काठमाडौं २० भदौ / लमजुङको दूधपोखरी गाउँपालिका–१ काउनेगरास्थित कल्लाबारी मावि पहिरोको जोखिममा परेको छ । भूकम्पले चर्काएको भवनलाई निरन्तरको वर्षाले प्रभावित पारेपछि जोखिममा बढेको हो ।
वर्षायाम सुरु भएपछि विद्यालयको माथिबाट पहिरो खस्न थालेको विद्यालयका प्रधानाध्यापक रामप्रसाद दवाडीले जानकारी दिनुभयो । गत शुक्रबारको पानीले ठूलो पहिरो झरेपछि विद्यालय भवनको केही कोठा काम नलाग्ने भएका छन् । विद्यालयको पुरानो भवनको तल्लो स्थानतिर ‘गोर्खा वेलफेअर’ले बनाइदिएको नयाँ भवन छ ।
पढाइ भइरहेको कोठा भत्किने स्थितिमा पुगेपछि विद्यार्थीहरूलाई अन्य कोठामा सारिएको छ । पहिरोले शौचालय र दस कक्षाका विद्यार्थी पढाउँदै आइएको कोठा बगाइसकेको छ, दवाडीले भन्नुभयो, अन्य तीनवटा कोठा पनि बगाउन थालेको छ । त्यहाँ जान सकिन्न । तलबाट पनि माथिबाट पनि पहिरो झरिरहेको छ ।
अहिले त्यही भवनका कोठाहरूमा अध्ययन भइरहेको छ । पहिरोले पुरानो भवन भत्काएमा नयाँ भवनलाई पनि असर पर्नेछ । विद्यालयका प्रधानाध्यापकले पहिरो रोकथामका प्रयास भइरहे पनि जोखिम कम गर्न नसकिएको बताउनुभयो । पानी पर्न थालेसँगै विद्यार्थी र शिक्षक त्रसित भएर बस्नुपर्ने अवस्था रहेको उहाँले दुखेसो गर्नुभयो । विद्यालय भवनमाथिबाट झरेको पहिरो ७० मिटरसम्म फैलिएको उहाँले जानकारी दिनुभएको छ । भूकम्प जाँदा पाखा खल्बलिएको थियो । त्यसैमाथि पानी प¥यो, विद्यालयका पूर्वप्रधानाध्यापक आइतराज गुरुङले भन्नुभयो, विद्यालय भवनको तलतिर मूल पनि फुटिरहेको छ । पहिरो विस्तारै बढ्दै जान थालेको छ । यसले झन् ठूलो खतरा देखिएको छ । दस कक्षासम्म विद्यालयको १३ वटा कक्षाकोठा थियो, उहाँले भन्नुभयो, भूकम्पले चारवटा मात्र बाँकी राख्यो । अहिले ती कोठा पनि पहिरोले लानै आटेको छ । उहाँले जोखिम कम गर्न के कस्ता प्रयास भइरहेका छन् भन्नेबारेमा भने स्पष्ट पार्नुभएन । हाल विद्यालयका करिब ३०० विद्यार्थी अध्ययरत रहेका छन् ।
गोरखापत्रमा बेलिना थापाले लेखेको खबर ।
प्रतिक्रिया