Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

डिनको ठाडो आदेशमा कोटा थप

विहीबार, २१ भदौ २०७५

काठमाडौं २१ भदौ / इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको डिनको मौखिक आदेशमा विद्यार्थी कोटा थपिएको छ। थपिएका विद्यार्थीलाई पढाउन आवश्यक भौतिक संरचना तथा जनशक्तिबारे अध्ययनै नगरी उक्त क्याम्पसमा वागवानी (हर्टिकल्चर) विषय पढाउन विद्यार्थी कोटा थपिएको हो। विद्यार्थी कोटा थप गर्नुअघि अपनाउनुपर्ने प्रक्रिया पूरा नगरी संस्थानको डिन कार्यालयको मौखिक आदेशमा कोटा थप गरिएपछि विद्यार्थीको वैधतामाथि प्रश्न उठेको छ।

अन्नपूर्ण पोष्टका अनुसार गत वर्षसम्म उक्त क्याम्पसमा वागवानी विषयमा ३० जना मात्र विद्यार्थी पढाउन अनुमति थियो। अहिले क्याम्पसले ५० जना विद्यार्थी भर्ना गरेको छ। उनीहरूको पहिलो सेमेस्टरको परीक्षा भदौ २८ गतेबाट सुरु हुँदै छ। तर डिन कार्यालयअन्तर्गतको परीक्षा शाखाले उक्त क्याम्पसको अनुमति कोटा ३० जना मात्र भएको भन्दै २० जनाको परीक्षा फारम भर्न अस्वीकार गरेको छ। परीक्षा फारम भर्ने समय पनि सकिइसकेको छ।

परीक्षाको मिति नजिकिँदै जाँदा फारमसमेत भर्न नपाएपछि विद्यार्थी छटपटिएका छन्। यसबारे त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा उजुरीसमेत परेको छ। तीन जना सहायक र एक जना डिन रहने संस्थानमा तीनै जना सहायक डिनले विद्यार्थी भर्ना कोटा थप गरिएकोमा अनभिज्ञता प्रकट गरेका छन्। ‘हाम्रो रेकर्डमा महेन्द्ररत्न क्याम्पसले ३० जना मात्र विद्यार्थी भर्नाको स्वीकृति पाएको देखिन्छ। थप भर्ना भएका २० जनाको भविष्य के हुन्छ, अहिले नै भन्न सकिँदैन’, उनले भने।

पढाइ सुरु भएको ६ महिना बितिसकेको छ। नियमअनुसार विद्यार्थी कोटा थप गर्नुअघि सम्बन्धित क्याम्पसको भौतिक तथा जनशक्तिबारे अध्ययन गर्नुपर्छ। यसका लागि डिनको अध्यक्षतामा फ्याकल्टी बोर्ड गठन गरेर कुन विषयमा कति विद्यार्थी थप गर्ने भन्ने निर्णय लिनुपर्छ।

‘फ्याकल्टी बोर्डले क्याम्पसको भौतिक तथा अन्य संरचना अध्ययन गरेपछि योजना शाखामा प्रतिवेदन पेस गर्छ। उक्त प्रतिवेदनका आधारमा विश्वविद्यालयको कार्यकारी परिषद्ले स्वीकृति दिएपछि मात्र भर्ना प्रक्रिया सुरु गर्नुपर्छ’, संस्थानका अर्का सहायक डिन डा. विमल कर्णले भने, ‘तर क्याम्पसले यी कुनै पनि प्रक्रिया पूरा नगरी विद्यार्थी भर्ना गरेको देखिन्छ। कसको कमजोरीले यस्तो भयो क्याम्पस र डिन कार्यालयबीच आरोप प्रत्यारोपको जुहारी चलिरहेको छ।’

डिन कार्यालयको मौखिक आदेशमा विद्यार्थी कोटा थप गरेको जानकारी पाएपछि शिक्षक पनि आन्दोलन भएका छन्। उनीहरूले आन्दोलनमा गएपछि डिन कार्यालयले बल्ल फ्याकल्टी बोर्ड गठन गरेको छ। तर बोर्डले विद्यार्थी कोटा थप गर्न स्वीकृति दिन्छ भन्ने कुनै ग्यारेन्टी छैन।

क्याम्पसले सुरुमा विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतको विषयको पढाइ सञ्चालन गरेको क्याम्पस प्रमुख रामप्रसाद गुरागाईंले जानकारी दिए। ‘त्यतिखेर ३० जना विद्यार्थी भर्नाको अनुमति थियो। तर कृषि तथा पशु विज्ञान संस्थानबाट अनुमति पाउनेबित्तिकै न्यूनतम ५० जना विद्यार्थी भर्ना गर्न पाउने व्यवस्था भएका कारण ५० जना भर्ना गरेका हौं’, गुरागाईंले भने। संस्थानका डिन केशव अधिकारीले आफू यही विषय मिलाउने काममा व्यस्त भएको भन्दै बोल्न नभ्याउने बताएर पन्छिए। ‘यस विषयबारे धेरै गहिराइमा गएर बुझ्नुपर्छ। अहिले बताउन सकिँदैन’, उनले भने।

त्रिवि शिक्षाध्यक्ष (रेक्टर) प्रा.डा. सुधा त्रिपाठीले पनि डिन कार्यालयकै कमजोरीका कारण यो समस्या आएको बताइन्। ‘कसरी समस्या आयो भनेर डिनसँग बुझ्दा फ्याकल्टी बोर्डले पूर्णता नपाएका कारण समस्या आएको भन्ने जवाफ आयो’, त्रिपाठीले भनिन्, ‘तर जेजति समस्या आए पनि वैधानिक प्रक्रिया नपनाई विद्यार्थी भर्ना गर्नुहुँदैनथ्यो। यसमा डिन कार्यालय दोषी देखिन्छ।’

फ्याकल्टी बोर्ड गठन भइसकेकाले विद्यार्थीलाई कसरी परीक्षामा सहभागी गराउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको पनि उनले जानकारी दिइन्।

अन्नपूर्ण पोष्टमा सूर्यप्रसाद पाण्डेले लेखेका छन् । 

प्रतिक्रिया