Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

शिक्षा मन्त्रालयको कार्यक्रम वहिष्कार गर्ने शिक्षक महासंघको घोषणा, पुरस्कार नपाएको झोंक

विहीबार, २१ भदौ २०७५

काठमाडौं - आफूहरुलाई पुरस्कृत नगरेको झोंकमा नेपाल शिक्षक महासंघले शिक्षा दिवसका अवसरमा मन्त्रालय अन्र्तगत आयोजना हुने कुनै पनि कार्यक्रममा भाग नलिने घोषणा गरेको छ । शिक्षा दिवसका अवसरमा उत्कृष्ट काम गरेका शिक्षकलाई पुरस्कृत गर्ने विगत बर्षहरुको अभ्यासलाई रोकिएकोमा महासंघले आपत्ति जनाउँदै आएको थियो ।

दिवस मनाउन गठित मूल आयोजक समितिको गत साउन २४ गते बसेको बैठकमा पनि अध्यक्ष बाबुराम थापाले उक्त अभ्यास स्मरण गराउँदै पुरस्कार दिन माग गरेका थिए । आफूले उक्त विषय जानकारी गराए पछि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यस बर्षबाट फेरी उक्त अभ्यास शुरु गर्ने बचन दिए पनि कार्यान्वयन नगरे पछि औपचारिक रुपमै बहिष्कारको घोषणा गरेको थापाले बताए । 

'शिक्षा दिवस भनेको शिक्षक, शिक्षा सुधारका पक्षमा लागेका आम सरोकारवालाहरुको पर्व हो, यस्तो बेलामा राज्यले गर्ने सानो सम्झनाले पनि काममा उत्साहीत गर्छ, तर यसको गम्भिरता र महत्वलाई नजर अञ्दाज गर्ने काम मन्त्रीबाटै भयो' थापाले भने, 'बैठकमा ब्यक्त गरेको आफ्नै अभिब्यक्ति र निर्णय कार्यान्वयन नगर्ने मन्त्री र उनको नेतृत्वमा रहेको मन्त्रालयले गर्ने कार्यक्रममा उपस्थित हुनुको कुनै औचित्य नभएकाले बहिष्कार गर्नु परेको हो ।' 

मन्त्रीलाई 'दार्शनिक र भावुक' को संज्ञा दिदैं थापाले मन्त्रीबाट सार्वजनिक शिक्षा सुधारका पहिलो पक्ष शिक्षकको मानमर्दन भएको आरोप पनि लगाए । 

'शिक्षक मात्रै हैन शिक्षा सुधारका क्षेत्रमा कृयाशिल अभिभावक, प्राध्यापक, शिक्षाकर्मी लगायतलाई पुरस्कृत गर्ने कुरा मन्त्री आफैंले बोल्नु भएको हो, तर दिवसका कार्यक्रममा त्यो कुरालाई कार्यान्वयन गर्ने ढाँचामा कार्य नगर्ने थाह पाएपछि हामी उपस्थित हुनुको औचित्य नै देखेनौं' उनले भने । 

'मन्त्रीको यस्तै रवैया रहने हो भने दिवस मात्रै हैन मन्त्री उपस्थित हुने हरेक कार्यक्रम बहिष्कार गर्ने सम्मको हाम्रो योजना छ' चेतावनी दिदैं उनले भने, 'शिक्षा मन्त्रालय अन्र्तगतका विभिन्न कार्यालय र निकाय तथा ७७ वटै जिल्लाका कार्यक्रम बहिष्कार गर्ने सम्मको अवस्था आउन सक्छ ।' 

यसैविच महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी र थापाद्धारा संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विरोध जनाईएको छ । 

'विगतमा रोकिएको भए पनि यसपटक उत्कृष्ट शिक्षक, शिक्षासेवीलाई पुरस्कृत तथा सम्मानित गर्ने काम गरिने छ भनी स्वयं शिक्षा मन्त्रीले गर्नु भएको सार्वजनिक प्रतिवद्धता विपरित नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो कार्यलाई फेरी स्थगित गरेको छ' विज्ञप्तिमा भनिएको छ, 'शिक्षक शिक्षा सेवा तथा सरोकारमा रहेका उत्कृयट काम गर्ने ब्यक्तिहरुलाई पुरस्कृत र सम्मानित गनी उनीहरुको हौसला बढाउनु पर्ने यो अवसरलाई विभिन्न वहानामा टार्ने र टाल्ने कामलाई यसपटक पनि निरन्तरता दिईएकोले शिक्षक र शिक्षाका सरोकारवालाको मर्यादामा बेखबर यस्तो कार्यक्रममा भाग लिनुको कुनै औचित्य र अर्थ नरहने  कुरा आम नेपाली शिक्षकहरुले अनुभूति गरिरहेका छन् ।'

३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्र्तराष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा शिक्षा मन्त्रालय अन्र्तगतका निकायहरुले कार्यालय परिसरमा वृक्षारोपण लगायतका काम गर्दै आएका छन् । 

यही अवसरमा उत्कृष्ट विद्यालयको नाम पनि सार्वजनिक गरिएको छ । 

पढ्नुहोस् खबर : देशभरबाट पुरस्कृत विद्यालयको नाम सार्वजनिक

मूल समारोह शनिबार आयोजना हुँदै छ । 

प्रतिक्रिया