काठमाडौं २२ भदौ / धादिङको बेनिघाट रोराङ गाउँपालिकामा शैक्षिक अनुदानको रकममा भ्रष्टाचार भएको भन्दै स्थानीयले छानबिनको माग गरेका छन् । उनीहरूले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएका छन् ।
नयाँ पत्रिकाका अनुसार शिक्षा सिकाइ सहयोग शीर्षकमा जिल्लाबाट प्राप्त अनुदान रकम स्रोत व्यक्तिकै मिलेमतोमा गाउँपालिकाका प्रशासकीय अधिकृतलगायत केही कर्मचारी मिलेर हिनामिना गरेको स्थानीयको भनाइ छ । नवनियुक्त स्रोतव्यक्ति रामेश्वर पोखरेलको उक्साहटमा गाउँपालिकाका कर्मचारीहरूले अधिकार नै नभएका प्रशासकीय अधिकृत हर्कबहादुर थापालाई हस्ताक्षर गर्न लगाई भ्रष्टाचार गरिएको स्थानीयले बताए ।
स्थानीयले शिक्षा नियमावलीविपरीत शिक्षकको विज्ञापन प्रकाशित गरी थापाकै नेतृत्वमा परीक्षा अनुगमन टोली बनाएर विभिन्न एघार विद्यालयबाट अनधिकृत रकम असुल गरिएको भन्दै छानबिनको माग गरेका छन् । स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिल्लास्थित सम्पर्क कार्यालयमा उजुरी दर्ता गरेका छन् ।
उजुरीमा उल्लेख भएअनुसार चन्द्रोदय मावि बेनिघाट, हर्कपुर मावि हर्कपुर, कालिका मावि विधाङ, राष्ट्रिय आवि रोवाङ, गोइराङ आवि गोइराङ, वितेश आवि भारपाङ, कालिका निमावि मोहरिया, बागेश्वरी आवि, महारुद्र आवि, सीतामाई आवि महादेवस्थान र लालिगुराँस प्राविबाट अनुगमन टोलीले सम्बद्ध प्रधानाध्यापकहरूलाई उल्लिखित अनुदान कोटामा नियुक्त गरेबापत प्रतिविद्यालय २५ हजारका दरले रकम असुलेर दामासायीले बाँडेका थिए ।
शैक्षिक अनुदानको रकममा भ्रष्टाचार शिर्षकमा नयाँ पत्रिकामा प्रकाशित ।
प्रतिक्रिया