काठमाडौं - उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य प्रा.डा. विद्यानाथ कोइरालाले शिक्षा आयोगमा जात्रा भएको बताएका छन् । फरक फरक विचार र धारणाबाट निर्देशित सदस्यहरु तर्फ संकेत गर्दै उनले उक्त कुरा बताएका हुन् ।
'शिक्षा आयोगमा जात्रा छ, कोही कडा कोही नरम' सोमबार आयोजित एक कार्यक्रममा उनले भने, 'म जस्ता पूर्व पनि छौं, हामीलाई पूर्व पश्चिम मिलाउँदा हैरान छ ।'
शिक्षाका सवालमा संविधानले गरेको ब्यवस्था कार्यान्वयनका लागि संसदमा दर्ता गरिएको निःशुल्क तथा अनिवार्य शिक्षा सम्वन्धी विधेयकका बारेमा आयोजित छलफलमा उनले यस्तो बताएका हुन् ।
पढ्नुहोस् उक्त कार्यक्रममको खबर : संसदमा शिक्षा विधेयक, समय सीमामै परिवर्तनको संकेत !
ब्यवस्था परिवर्तन सँगै देशको शिक्षा नीति तय गर्न भन्दै गत असार ४ गतेको मन्त्रीपरिषद्ले शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतमाा आयोग गठन गरेको थियो । दुई सदस्य प्रधानमन्त्रीले थप्ने गरी १९ जनाको नाम सहित उक्त आयोग गठन भएको थियो । तर, प्रधानमन्त्री केपी ओलीले आफ्ना तर्फबाट ५ जनाको नाम थपेर गत असार ३२ गते फेरी मन्त्रीपरिषद् बैठकद्धारा नयाँ निर्णय गराएका थिए । प्रधानमन्त्री निकट रहेका निजी विद्यालय सञ्चालकहरुको संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसानका अध्यक्ष रमेश सिलवाल र तत्कालिन एमाले निकट शिक्षकहरु आवद्ध राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्मा सहित प्रधानमन्त्रीले आफू निकटका ब्यक्तिहरुलाई आयोगमा सदस्य थप गरेका थिए ।
पढ्नुहोस् : पुरानो निर्णय उल्ट्याएर शिक्षा आयोग गठन, प्रधानमन्त्रीले थपे ५ जना
आयोग गठनको प्रकृया शुरु देखिनै पेचिलो बनेको थियो । सोही कारण गठन भएको झण्डै एक महिना विते पछि बल्ल आयोग पूर्ण भएर काम शुरु गरेको हो ।
अहिले आयोगले विषयगत समिति निर्माण गरेर कार्य गरिरहेको छ । कोइराला समावेशिता र समसामयिक विषय समूहमा रहेर कार्य गरिरहेका छन् ।
आयोगमा शिक्षामा भईरहेको ब्यापारको विषय निकै पेचिलो बन्दै गएको श्रोतले बताएको छ । खास गरी आयोग सदस्य सिलवालले जोडदार रुपमा शिक्षामा निजीकरणको वकालत गर्दै आएका छन् ।
सोमबार कोइरालाले ब्यक्त गरेको उक्त धारणालाई सोही कामको दौरान आईपरेको अड्चन तर्फको संकेतका रुपमा बुझ्न सकिन्छ ।
फाईल फोटो
प्रतिक्रिया