Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

एकै विद्यालयमा सय अनाथ

सोमबार, १८ भदौ २०७५

काठमाडौं १८ भदौ / धनकुटाको सहिदभूमि गाउँपालिकास्थित ठाकुरदेवी माविमा १ कक्षामा पढ्ने ४ वर्षीया संस्कृति राई अनाथ हुन् । उनलाई पालनपोषण गर्ने कोही छैन । बाबुको केही वर्षअघि मृत्यु भयो । आमा दोस्रो विवाह गरेर अन्यत्रै गइन् । त्यसपछि उनी आश्रयविहीन बनिन् । छरछिमेकको रेखदेखमा उनको दैनिकी बितिरहेको छ ।

संस्कृति मात्र होइन, उक्त विद्यालयमा अध्ययनरत एक सय बालबालिकाको अवस्था यस्तै छ । उनीहरू अभिभावकविहीन छन् । एकै विद्यालयमा यत्ति धेरै अनाथ बालबालिका अध्ययनरत हुनु अनौठो संयोग रहेको प्रधानाध्यापक डिल्लीराम न्यौपानेले बताए । ‘अधिकांश कक्षाकोठामा धेरै विद्यार्थी बाबुआमा गुमाएका अभिभावकविहीन छन्,’ न्यौपानेले भने, ‘कतिपयको अवस्था अति दयनीय छ । उनीहरूको पालनपोषण र पढाइलेखाइ नै प्रभावित हुने अवस्था छ ।’
अधिकांश वैदेशिक रोजगारसँग जोडिएका घटनाबाट अभिभावक गुमाएका रहेको उनले बताए । कतिपयका बाबु वैदेशिक रोजगारमा गएर वर्षौं नफर्किएका र आमाले अर्को विवाह गरेपछि बेसहारा भएका छन् । केही भने आमा वैदेशिक रोजगारमा गएका बेला बाबुले दोस्रो विवाह गरेपछि अलपत्र परेका छन् ।

कक्षा ७ का १२ वर्षीया स्नेहा राईका बाबुआमा साथमा छैनन् । आमा भारतको कुनै स्थानमा रोजगारीमा छिन् । बाबुले अर्काे विवाह गरेर हिंडेपछि उनी वृद्ध हजुरबुबा हजुरआमाको आश्रयमा छिन् । लेखपढ गर्ने मन भए पनि घरायसी कारणले समस्या परेको उनले सुनाइन् । ‘बाजेबजुसँग बस्छु,’ उनले भनिन्, ‘पछि के होला भन्ने चिन्ता छ ।’ हजुरबुबा हजुरआमाको शारीरिक अवस्था कमजोर भइसकेकाले स्नेहाको पालनपोषणमा समस्या उब्जिएको शिक्षिका सीता पोखरेलले बताइन् ।

अधिकांश बालबालिका उनीहरूको अवस्थाबारे कुरा गर्दा भक्कानिन्छन् । कक्षामा पढाइरहेका बेला मार्मिक कथावस्तु तथा उनीहरूको अवस्थासँग मिल्दोजुल्दो भए रुने तथा सम्हालिन नसक्ने अवस्था रहेको पोखरेलले बताइन् । ‘पढाउँदा पढाउँदै पनि भावुक भएर रुन्छन्,’ उनले भनिन्, ‘उनीहरूको आत्मबल असाध्यै कमजोर बनेकाले पढाइमा समेत असर पुगिरहेको छ ।’

१२ वर्षीय अनमोल राईका बाबुको केही वर्षअघि हत्या भएको थियो । आमाले अर्को विवाह गरिन् । त्यसपछि उनको अवस्था दयनीय छ । उनी फुपूको रेखदेखमा छिन् । कक्षा ३ का ८ वर्षीय प्रवेश परियारको अवस्था पनि कारुणिक छ तर उनका बाबुआमाको अवस्था अरूको भन्दा फरक छ ।

बाबु गंगाबहादुर शारीरिक रूपमा पूर्ण अशक्त छन् । वैदेशिक रोजगारमा कुवेत गएकी आमा बालकुमारी काम गर्ने क्रममा विदेशमै लडेर मेरुदण्ड भाँचिएपछि उनको पालनपोषण गर्ने अभिभावक नभएको हो ।

१० कक्षाकी करिश्मा राईकी आमा यज्ञकुमारीको निधन भएको र बाबु दिनेशकुमारबाट भरथेग गर्ने अवस्था नहुँदा उनको भविष्य अन्योलपूर्ण छ । आफन्तलाई सघाएर लेखपढ गर्दै आएको उनले बताइन् । घरायसी प्रसंग जोडदा उनी भक्कानिएर रुने गर्छिन् । १० कक्षाकै केशिका राईको पनि कमाएर पाल्ने बाबुको मृत्यु भएपछि चिन्तित छिन् । उनीहरूजस्तै अवस्था भोग्दै गरेका कैयौं बालबालिका त्यहाँ अध्ययनरत छन् ।

विद्यालयको सीमित छात्रवृत्ति कोषबाट सामान्य सहयोग जुटे पनि अन्य आधार नहुँदा बालबालिकाको भविष्य चिन्ताजनक बनेको शिक्षिका करुणा राईले बताइन् । कतिपय यस्ता अवस्थाका बालबालिका विद्यालय आउन छोडिसकेका र अनियमित हुने गरेका छन् ।

कान्तिपुरमा रमेशचन्द्र अधिकारीले लेखेका छन् । 

प्रतिक्रिया