Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

दक्ष जनशक्ति उत्पादन गर्दै स्थानीय सरकार, शिक्षामा ४० करोड लगानी

सोमबार, २५ भदौ २०७५

भक्तपुर २५ भदौ / नयाँ संविधान र कानून अनुसार, देशभरका सबै स्थानीय सरकारले माध्यमिक तहसम्मको विद्यालय व्यवस्थापनको जिम्मेवारी पाएका छन्। यद्यपि विद्यालयमा स्थानीय सरकारको लगानी अनिवार्य गरिएको छैन । अन्य ७५२ स्थानीय तहमध्ये धेरैले आफू अन्तर्गतका विद्यालयको गुणस्तर सुधार्न केन्द्र र प्रदेश सरकारको मुख ताकिरहेका छन् । तर, भक्तपुर नगरपालिकाले आफ्नै लगानीमा खोलेका सात शिक्षण संस्थामावार्षिक रु.४० करोड खर्चेर मुलुकलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गरिरहेको छ ।

“कम शुल्कमा उच्च शिक्षा दिन, समाजलाई बौद्धिकबनाउन, नयाँ पुस्तालाई एक्काइसौं शताब्दीका चुनौती सामना गर्न सक्षम बनाउनर श्रमलाई उत्पादनशीलतासँग जोडेर शिक्षा र समृद्धिको लक्ष्य पूरा गर्न” नगरपालिकाको लगानीमा स्कूल र कलेजहरूसञ्चालन गरिएको नगर प्रमुख सुनिल प्रजापतिले बताए ।

नगरपालिकाले ख्वप मावि, ख्वप कलेज, ख्वप इन्जिनियिरिङ कलेज, ख्वप कलेज अफ इञ्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, शारदा मावि र शारदा कलेज सञ्चालन गर्दै आएको छ । यी सबै शिक्षण संस्थामा गरी अहिले ५ हजार ६०० विद्यार्थी छन् ।

२०५६ सालमा ख्वप माविमा ११ र १२ कक्षा सञ्चालन गर्ने अनुमति लिएर नगरपालिकाले शिक्षामा लगानी शुरू गरेको हो । जहाँ अहिले २ हजार ३०० विद्यार्थी अध्ययनरत छन् । ख्वप माविमा विज्ञान, व्यवस्थापन र मानविकीमा ११ र १२ कक्षाको पढाइ हुन्छ ।

२०५८ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर स्थापना भएको ख्वप इञ्जिनियरिङ कलेजबाटस्नातक र स्नातकोत्तर तहका गरी १ हजार ४४७ विद्यार्थीले अध्ययन पूरा गरिसकेका छन् । कलेजको स्नातक तहमा सिभिल, बीई कम्प्युटर, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन र आर्किटेक्चर, स्नातकोत्तर तहमा अर्थक्वेक इञ्जिनियरिङ र अर्बन डिजाइन एण्ड कन्जरभेशन विषयको पढाइहुन्छ । अहिले यहाँ ६७ जिल्लाका ११०३ विद्यार्थी अध्ययन गरिरहेका छन् । यो कलेजमा यसवर्षदेखि कम्प्युटर इञ्जिनियरिङ समेत शुरू भएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर २०६५ सालमाखुलेको ख्वप कलेज अफ इञ्जिनियरिङमा स्नातक तहको सिभिल, इलेक्ट्रिकल र कम्प्युटर इञ्जिनियरिङको पढाइ हुन्छ । यो कलेजमा अहिले ६४ जिल्लाका ६२३ विद्यार्थी अध्ययनरत छन् । यस कलेजबाट विगत १० वर्षमा ६८५ जनाले आफ्नो पढाइ पूरा गरिसके ।“शुरूमा सातै शैक्षिक संस्थाकोपूर्वाधार नगरपालिकाले बनाएको हो” प्रजापति भन्छन्, “सबै संस्थालाई २०६५ सालसम्म नगरपालिकाले खर्च बेहोर्ने गरेको थियो । पछिल्लो समय कलेजकै आम्दानीले सञ्चालन भइरहेको छ ।थप पूर्वाधार बनाउन समक्ष भएको छ ।अब नगरपालिकाले खर्च गर्नु पर्दैन ।”

सात वटै संस्थाले वार्षिक संचालन खर्च रु.४१ करोडआफैं जुटाउँछन् ।स्वास्थ्यमा बाहेक अब शिक्षामा नगरपालिकाले लगानी गर्नु नपर्ने उनले बताए ।“भौतिक पूर्वाधारमा खर्च भइरहेकोले कलेजको आम्दानी नगरपालिकामा ल्याउन सकिएको छैन” मेयर प्रजापति भन्छन्, “कलेजको आम्दानी राम्रो भयो भने अबनगरको विकास निर्माणमा पनि खर्च गर्न सकिन्छ ।”

ख्वप कलेजमा व्यवस्थापन र मानविकी संकायका विभिन्न विषयमा स्नातकोत्तर तहसम्म पढाइ हुन्छ ।प्राचार्य रूपक जोशीका अनुसार अहिले यहाँ १३०० विद्यार्थी अध्ययनरत् छन् ।सहुलियतपूर्ण शुल्कमा स्तरीय शिक्षा प्रदान गर्ने सात वटै कलेजलाई बन्द हड्तालले कहिल्यै असर गर्दैन ।प्राचार्य जोशीका अनुसार,दक्ष र जिम्मेवार शिक्षक र कुशल कर्मचारीसँगै पर्याप्त पुस्तकसहितको पुस्तकालय र सुविधासम्पन्न प्रयोगशाला भएकोले यहाँ अधिकांश सार्वजनिक विदाहरूमा पनि पढाइ भइरहेको हुन्छ ।

भाडाको भवनमा स्थापना भएको ख्वप कलेज अहिले नगरपालिकाबाट उपलब्ध जग्गामा निर्मित आफ्नै भवनमा सञ्चालित छ । ख्वप कलेज र ख्वप इञ्जिनियरिङ कलेजमा चित्रकला, ज्योतिषशास्त्र तथा नक्षत्र विज्ञानको कक्षा सञ्चालन गर्ने तयारीमा नगरपालिका छ ।

२०५६ सालमा स्थापना भएको ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को नर्सिङ र सिभिल इञ्जिनियरिङ पढाइहुन्छ ।यो शिक्षालयमा अहिले २८०विद्यार्थी छन् । अन्यत्र महँगो शुल्क लिएको भन्दै विरोध भइरहँदा संस्थानमा रु.२ लाख ४० हजारमा तीनवर्षे डिप्लोमा सिभिल इञ्जिनियरिङ अध्ययन गर्न सकिन्छ । नर्सिङ पनि सीटीईभीटीले तोकेकै शुल्कमा पढ्न पाइन्छ ।

यसबाहेक शारदा मावि र शारदा कलेज पनि नगरपालिकाले सञ्चालन गर्दै आएको छ । शिक्षामा नगरपालिकाले लिएको अग्रसरता मन परेपछि व्यवस्थापन पक्षले तत्परता देखायो । त्यसपछिनिजी क्षेत्रबाट चलेका तत्कालीन शारदा उच्च मावि र शारदा कलेजलाई नगरपालिकाले आफ्नो स्वामित्वमा लिएको थियो ।

नगरपालिकाले चलाएका शिक्षण संस्थाहरूमा अध्ययन गर्ने विद्यार्थी भक्तपुर नगरका मात्रै छैनन् ।नगर कार्यपालिका कार्यालयको अभिलेखअनुसार मनाङ बाहेक देशभरका ७६ जिल्लाका विद्यार्थीले नगरपालिकाद्वारा सञ्चालित स्कूल तथा कलेजहरूमा अध्ययन गरेका छन् । आफ्ना विद्यालयमा पढ्ने विद्यार्थीलाई समय अनुसार योग्य र प्रतिस्पर्धी बनाउन नेपाली, अंग्रेजी, विज्ञान र गणित विषयमा विशेष तालिमको व्यवस्था गर्ने नीति नगरपालिकाले अवलम्बन गरेको छ ।

सात शिक्षण संस्थाको सफलतापछि नगरपालिकाले अब आफ्नो मातहतमा आएका ३५ सामुदायिक विद्यालय सुुधारको अभियान समेत थालेको छ । आफ्नो नगर क्षेत्रमा रहेका विद्यालयका शिक्षकलाई तालिम दिन थालेको छ । केन्द्रीय सरकारले पठाएको तलब भत्ता सहितको रु.२४ करोड ७ लाख ४४ हजार अनुदानलाई सदुपयोग गर्ने योजना नगरपालिकाले अघि सारेको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न यसमा नगरपालिकालेरु.१ करोड थप गर्ने योजना बनाएको छ ।

‘ख्वप’ अर्थात् भक्तपुर

भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेका सात शैक्षिक संस्थाहरू रातारात प्रकट भएका होइनन् । यी संस्था स्थापनामा दुई दशक लामो कथा जोडिएको छ । २०५४ सालमा स्थानीय निर्वाचनमा प्रेम सुवालले शिक्षा र स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने घोषणापत्रका साथ चुनाव जितेका थिए ।

चुनाव जित्नु सुवालका लागि सफलता मात्र नभई कर्मको प्रवेशपरीक्षा पनि थियो । घोषणापत्रमा लेखिएका प्रतिबद्धताहरू पूरा गर्नुपर्ने काम चुनौतीपूर्ण थियो ।एउटा उदाहरण असहज यातायात व्यवस्थाबीचएसएलसी उत्तीर्ण गरेका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि काठमाडौं वा ललितपुर जिल्लाका कलेजहरू धाउनुपर्ने बाध्यता थियो ।

सुवाल नेतृत्वको नगरपालिका बोर्डले निर्वाचित भएको दुई वर्षपछि ३२ असार २०५६ सालमा कक्षा ११ र १२ को पढाइ तुरुन्तै सञ्चालन गर्न तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन लिने निर्णय ग¥यो ।त्यसबेला स्थानीय निकायले कलेज सञ्चालन गर्न सक्छ भन्ने कल्पना समेत गरिंदैनथ्यो । सरकारी अधिकारीहरूको सोचाइ पनि त्योभन्दा फरक थिएन ।

सम्बन्धनमाग्दै परिषद्मा पुगेको नगरपालिकाको प्रतिनिधि मण्डललाई परिषद् पदाधिकारीले व्यक्तिको नाममा कलेजको सम्बन्धन लिन सुझाए पनि नगरपालिकाले त्यसो गर्न मानेन ।आवेदनको साथमा नगरवासीहरूको जनश्रमदान समेत जुटाएर कलेज भवन बनाइसकेको प्रमाण पेश गरेपछि परिषद्ले कलेज सञ्चालन गर्न अनुमति दिएको थियो ।

नगरपालिकाले खोलेको त्यो पहिलो शिक्षण संस्थाख्वप मावि थियो ।नेवारी नाम ‘ख्वप’ को अर्थ भक्तपुर हो ।कलेज खोल्दा२०५८ सालमा नगरपालिकाले १५ वर्षभित्रमा नगरका प्रत्येक घरमा कम्तीमा स्नातक तहसम्म अध्ययन गरेको एकजना व्यक्ति हुनुपर्ने लक्ष्यका साथ ‘एक घर, एक स्नातक’ अभियानको थालनी गरेको थियो ।जुन लगभग पूरा हुने अवस्थामा पुगेको नगरकार्यपालिकाको दाबी छ ।

ख्वप कलेज स्थापनाको दुई वर्षपछि नगरपालिकालाई १२ कक्षा उत्तीर्ण भएका विद्यार्थीलाई पढाउने स्नातक क्याम्पसको खाँचो प¥यो । २०५८ सालमा खुलेका ख्वप कलेज र ख्वप इञ्जिनियरिङ कलेज त्यसैका उपज थिए । यी दुई कलेजलाई क्रमशः त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिए । पहिलो ब्याचका विद्यार्थीले इञ्जिनियरिङमा स्नातक तह उत्तीर्ण गर्दासम्मख्वप इञ्जिनियरिङ कलेजले स्नातकोत्तर तहको पनि अनुमति लिएर कक्षा सञ्चालन थाल्यो ।

यी दुई कलेजले भक्तपुरका विद्यार्थीलाई उच्च शिक्षाको लागि अन्यत्र जानुपर्ने बाध्यतामा बिराम लगाए । सँगै देशका सबैजसो जिल्लाबाट आएका विद्यार्थीलाई पनि मौका दिए । भिन्नाभिन्नै दुई विश्वविद्यालयहरूबाट सम्बन्धन पाएका यी दुई कलेज एउटै कम्पाउन्डमा भए पनि प्रशासन भने फरक छ । 

दुवै इञ्जिनियरिङ कलेज, ख्वप बहु प्राविधिक अध्ययन संस्थानखोल्न योगदान दिएर इञ्जिनियर राजन सुवालले भक्तपुरवासीलाई गुन लगाएका छन् ।एकताका उनी शारदा कलेज बाहेक सबैको प्रिन्सिपल समेत थिए ।उनले नेतृत्व लिएकै बेला ख्वप इञ्जिनियरिङ कलेजबाट मुलुकमै पहिलो पटक स्नातकोत्तरमा आर्किटेक्चर इञ्जिनियरिङको पढाइ समेत शुरू गरे ।१२ वैशाख २०७२ सालकोभूकम्पले गरेको ठूलो भौतिक र मानवीय नोक्सानीमाइञ्जिनियरिङ क्षेत्र पनि जिम्मेवार रहेकोले यसलाई समेत जवाफदेही बनाउनुपर्छ भनेर तर्क राख्ने निर्माण क्षेत्रका थोरै विज्ञमा पर्छन्, राजन ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ लागू भएपछि नगरपालिकाले विद्यालय तहको १ देखि ६ कक्षासम्मका लागि स्थानीय पाठ्यक्रम तयार पारेको छ । भक्तपुरको इतिहास, भूगोल, कला–संस्कृति, सम्पदा, खेलकुद लगायतका विषय समेटिएको पाठ्यक्रमनया“ पुस्तालाई भक्तपुरबारे सिक्न सहयोगी हुने नगरप्रमुख प्रजापतिले बताए ।उनका अनुसार, अर्को वर्षदेखि ८ कक्षासम्मका लागि स्थानीय पाठ्यक्रम लागू गर्ने नगरपालिकाको लक्ष्य छ ।

त्यसबाहेक सामुदायिक विद्यालयको गुणस्तर सुधार्न नगरपालिकाले यो वर्षदेखि मन्टेसरी सिकाइ पद्धति लागू गरेको छ । त्यसअघि नगरक्षेत्रका सामुदायिक विद्यालयमा कार्यरतशिक्षकलाई तालिम दिइएको थियो । तालिमबाट कक्षामा सुधार आए÷नआएको निगरानीका लागि नगरपालिकाले ६ महीनासम्म अनुगमन गर्नेछ ।

नगरप्रमुख प्रजापतिका अनुसार नगरका गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर रु.५ लाखसम्म ऋण दिन चालू आर्थिक वर्षका लागि नगरपालिकाले रु.१ करोड ५५ लाख छुट्याएको छ । ऋण लगानीको कार्यविधि तयार भइरहेको उनले बताए ।

भक्तपुर नगरपालिका अब विश्वविद्यालय खोल्ने तयारीमा छ । ख्वप विश्वविद्यालय विधेयक सरकारले दुई वर्षअघि संसदमा पेश गरेको थियो । बेलैमा छलफल नहुँदा संसद विघटनसँगै त्यो विधेयक निष्क्रिय हुन पुग्यो ।मेडिकल शिक्षा बाहेक कला, संस्कृति, विज्ञान, कानून, कृषि, अर्थशास्त्र, प्रविधि तथा व्यावसायिक विषयमा अध्ययन, अध्यापन तथा अनुसन्धानका लागि ख्वप विश्वविद्यालयको स्थापना गर्न खोजिएको हो । नगरपालिकाले विश्वविद्यालय तयारी कार्यदल गठन गर्नयो वर्ष रु.१० लाख बजेट पनि छुट्याएको छ ।

‘राम्रो छ तर एकलौटी छ’ : विपक्षी

भक्तपुर नगरपालिकाले अन्य स्थानीय सरकारको जस्तो आर्थिक स्रोत कहाँबाट जुटाउने भन्ने चिन्ता गर्नु पर्दैन । भक्तपुर घुम्न आउने विदेशी पर्यटकबाट मात्रै बार्षिक २५ करोड रुपैयाँ भन्दा बढी राजश्व उठ्छ । भौगोलिक रुपमा विकट छैन । नगरपालिकाले प्राथमिकता दिएको क्षेत्रमा चाहेजति खर्च गर्न सक्छ ।

अन्य स्थानीय निकायले वर्षौंसम्म कर्मचारीको भरमा चलाए । तर, भक्तपुर नगरपालिका भने पूर्व जनप्रतिनिधिको निगरानीमै थियो ।“निर्वाचन नभएसम्म पूर्व जनप्रतिनिधिले निर्वाचित जनप्रतिनिधिकै हैसियतले काम गर्ने निर्देशन थियो” मेयर प्रजापति भन्छन्, “पार्टीले जुन विषयलाई प्राथमिकता दिएको थियो, त्यसले निरन्तरता पाइरह्यो । त्यसैले शिक्षा र स्वास्थ्यमा हामी अगाडि भयौं ।” भक्तपुर नगरपालिकामा नेपाल मजदूर किसान पार्टी बाहेक अन्य पार्टीको प्रतिनिधित्व शून्य छ । उसले जे ग¥यो, त्यसको विरोध गर्ने कोही पनि छैनन् ।

नगरपालिकाको नेतृत्व गर्ने नेमकिपाले अरू पार्टीका अस्तित्व स्वीकार नगर्ने समस्या रहेको विपक्षीहरूको आरोपछ । नेकपाका भक्तपुर नगर संयोजक बालमुकुन्द सुवाल भन्छन्, “विकास हुनु राम्रो हो तर नगरको विकास नेमकिपाकै आम्दानीबाट गरेजस्तो गर्नु भएन”, सुवालका भनाइमा,“न विगतमा हामीसँग सहकार्य भयो, न अहिले भइरहेकोछ । सब एकलौटी छ ।”

नेपाली कांग्रेसबाट प्रदेश सभा उम्मेदवार रहेका नगर समितिका पूर्व सचिव अनिल भुजु पनि सुवालको जस्तै विचार राख्छन् ।“शिक्षा र स्वास्थ्यमा राम्रो गरेको छ । त्यसमा हाम्रो आपत्ति छैन” भुजु भन्छन्, “नगरवासीको करबाट भएको काममा एउटै पार्टीको मात्रै हालीमुुहाली किन ? अरूको विचार र अस्तित्व पनि स्वीकार गर्न सक्नुपर्छ ।”

भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा नगरवासीलाई सेवा दिएर कमाएको प्रशंसा लोकतन्त्रमा स्थानीय सरकारको प्रभावकारिता पहिचान गर्ने एउटा नमूना हुन सक्छ ।  खोज पत्रकारिता केन्द्रका लागि पत्रकार मकर श्रेष्ठले लेखेको 'स्वास्थ्य र शिक्षामा भक्तपुर मोडल' शिर्षक खबरको शिक्षा खण्ड यहाँ साभार गरिएको हो – सं. 

प्रतिक्रिया