काठमाडौं - आफूले अभिभावकत्व ग्रहण गरेका बालबालिका 'ड्रप आउट' हुन नदिने प्रधानमन्त्री केपी ओलीले प्रतिवद्धता जनाएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भर्ना अभियानलाई सरकारको उपलब्धि भन्दै यसमा पनि खिसि ट्युरी गरेकोमा आपत्ति जनाएका छन् ।
गत बैशाख १ गते भएको भर्ना अभियानमा प्रधानमन्त्री, मन्त्री लगायत उच्च पदस्थ ब्यक्तिहरुले अभिभावकत्व ग्रहण गरेका बालबालिका विद्यालय जान नसकेको खबरहरु सार्वजनिक भईरहेका बेला प्रधानमन्त्रीको उक्त धारणा सार्वजनिक भएको हो ।
'प्रधानमन्त्रीले भर्ना गरेको मन्त्रीहरुले भर्ना गरेको बालबालिका कुन दिन स्कुल गएन भनेर ... फलानो दिन त गएनन् नी ...अभिभावकत्व ग्रहण गरेका बालबालिका स्कुल पुगेनन् नी भन्ने कुराको कति महत्व हुन्छ ?' प्रश्न गर्दै उनले भने, 'कहिले कहिले जान सक्दैनन् यो गरीब देश अप्ठ्यारो छ परिस्थिती तर ड्रप आउट भएका छैनन् र हुन दिईने छैन ।'
उक्त अभियानमा विद्यालय भर्ना हुन नपाएका ३ लाख १३ हजार २ सय ८ मध्ये २ लाख ५६ हजार ५ सय ५६ बालबालिकालाई विद्यालय भर्ना गरिएको उल्लेख गर्दै उनले यो निकै ठूलो उपलब्धि भएको बताए ।
'पोलिसी डिर्पाचरको खोजि गरिरहनु भएका हाम्रा शुभ चिन्तकहरुको जिज्ञासाको यो तथ्य आफैंमा जवाफ हो भन्ने म ठान्छु' उनले भने 'संघीय सरकार प्रदेश स्थानीय सबैले अभियानमा सामेल मात्रै नभएर अभिभावकत्व ग्रहण गरेका छन्, अनी यस्ता अभियानको कुनै अर्थ छैन र ?'
विद्यालय जाने उमेरका र स्कुल भर्ना नहुने बालबालिकाको संख्या अर्को बर्ष सम्ममा शुन्यमा झार्ने गरी शुरु एकै अभियानमा उक्त संख्याका बालबालिका भर्ना गरेकोलाई सरकारको उपलब्धि भन्दै उनले एक जना पनि बालबालिका स्कुल जानबाट बञ्चित नहोस्, कसैले पनि पढ्न नपाउने स्थिती नहोस् भन्ने कुरामा सरकार गम्भिर रहेको बताए ।
भर्ना अभियानको महत्व रहेको बताउँदै उनले कम्तिमा पनि केही त हुँदै छ भन्ने भावना हुनु पर्ने उल्लेख गरे ।
विमस्टेकको शिखर सम्मेलनको सन्दर्भमा बोल्न भन्दै आएका प्रधानमन्त्रीले सरकार लोकतन्त्र प्रति प्रतिवद्ध रहेको उल्लेख गरे । संविधान जारी भएका मितिले ३ बर्ष भित्र किन भएनन् काम खोई डेलीभरी जस्ता कुराहरु अहिल्यै भन्न नमिल्ने बताए ।
'यो सरकार बन्नु अघि नै अधिनायकबादको बुख्याचा गाड्दै हिड्नु भो विभिन्न ठाउँमा जनता तर्साउनु भयो, मैले भन्दै आएको छु यो लोकतन्त्र हामीलाई कसैले किस्तिमा हालेर दिएको हैन, बर्षै लडेर हासिल गरेका हौं' उनले भने 'तानाशाही ब्यवस्थाको काल कोठरीमा संग सँगै विताएका साथीहरुले मात्र हैन, पञ्चायत गए पछि स्कुल भर्ना हुनेहरुले पनि मेरो पार्टिको नेतृत्वमा रहेको सरकारसँग लोकतन्त्रको सर्टिफिकेट मागेको सुन्दा म छक्क पर्छु कहिले कहिले ।'
लोकतन्त्रलाई अराजकतामा नभई थितीमा चलाउन खोजेको उनको दावि थियो ।
प्रतिक्रिया