Edukhabar
बुधबार, १२ मंसिर २०८१
खबर/फिचर

लापरवाहीको पराकाष्टा, हरायो परीक्षा फारम !

बुधबार, २० भदौ २०७५

काठमाडौं - नेपाल ल क्याम्पसले विद्यार्थीको भविष्य माथि खेलवाड गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्र्तगतको उक्त क्याम्पसमा कानून संकाय अन्र्तगत स्नातक तहको दोश्रो बर्षको परीक्षा फारमको सुरक्षा र संरक्षणमा क्याम्पसले चरम लापरवाही गर्दा विद्यार्थी मर्कामा परेका छन् । विद्यार्थी भर्ना कै बेला परीक्षा शुल्क समेत लिएको क्याम्पसले परीक्षा फारम हराईदिदाँ विद्यार्थी  परीक्षा दिनबाट बञ्चित भएका छन् । 

तोकिएको समयमा फारम भरेर परीक्षा तयारीमा जुटेका विद्यार्थीले प्रवेश पत्र लिन जाँदा बल्ल आफ्नो फारम नै हराएको थाह पाएका थिए । परीक्षा गत आईतबारबाट शुरु भएको छ ।  

भर्ना हुने हरेक विद्यार्थी प्रति क्याम्पस जिम्मेवार र जवाफदेही हुनुपर्नेमा क्याम्पस प्रशासनको यो हदसम्मको लापरवाहीले आफुहरुको एक बर्ष खेर गएको भन्दै विद्यार्थी चिन्तित भएका छन् । समस्याका बारेमा विद्यार्थी नेतादेखी क्याम्पस प्रमुख सम्मलाई भन्दा पनि केही विकल्प छैन भन्दै पन्छेको विद्यार्थी कल्पना भण्डारीले गुनासो गरिन् । 

'विद्यार्थीका लागि एक बर्षको समय कति महत्वपूर्ण हुन्छ भनिरहनु नपर्ला । नेपालका क्याम्पसहरु, शिक्षालयहरु कसरी र कति गैरजिम्मेवार ढंगले चलिरहेका छन् भन्ने यो एउटा सानो उदाहरण मात्र हो' उनले प्रश्न गर्दै भनिन्, 'तर हामीबाट लिएको भर्ना, परीक्षा बापतको रकम के भयो ? हामीले भरेको परीक्षा फारम कहाँ छ ? क्याम्पस प्रशासनको लापरवाहीको शिकार हामी किन हुनु पर्ने ?'

तर, क्याम्पस प्रमुख डीएन पराजुली परीक्षासँग सम्बन्धित विषयमा आफुहरु संवेदनशील भएकोले कुनै लापरवाही नभएको दावि गर्छन् । बरु उनी उल्टै विद्यार्थीकै लापरवाहीका कारण यस्तो भएको तर्क गर्छन् । 

अहिले सम्म ४ जना यस्ता विद्याथी सम्पर्कमा आए पनि यो संख्या धेरै हुन सक्ने अनुमान गरिएको छ । दोश्रो बर्षमा भर्ना भएका ४ हजार २ सय ३८ विद्यार्थी मध्ये अझै पनि झण्डै १ हजार ५ सय धेरै विद्यार्थीको प्रवेश पत्र क्याम्पस प्रशासनमै रहेको छ । 

'फारम भर्न आफू नआउने, खेताला पठाउने क्रम धेरै छ, भाञ्जा, भाञ्जि, भाई, श्रीमती, नाता गोताका मान्छेलाई लौ लौ फारम भर्दे भनेर पठाउने चलन धेरै छ, विद्यार्थीले अह्राएको मान्छेले अरुलाई पठाउँछन्' उनी भन्छन्, 'अरुलाई पठाउँदा फारम नभरिएको पनि हुन सक्छ, नत्र भने यहाँ भरिएको फारमको कम्प्युटर ईन्ट्रि हुन्छ, त्यही अनुसार बैंकमा भौचर बुझाईन्छ, यस पटक छुटेका विद्यार्थीको फारम बोकेर म आफैं परीक्षा नियन्त्रण कार्यालयमा गएको हुँ । फारम भरेको विद्यार्थीको हराउने वा छुट्ने कुरै हुन्न ।'

तर, अहिले परीक्षा फारम हराएका विद्यार्थीले आफैंले फारम बुझाएको दावि गर्छन् ।

त्यसो भए फारम खै त ? 

प्रशासन विद्यार्थीलाई विद्यार्थी प्रशासनलाई दोष देखाउँदा, एक बर्षको मेहनत खेर गएका विद्यार्थीको मर्का कसले बुझ्ने ? 

यी दुई प्रश्न अहिले सम्म उनुत्तरीत मात्रै हैन छानविन गर्नु पर्ने गरी गम्भिर पनि छ । 

विद्यार्थीले भर्ना भएको बेला नै बुझाएको ५ हजार ८ सय रुपैंयामा परीक्षा शुल्क पनि तोकिएको छ । सोही अनुसार विद्यार्थीले शुल्क बुझाएका थिए । फारम भर्ने म्याद भित्र उनीहरुले फारम बुझाएका थिए । तर, क्याम्पसले उक्त फारम बुझाएको रसिद उपलब्ध गराउँदैन । यही कारण भद्रगोल भएको नेपाल विद्यार्थी संघ ल क्याम्पस ईकाई समिति सभापति रञ्जिता कार्कीको आरोप छ । 

भोटर बढाउने लोभले जति पनि विद्यार्थी भर्ना गर्ने तर शैक्षिक शुसासन र ब्यवस्थापनमा विद्यार्थी संगठनहरु गम्भिर हुँदैनन् भन्ने कुराको प्रमाण यो घटनाले पुष्टि गरेको छ । गत बर्ष आए जति सबै विद्यार्थी भर्ना गर्र्नु पर्नै भन्दै विद्यार्थी सँगठनले प्रदर्शन नै गरेका थिए । त्यही जति पनि भर्ना गर्ने क्रममा ५ सय विद्यार्थी पढाउने क्षमता भएको क्याम्पसमा ४ हजार धेरै विद्यार्थी भर्ना भए ।   

'हामीले त सुधार गर्नुहोस् भन्ने मात्रै कुरा हो काम गर्ने त प्रशासनले हो पटक्कै गम्भिर छैन' कार्कीले आरोप लगाईन्, 'विद्यार्थीको पनि केही दोष छ, यहाँ पढ्ने भनेका कर्मचारीका ठूला हाकिम, प्रहरीका ठूला हाकिम, ठूला ठूला पत्रकार छन्, उनीहरु कामको ब्यस्तताले नियमित आउँदैनन्, जब परीक्षा आयो अनी मात्रै यस्ता समस्या सार्वजनिक हुन्छन् ।' 

समस्या भए पनि विद्यार्थीको परीक्षा दिने अधिकार कुण्ठित नगर्न आफुहरुले क्याम्पस प्रशासनसँग लविङ् गरिरहेको उनी बताउँछिन् । 

आफू क्याम्पसमा आएको भर्खरै ६ महिना भएको भन्दै प्रमुख पराजुलीले सुधारका लागि गर्नु पर्ने काम धेरै रहेको बताउँदै अहिलेको समस्यामा प्रशासनको कुनै दोष नरहेको दोहोर्याईरहे । सुधारका कामलाई प्राथमिकतामा राखेको तर अहिले विद्यार्थीको वर्ष खेर नजाओस् भन्नेमा ध्यान केन्द्रित गरेको उनी बताउँछन् । अहिले परीक्षा छुटेका विद्यार्थीको पहिलो बर्षको मान्यता यतावत रहने भन्दै उनले छुटेका विद्यार्थीको फारम लिईदिन र प्रवेश पत्र दिन परीक्षा नियन्त्रण कार्यालयमा अनुरोध गर्दा सकारात्मक जवाफ नआएकोले आफूले केही गर्न नसक्ने बताए ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी भने क्याम्पस प्रशासनको लापरवाहीको जिम्मा कार्यालयको नहुने तर्क गर्छन् । 

परीक्षाको आफ्नै प्रकृया हुने र उक्त प्रकृया अन्र्तगत क्याम्पसले आफ्ना विद्यार्थीको फारम भर्ने, संकलन गर्ने र पनिकामा बुझाउने गर्नु पर्नेमा त्यहीँबाट त्रुटि भएको उनको दावि छ ।

'हाम्रो काम परीक्षा गर्ने हो, त्यसका लागि हामीले फारम भर्ने म्याद तोकर सार्वजनिक सूचना गर्यौं, क्याम्पसलाई जानकारी गरायौं, डबल दस्तुर तिरेर विद्यार्थीले फर्म भर्ने म्याद पनि निर्धारण गर्यौं' उनले भने 'यति गर्दा पनि केही छुटेछ भन्दै आउनु भयो, विद्यार्थीलाई मर्का नपरोस् भनेर हामीले कन्सिडर गरेर फेरी १५ दिन म्याद थपेका थियौं ।' 

शुरुमा असार मसान्त सम्मको फराम भर्ने म्याद अन्र्तगत दोब्बर दस्तुर तिरेर साउन १५ गते सम्म निर्धारण गरिएकोमा त्यसलाई पनि बढाएर साउन ३० सम्म पुर्याईएको थियो । सोही अनुसार प्राप्त फारमहरुका आधारमा प्रवेश पत्र तयारी र परीक्षा केन्द्र निर्धारणको काम भदौ १३ मा सकिएको उनले बताए । 

'त्यति समय दिदाँ पनि फेरी छुटेछ भन्दै आए पछि हामीले कसरी गर्न सक्छौं ?' उनले प्रश्न गरे, 'परीक्षाका पनि आफ्ना मान्यता र विधि हुन्छन्, क्याम्पसले आफ्नो दराजमा थन्क्याएको फारमको जिम्मा लिन हामी कहाँ सक्छौं ?'

प्रतिक्रिया