काठमाडौं २० भदौ / लहान नगरपालिका–१७ गोविन्दपुरस्थित मावि झिरहरीमा दुईजना शिक्षकले प्रधानाध्यापकमा दाबी गरेपछि विवाद चर्किएको छ । प्रअको आधिकारिकतासम्बन्धी विवाद चर्किंदै जाँदा अभिभावक पनि दुई खेमामा बाँडिएका छन् । प्रअको आधिकारिकतासम्बन्धी विवादले विद्यालयको दैनिक पठनपाठनसमेत प्रभावित बनेको छ ।
नयाँ पत्रिकामा प्रकाशित खबर अनुसार शिक्षकद्वय अब्दुल अजिज र नारायणप्रसाद साहले प्रअमा दाबी गरेपछि विवाद चर्किएको हो । लहान नगरपालिका–१७ का वडाध्यक्ष प्रथमलाल चौधरी अब्दुल अजिज नै प्रअ भएको दाबी गर्छन् । अदालतको फैसला, शिक्षा ऐन र नियमावलीको आधारमा अजिज नै प्रअ भएको उनको दाबी छ ।
तर, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा वडाध्यक्ष पदका प्रत्याशी दीपु चौधरी भने २६ वैशाख ०७३ को सहमतिअनुसार नारायणप्रसाद साहलाई प्रअ मान्नुपर्ने दाबी गर्छन् । मावि द्वितीय श्रेणीका अजिज र मावि तृतीय श्रेणीका साहको आधिकारितकतासम्बन्धी विवाद अदालतसम्म पुगेपछि स्थानीय अभिभावक पनि अन्योलमा परेका छन् ।
लहान नगरपालिकाको शिक्षा शाखा प्रमुख भवानीप्रसाद कट्टेलले अदालतबाट समेत अजिजलाई प्रअ पदमा कायम रहन फैसला गरेकाले विद्यालयको दैनिक प्रशासनलगायतका कामहरू उनले नै गर्न पाउनुपर्ने बताए । अजिज ०६९ माघदेखि झिरहरी माविको प्रअ पदमा कार्यरत छन् ।
२२ वैशाख ०७३ मा बस्तीपुर माविबाट काज सरुवा भई साह गएपछि समस्या भएको उनले बताए । ‘दरबन्दीमा रहेका साह बस्तीपुरबाट केही नेताहरूको उक्साहटमा म प्रअ रहेको विद्यालयमा काज सरुवा लिएर आए’ उनले भने, ‘अभिभावकले हाजिर गर्न दिएनन्, त्यसको चार दिनपछि हाजिर गर्ने र तलब मात्र खान पाउने गरी लिखित कागज बन्यो । तर, शिक्षालाई प्रभावमा पारेर उल्टै मेरै पो सरुवा गराइदिएछन् ।’
१२ माघ ०७४ मा लहान १४ बस्तीपुरस्थित बस्तीपुर माविमा दरबन्दीमा कार्यरत साहलाई झिरहरी माविमा काज सरुवा गरेका तत्कालीन शिक्षा अधिकारी महेन्द्र महतोका कारणले विद्यालयमा समस्या सिर्जना भएको अजिजले बताए ।
अदालतमा रिट
शिक्षा कार्यालयले सरुवा गरेको पत्र थमाएलगत्तै अजिजले उच्च अदालत राजविराजमा रिट दायर गरेका थिए । ४ भदौ ०७४ मा अदालतले अजिजलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म प्रअका रूपमा काम गर्न आदेश दिएको थियो । फैसलासँगै अदालतले च.नं. १७१५ को १२ माघ ०७४ को पत्र कार्यान्वयन नगराउनु भन्ने आदेशसमेत दिएको थियो ।
अदालतको फैसलापछि पुनः प्र.अ.कायम गरिएका अजिजलाई छलेर साहले विद्यालयसम्बन्धी कागजातहरू घरमा लगेको र परीक्षाको प्रमाणपत्र घरबाट बाँडेको विषयमा शिक्षा विकास तथा समन्वय एकाइ सिरहाले स्पष्टीकरण सोधेको छ ।
नयाँ पत्रिकामा मणिलाल विश्वकर्माले लेखेका छन् ।
प्रतिक्रिया