोठा सहितको भवन र ३ वटा शौचालय बगाएको पालिकाका अध्यक्ष भक्तवहादुर भण्डारीले जानकारी दिए । 

'विद्यालयको खेल मैदानमा नदी बगिरहेको छ, उत्तरी क्षेत्रबाट विद्यालय आवत जावत गर्ने पुल समेत बाढीले बगाईदिएको छ' भण्डारीले भने, 'विद्यालयमा पठन पाठन कसरी चलाउने भन्ने बारेमा सोच्नै भ्याएको छैन, वरीपरी कुनै भवन पनि छैनन् अन्तिममा त्रिपाल हालेरै ब्यवस्था गर्ने होला !'

पहिलो चरणमा मानवीय उद्धार र सहयोगमा ध्यान दिने र त्यसपछि बल्ल विद्यालयको पठनपाठनको कुरा सोच्ने उनले बताए ।   

बाढीले खरीबोटका स्थानीयको ४ वटा घर, घ्याँसीखर्कको स्वास्थ्य चौकी, ४ वटा झोलुङ्गे पुल, साहारा युवा क्लबको भवन र मञ्च, झिङ्खानी महिला सहकारीको भवन र दोविल्ला स्थित महादेवको मन्दिर बगाएको भण्डारीले जानकारी दिए ।

'क्षतीको पूर्ण विवरण त आईसकेको छैन, अल्लि माथि तिर विजुलको पोल लडेर ३ वटा चौपाय मरेको भन्ने खबर पनि छ' उनले भने, 'हिजै नदी थुनिएको खबर पाएकोले नदी छेउछाउका बासिन्दालाई सरक्षित ठाउँमा बस्न भनिएकाले मानवीय क्षती टार्न सफल भयौं ।' 

बाढीले बेनी बजारमा समेत जोखिम बढाएको छ । कटान र पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडक पनि अवरुद्ध भएको छ । यसले गर्दा स्थानीयबासी तथा मुस्ताङ ओहोर–दोहोर गर्ने पर्यटक समस्यामा परेका छन् । 

विद्यालयको फाईल फोटो: ईण्टरनेटबाट 

प्रतिक्रिया