काठमाडौं ८ भदौ / पोखरा विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा मंगलबार राति पसेर कम्प्युटरका डाटा गडबडी गरेको शंकामा कास्की प्रहरीले १ कर्मचारीलाई पक्राउ गरेको। घटनामा संलग्न आशंका गरिएका अरु २ जना फरार छन्।
विश्वविद्यालयको सीसीटीभी फुटेजमा ती व्यक्तिहरु प्रष्ट चिनिए पनि प्रहरी र विश्वविद्यालयले नाम सार्वजनिक गरेको छैन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काठमाडौंले उक्त घटनाको अनुसन्धान थालेको छ।
कम्प्युटर र साइबर सम्बन्धी विषय भएको हुँदा सीआईबीबाटै अनुसन्धान सुरु भएको प्रहरी स्रोतको भनाइ छ। विश्वविद्यालयका अधिकारी पनि अनुसन्धान प्रहरीले गरेको हुँदा आफूहरुले यसै भन्न नसक्ने बताउँछन्।
नेपाल विद्यार्थी संघ विश्वविद्यालय मुल इकाई समितिले पनि उक्त घटनाको पुष्टि गरेको छ। समितिका सभापति फिरोज सुवेदी र सचिव मिमराज शाहीले परीक्षा नियन्त्रण कार्यालयको लापरबाही र असुरक्षित व्यवस्थापनका कारण केही व्यक्तिहरु कार्यालयमा छिरी सम्पूर्ण विद्यार्थीको रेकर्ड भएको कम्प्युटरको रेकर्ड चोरी तथा रेकर्ड बदलिदिएको हुनसक्ने बताएका छन्।
‘घटनाको दोषीलाई कारबाही र रेकर्ड चोरी विषयको स्प्रष्टीकरण नदिए पनिका र सम्पूर्ण विश्वविद्यालयमा तालाबन्दी गर्ने २४ घन्टे अल्टिमेटम दिएका छौं,’ उनीहरुले भनेका छन्।
अन्नपूर्ण पोष्टबाट
प्रतिक्रिया