काठमाडौं १८ भदौ / चितवनमा यस शैक्षिक सत्रमा १८ वटा सामुदायिक विद्यालय समायोजन गरिएको छ । शिक्षा विकास समन्वय इकाइले दिएको जानकारीअनुसार माडी नगरपालिकाका १२ वटा, रत्ननगर नगरपालिका र राप्ति नगरपालिकाका तीन/तीन वटा विद्यालय समायोजन गरिएको हो ।
इकाइका संयोजक दीपेन्द्र सुवेदीका अनुसार एउटा विद्यालयमा १५ जनाभन्दा कम विद्यार्थी रहेका र थोरै विद्यार्थी भएर आधा घण्टाको दूरीमा अर्को विद्यालय रहेकाले समायोजन गरिएको हो । ती विद्यालय समायोजनसँगै ४० जना शिक्षकलाई अन्य विद्यालयमा पठाइएको छ । जसका कारण अन्य विद्यालयमा भएको शिक्षकको अभाव पूर्ति गर्न सहज बनेको उहाँले बताउनुभयो ।
हाल जिल्लामा एक लाख ३८ हजार विद्यार्थी अध्ययनरत छन् । जसमध्ये ७२ हजार सामुदायिक विद्यालयमा पढ्छन् । तीनसय ७७ सामुदायिकसहित ५४८ विद्यालय यहाँ छन् ।
चितवनका १८ विद्यालय समायोजन शिर्षकमा गोरखापत्रमा प्रकाशित ।
प्रतिक्रिया