जाजरकोट - जिल्ला समन्वय समिति सदस्य गरिमा शाही पदबाट राजिनामा दिएर शिक्षक बनेकी छन् । छेडागाड नगरपालिका वडा नम्बर ७ को वडा सदस्यका रुपमा तत्कालिन माओवादीबाट निर्वाचित शाही भानुभक्त आधारभूत विद्यालयमा उपलब्ध भएको शिक्षण सिकाइ अनुदान कोटामा नियुक्त भएकी हुन् ।
संविधानले विद्यालय तह सम्मको शिक्षा सञ्चालनको अधिकार स्थानीय सरकार मातहत गरेको छ । समग्र पालिका क्षेत्रको शिक्षा सुधारको जिम्मा प्राप्त स्थानीय सरकारका जनप्रतिनिधिले राजिनामा नै गरेर शिक्षक भएको सम्भवत यो पहिलो घटना हो ।
पालिका क्षेत्रमा रहेका १ सय २ विद्यालय मध्ये ३१ विद्यालयमा उपलब्ध गराईएको उक्त कोटा अन्र्तगत निमाविमा उनको नियुक्ति भएको हो । तत्कालिन शिक्षा विभाग मार्फत् उपलब्ध गराईएको उक्त अनुदान अन्र्तगत निमाविका लागि प्राप्त १४ कोटा मध्येमा उनको नियुक्ति भएको पालिकाका शिक्षा प्रमुख चक्र बहादुर रावलले जानकारी दिए ।
पालिका भित्रका माविमा ७ र प्राविमा १० कोटा अनुदान प्राप्त भएको उनले जानकारी दिए । जस मध्ये अहिले सम्म निमावि कोटा अन्र्तगत भानुभक्त सहित ईन्द्रज्योति आधारभूत विद्यालय, जनकल्याण मावि, रामोदय मावि, कालिका मावि र सरस्वती आधारभूत विद्यालयमा निमावि तहका शिक्षक नियुक्ति भईसकेका छन् ।
अनुदान प्राप्त गरेका बाँकी विद्यालयमा नियुक्तिका लागि विज्ञापन लगायतका प्रकृया शुरु भईरहेको छ, रावलले भने, १२ महिनाको तलब दिने गरी प्राप्त उक्त अनुदान रकम सबै विद्यालयको खातामा गईसकेको त छ, तर जब शिक्षक नियुक्त हुन्छन् बल्ल खाता फुकुवा हुन्छ ।
उक्त अनुदान अन्र्तगत प्रति शिक्षकले प्रति महिना प्राविका लागि २२ हजार ७ सय ७०, निवाविका लागि २३ हजार ५ सय र माविका लागि ३० हजार ५ सय तलब पाउँछन् ।
जनप्रतिनिधिबाट राजिनामा गरेर शिक्षक नै बन्नु पर्नाको कारणबारे चौतर्फि चासो बढेको छ । शाहीले राजिनामा गरेर शिक्षक बन्नु पर्नाको कारण आफूलाई थाह नभएको र यस बारेमा चासो गर्न जरुरी पनि नभएको रावलले बताए ।
'पेशा छान्ने उहाँको अधिकारको कुरा हो, हामीले सोध्ने कुरा पनि भएन' उनले भने, 'शिक्षक नियुक्तिको प्रकृया मिलेको छ छैन भन्ने कुरा मात्रै हाम्रो चासो हो, यसमा कुनै शंका नगर्नु भए हुन्छ ।'
आफूले पनि यस विषयमा शाहीसँग प्रत्यक्ष बसेर कुराकानी गर्न नपाएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले बताए । फागुन चैत सम्म बैठकहरुमा नियमित आउने भए पनि पछिल्लो समयको सहभागिता न्यून रहँदै आएको बारेमा शाहीलाई सोध्दा आफूलाई अब्यवहारिक भएको बताउने गरेको उनले उल्लेख गरे । प्रमुख रावलका अनुसार श्रीमान् पनि शिक्षक नै भएको र जिल्ला सम्म ओहोर दोहोर गरिरहनु पर्दा अब्यवहारिक भएको उनले बताउँदै आएकी थिईन् ।
'राजिनामा पत्र त १५ दिन जस्तो अघि नै आएको थियो, छलफल गरेर टुङ्ग्याउँला हतार नगर्नुस् भनेको थिएँ, त्यहि समय काम विशेषले मलाई काठमाडौं जानु पर्ने भयो' काठमाडौंबाट टेलिफोनमै उनले भने, 'राजिनामा स्विकृत गर्न हतारै भयो भने पछि मैले समितिको प्रकृया र विधि विधान अनुसार गर्न भनेको त थिएँ, मैले आफैं स्विकृत गरेको त हैन, तर उहाँ अहिले शिक्षक बनिसक्नु भयो रे भन्ने हल्ला मैले पनि सुनें, विस्तृत कुरा बुझ्न भ्याएको छैन ।'
यस विषयमा शाहीको प्रतिकृया बुझ्न गरिएको पटक पटकको प्रयास सफल हुन सकेन ।
प्रतिक्रिया