सिन्धुली - पालिका भित्रका विद्यालयमा गर्न लागिएको शिक्षक नियुक्तिको प्रकृयामा विवाद भएपछि गोलञ्जोर गाउँपालिकाले श्रोत ब्यक्तिलाई आफ्नै दरबन्दीमा फर्कन पत्राचार गरेको छ । ग्वाल्टार श्रोत केन्द्रका श्रोत ब्यक्ति यज्ञवहादुर राईलाई जिम्मेवारीबाट फिर्ता गरिएको भन्दै पालिकाका अध्यक्ष पुष्प बहादुर कार्कीले पत्राचार गरेका हुन् ।
गएको भदौ ७ गते बसेको कार्यपालिका बैठकले गरेको निर्णय भन्दै राईलाई जिम्मेवारीबाट फिर्ता गरिएको जानकारी सहितको पत्र थमाईएको छ ।
'तपाईलाई ग्वाल्टार श्रोत केन्द्रको श्रोत ब्यक्तिबाट आजको मिति देखि जिम्मेवारीबाट फिर्ता गरिएकोले तपाईको आफ्नो दरबन्दीमा गई हाजिर भई काम काज गर्नु हुन जानकारी गरिन्छ' भदौ ८ गतेको उक्त पत्रमा भनिएको छ, 'साथै हाजिर भएको जानकारी यस कार्यालयमा दिनु हुन समेत अनुरोध छ ।'
राईको दरबन्दी खुर्कोट स्थित जनज्योति माविमा छ ।
संविधानले विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय सरकार मातहत गरेको अवस्थामा गर्न लागिएका सुधारका कार्यमा नसघाए पछि बाध्य भएर यस्तो निर्णय गर्नु परेको अध्यक्ष कार्कीले बताए । पालिका भित्रका विद्यालयको अवस्था, शिक्षक विद्यार्थी अनुपात लगायतका विषयमा विस्तृत विवरण तयार गरेर आवश्यक निर्णय लिने योजनामा समेत राईले नसघाएको अध्यक्ष कार्कीको आरोप छ ।
'गएको बैशाखमै उहाँको क्षेत्र भित्र पर्ने विद्यालयहरुको अवस्था, शिक्षक, विद्यार्थी संख्या लगायतका तथ्याङ्क बुझाउन भन्दा पनि ४ महिना सम्म नबुझाएर उहाँले असहयोग गर्नु भयो' कार्कीले टेलिफोनमा भने 'विद्यालयमा भद्रगोल भयो, हामीलाई असक्षम नबनाउनु होस् भन्दै ब्यवस्थापन समितिका पादाधिकारी र अभिभावकले रात दिन फोन गरेर हैरान पार्ने, सरकारी कर्मचारीले कामै नगरेर आजित बनाउने दोहोरो मारमा परेपछि हामीले विद्यालय सुधारका लागि उहाँलाई दरबन्दीमै गएर काम गर्नुहोस् भनेका हौं ।'
तर, पालिका क्षेत्र भित्रका ५ वटा विद्यालयमा शिक्षक नियुक्तिको प्रकृया नमिलेको भन्दै आफूले जनाएको असहमतीका कारण पालिकाले उक्त निर्णय गरेको राईको आरोप छ । कालिका प्रावि मुर्कि गाउँ, बालज्योती प्रावि ठूली पोखरी, बालकल्याण निमावि माथिल्लो बेसी, मावि नयाँखर्क र प्रावि थलडाडाँमा नयाँ शिक्षक नियुक्त गर्न गत जेठ २० गते पालिकाले परीक्षा तय गरेको थियो । भोली पल्टै परीक्षा लिनु पर्ने भन्दै पालिकाका अध्यक्ष कार्की र कार्यकारी अधिकृत टंकनाथ घिमिरेले दवाव दिएको राईको आरोप छ ।
'विना विधि र प्रकृया यति हतारमा परीक्षा लिन नसकिने मेरो तर्क थियो' राईले एडुखबरसँग टेलिफोनमा भने, 'मैले असहमती जनाएकै हो, तर किन परीक्षा गर्न नहुने भन्ने कुरै नहेरी मलाई दरबन्दीमा जान भन्दै पत्र काटिएको छ ।'
उक्त विवाद पछि ४ दिन पछि परीक्षा लिने तय भएको थियो । तर जेठ २४ गते का लागि तय गरिएको उक्त समयमा पनि विज्ञ सूची तयार नभएको, प्रश्न पत्र निर्माणका आवश्यक प्रकृया पुरा नभएका भन्दै राईले परीक्षा सञ्चालन प्रकृयामा असहमती जनाएका थिए । जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाइबाट शिक्षक नियुक्तिका विषयमा कुनै जानकारी नआएको तर्क दिएर राईले असहमती जनाएका थिए ।
पालिकाले गर्न खाजेको काममा पटक पटक असहयोग गरेको निष्कर्ष साथ संविधानले विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय सरकार मातहत गरेको अवस्थामा उक्त कार्य आफैंले गर्न सक्ने पालिकाको तर्क थियो ।
यसैबिच पालिकाको उक्त कार्यले आफूहरुको मान सम्मनमा आँच पुर्याएको भन्दै उक्त श्रोत केन्द्र अन्र्तगतका विद्यालयका प्रधानाध्यापकहरुको बैठकले खेद प्रकट गरेको छ ।
'विना कारण मान सम्मानमा आँच पुर्याउने र शैक्षिक क्षेत्रलाई अस्तब्यस्त बनाउने किसिमले विधि र प्रक्रिया पुरा नगरी ईमान्दार र पेशाप्रति वफादार श्रोतब्यक्तिलाई श्रोत ब्यक्ति पदबाट फिर्ता पठाउने निर्णय प्रति हामी खेद प्रकट गर्दछौं' सोमबार बसेको उक्त बैठकको निर्णयमा भनिएको छ ।
उक्त निर्णय ऐन नियम विपरित रहेको दावी गर्दै फिर्ता गरी शैक्षिक शुसासन कार्य गर्न बैठकले माग समेत गरेको छ ।
उक्त बैठकले पारित गरेको खेद प्रस्ताव पालिका अध्यक्ष कार्कीलाई समेत बुझाईएको छ । उक्त पालिकामा अर्का श्रोत ब्यक्ति शरदचन्द्र अर्याल पनि कार्यरत छन् । उक्त श्रोत केन्द्र अन्र्तगत ४ वटा वडामा अर्याल र ३ वटामा राईले हेर्दै आएका छन् ।
यसैविच उक्त घटना र यस सँग जोडिएको सार्वजनिक शिक्षा सुधारका विषयमा पालिकाले गर्नु पर्ने कार्यमा सुझाव दिन मावि नयाँखर्कका प्रधानाध्यापक लेखबहादुर बस्नेतको संयोजकत्वमा एक समिति बनाएको अध्यक्ष कार्कीले बताए । उक्त समितिको रायका आधारमा कार्य सञ्चालन गर्ने उनको भनाई छ ।
'विद्यालय शिक्षा सञ्चालनको अधिकार संविधानले नै स्थानीय सरकारलाई दिएको छ, के गर्दा राम्रो हुन्छ भन्ने कुरा हामीले जानेका छौं, सोही अनुसार अघि बढ्छौं' कार्कीले भने, 'विभिन्न स्वार्थ राखेर आईपर्ने समस्यालाई समाधान गर्दै अघि बढ्नुको विकल्प छैन, यो घटना र यसमा पालिकाले गरेको कारवाहीलाई पनि त्यही रुपमा बुझ्नु होला ।'
प्रतिक्रिया