Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

नेपालमै डाक्टरी पढेका अब्बल

शुक्रबार, २२ भदौ २०७५

काठमाडौं २२ भदौ / नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा चीन, रुस, किर्गिस्तान, युक्रेन र फिलिपिन्समा डाक्टरी पढेर फर्किएका युवा सबैभन्दा बढी फेल भएका छन्। परीक्षामा नेपालमै डाक्टरी पढेका युवा भने अन्य देशबाट पढेर आएकाको तुलनामा बढी पास भएका छन्।

काउन्सिलका अनुसार सन् २०१६ मा चिकित्सा शिक्षामा स्नातकोत्तर पास गरेका पाँच सय ९२ जना लाइसेन्स परीक्षामा सहभागी थिए । तीमध्ये दुई सय १२ जना फेल भएका थिए। सन् २०१७ को परीक्षामा एक हजार चार सय ८१ जना स्नातकोत्तर डाक्टर सहभागी थिए । तीमध्ये पाँच सय २० जना फेल भएका थिए । त्यस्तै सन् २०१८ मा ६ सय ८७ जना डाक्टरले परीक्षा दिँदा दुई सय ६६ जना फेल भएका छन्।
सन् २०१६ मा तीन हजार तीन सय नौजना एमबिबिएस डाक्टर लाइसेन्स परीक्षामा सहभागी थिए। तीमध्ये एक हजार एक सय पाँचजना फेल भएका थिए। सन् २०१७ मा परीक्षामा सहभागी दुई हजार ३८ जनामध्ये आठ सय ५५ जना फेल भएका थिए। सन् २०१८ मा एक हजार ६ सय ५० जना एमबिबिएसले लाइसेन्स परीक्षामा सहभागी जनाएकामा चार सय २४ जना फेल भएका छन्। एकपटक लाइसेन्स परीक्षामा फेल भएका डाक्टर दोहो-याएर परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ। डाक्टरी पढेका विद्यार्थीले काउन्सिलको परीक्षा पास नगरेसम्म नेपालमा चिकित्सा क्षेत्रमा काम गर्नु अवैध मानिन्छ।

दन्तचिकित्सा (बिडिएस) तर्फ सन् २०१६ मा तीन सय ६३ जना काउन्सिल परीक्षामा सहभागी थिए। तीमध्ये एक सय पाँचजना फेल भएका थिए । सन् २०१७ मा परीक्षामा सहभागी तीन सय ९९ जनामध्ये ६८ जना फेल भएका थिए। सन् २०१८ मा तीन सय पाँचजना परीक्षामा सहभागी थिए । तीमध्ये ३९ जना अनुत्तीर्ण भएका छन्। दन्तचिकित्सातर्फ भारतबाट अध्ययन गरेर आएकाहरू सबैभन्दा बढी फेल हुने गरेको काउन्सिलको तथ्यांक छ।

चिकित्सा शिक्षातर्फ भने काउन्सिल परीक्षामा सबैभन्दा बढी फेल हुनेमा चीन, रुस, किर्गिस्तान, युक्रेन र फिलिपिन्सबाट डाक्टर पढेर फर्केकाहरू छन्।

काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्मा चिकित्साशास्त्र अध्ययनका लागि विदेश जानेहरू थोरै अंक ल्याएर फेल हुने गरेको बताउँछन् । ‘हाम्रा प्रश्न निकै स्ट्यान्डर्ड हुन्छन् जसले चिकित्साशास्त्र अध्ययन पूरा गरेर पनि पर्याप्त अभ्यास गर्दैनन्, उनीहरू लाइसेन्स परीक्षामा फेल हुन्छन्,’ शर्माले भने।

अर्काेतर्फ विदेशी विश्वविद्यालयले नेपाली विद्यार्थीलाई राम्रो अध्ययन नगरे पनि पास गराइदिन्छन्। ‘विदेशी विश्वविद्यालयले नेपाली विद्यार्थीलाई नेपालमै फर्किएर अभ्यास गर्छन् भनेर सहजै पास गराउँछन्’, नाम नबताउने सर्तमा काउन्सिलका एक डाक्टरले भने।

सन् २०१६ भन्दाअघि नेपाली विद्यार्थी मेरिट टेस्ट नगरी डाक्टरी पढ्न विदेश जान पाउँथे । त्यतिबेला नेपालमा डाक्टर पढ्न नपाएपछि आर्थिक रूपमा सम्पन्न र कम अंक ल्याउने पनि डाक्टरी पढ्न विदेश जान्थे । २०१६ पछि भने काउन्सिलले विदेश पढ्न जाने विद्यार्थीका लागि मेरिट टेस्ट अनिवार्य बनायो । मेरिट टेस्ट त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान र काठमाडौं विश्वविद्यालयले लिन्छन् । मेरिट टेस्टमा कम्तीमा ५० अंक ल्याउनैपर्ने प्रावधान छ।

‘सन् २०२२ पछि काउन्सिल परीक्षामा पास हुने विद्यार्थीको संख्यामा बढ्नेछ । २०१६ पछि विदेश जाने विद्यार्थी २०२१ पछि पाँचवर्षे कोर्स पूरा गरेर फर्किनेछन्,’ काउन्सिलका रजिस्ट्रार डा. शर्माले भने।

काउन्सिलले सन् २०१६ मा मेरिट टेस्टको प्रावधान ल्याएपछि विदेश जाने विद्यार्थीको संख्या ह्वात्तै घटेको छ । सन् २०१६ मा तीन सयभन्दा बढी विद्यार्थीले डाक्टरी पढ्न विदेश जाने अनुमति पाएका थिए । हाल त्यो संख्या चार सय हाराहारीमा सीमित रहेको काउन्सिलले जनाएको छ।

काउन्सिलका अनुसार २०१५ मा एमबिबिएस र बिडिएस अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या एक हजार चार सय ६१ थियो । सन् २०१४ मा यो संख्या एक हजार तीन सय ७९ थियो।

डाक्टरी पढ्न विदेश जाँदा एकजना विद्यार्थीले करिब ५० लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । नेपालमा भने ३५ लाख रुपैयाँजति खर्चमा डाक्टरी पढ्न पाइन्छ । नेपालमा कतिपय निजी कलेजले डाक्टरी पढ्न एक विद्यार्थीसँग एक करोड रुपैयाँसम्म लिएका घटना सार्वजनिक हुने गरेका छन्।

हाल नेपालमा निजीसहित २२ मेडिकल कलेज सञ्चालनमा छन्। ती कलेजमा बर्सेनि दुई हजार दुई सय विद्यार्थी भर्ना हुने गरेका छन्। काउन्सिलमा दर्ता हुने डाक्टरको संख्या २१ हजार पुगेको छ।

नागरिकमा विष्णुप्रसाद अर्यालले लेखेका छन् ।

प्रतिक्रिया