काठमाडौं - महिला हिंसा विरुद्ध संसदले संकल्प प्रस्ताव पारित गर्दै त्रुटीपूर्ण सामाजिक मूल्य मान्यता र अन्धविश्वास विरुद्धका कानुनी व्यवस्थालाई पाठ्यक्रममा समावेश गर्न सरकारलाई निर्देशन दिएको छ । पछिल्लो समय महिला हिंसाका घटना बढ्दै गएका छन् । यही सन्दर्भमा शुक्रबारको प्रतिनिधि सभा बैठकमा संकल्प प्रस्ताव दर्ता गराईएको थियो ।
सत्तारुढ दल नेकपाकी सांसद विन्दा पाण्डेले महिला माथि हुने जघन्य अपराधबाट पीडितलाई उपचार र क्षति पूर्तिको व्यवस्था गर्नुका साथै त्रुटिपूर्ण सामाजिक मूल्य मान्यता, प्रथा परम्परा, अन्धविश्वास, शोषण विरुद्ध व्यापक जनचेतना अभियान चलाई सामाजिक न्याय र समानताको लागि विद्यालय तहका पाठ्यक्रममा नै समावेश गर्न सरकारलाई निर्देशन दिइयोस् भन्ने संकल्प प्रस्ताव प्रस्तुत गरेकी थिईन् ।
नेपालको संविधान बमोजिम नेपाल पक्ष राष्ट्र भएका महिलामाथि हुने सबै प्रकारका विभेद विरुद्धको महासन्धि लगायत अन्तराष्ट्रिय अभि सन्धिहरुले शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक एवं अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषणलाई दण्डनीय भनेको स्मरण गर्दै महिला माथि हुने हत्या, बलात्कार, बोक्सी आरोपमा उत्पीडन, छाउपडी, यौनजन्य हिंसा, घरेलु हिंसा, दाइजोको निउँमा हुने कुटपिट जस्ता जघन्य अपराधबाट पीडितलाई उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न पाण्डेले उक्त संकल्प प्रस्ताव प्रस्तुत गरेकी थिईन् ।
पछिल्लो समय महिला हिंसा विरुद्धको घटनामा वृद्धि भईरहेको भन्दै संसदमा रहेका विभिन्न दलका २२ सांसदले उक्त प्रस्तावको छलफलमा भाग लिएका थिए ।
छलफल पश्चात संसदले महिला माथि हुने हिंसा, शोषण, विभेद गर्ने अपराधीलाई तत्काल पक्राउ गरी कारवाही गर्न र पीडितहरुको उपचार, क्षतिपूर्ति तथा सामाजिक पुनस्र्थापनाको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
उक्त प्रस्ताव माथिको छलफलमा भाग लिँदै सांसदहरुले महिला हिंसा रोक्न बलात्कारको कसूरमा मृत्यु दण्डसम्मको सजाय गर्नु पर्ने समेत धारणा ब्यक्त गरेका थिए ।
छलफल पछि महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले महिला हिंसा रोक्न सरकार प्रतिवद्ध रहेको बताउँदै समाजिक मूल्य मान्यता प्रथा अन्धविश्वास विरुद्धको कानूनी व्यवस्थालाई विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरेर पठन पाठनको व्यवस्था मिलाउने प्रतिवद्धता पनि जनाएकी छन् । उनले संसदले संकल्प प्रस्ताव मार्फत दिएको निर्देशन पालना गर्न सरकार प्रतिवद्ध रहेको बताईन् ।
प्रतिक्रिया