काठमाडौं ८ भदौ / देशभरका तीन हजार सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी शून्य भएको छ । कतिपय विद्यालयमा शिक्षक दरबन्दी शून्य हुनु र कतै भने अनावश्यक रूपमा शिक्षक एकै ठाउँमा थुप्रिँदा शैक्षिक सुधारमा समस्या देखिएको छ ।
नयाँ पत्रिकाका अनुसार शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले संकलन गरेको तथ्यांकअनुसार कक्षा १ देखि १० सम्म अध्यापन हुने तीन हजार ५८ सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी शून्य देखिएको छ । आधारभूत तह (कक्षा १–८) सम्मको कक्षा सञ्चालन भएका दुई हजार पाँच सय ५४ र पाँच सय चार माविमा शिक्षक दरबन्दी शून्य छ । आधारभूत विद्यालयमा साबिकको प्राविमा एक हजार चार सय ८३ र निमाविमा एक हजार ७१ मा विद्यालयमा शिक्षक दर्बन्दी नै छैन ।
असमान छ शिक्षक विद्यार्थी अनुपात
बिभिन्न जिल्लामा शिक्षक विद्यार्थी अनुपात निकै असमान छ । विद्यालय क्षेत्र सुधार योजनाले विद्यार्थी शिक्षक अनुपात हिमाली क्षेत्रमा ३०, पहाडमा ३५ र तराई तथा यपत्यकामा ४० रहनुपर्ने उल्लेख गरेको छ । हिमाली जिल्लामध्ये प्राविमा सबैभन्दा न्युनतम मनाङ र अधिकतम कालिकोटमा छ । सो तहमा मनाङको शिक्षक विद्यार्थी अनुपात ३.७ र कालिकोटमा ४९.७ छ ।
पहाडी जिल्लाहरुमा अनुपात कम पर्वतमा ११.९ र उपत्यकामा भक्तपुरमा १३.९ छ । तराईमा शिक्षक विद्यार्थी अनुपात झापामा २९.७ र अधिकतम सर्लाहिमा ७६.५ छ । माध्यमिक तहमा शिक्षक विद्यार्थी अनुपात सबैभन्दा कम मनाङमा ५.९ र सबैभन्दा बढि कैलालीमा ८३.३ छ ।
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले शिक्षकहरुलाई पार्टीका नेता र शिक्षक संगठनका नेताहरुले चलाउन नदिएको बताए । शिक्षक बढी भएका ठाउँमाबाट निकालेर अर्को ठाउँमा लैजान नदिएकाले समस्या भएको उनको भनाई छ । दर्बन्दी नभए पनि राम्रा शिक्षक भएको ठाउँमा गुणस्तर राम्रो भएको बताए । शिक्षक दर्बन्दी भएमा अध्यापनमा सहज हुने उनले बताए ।
स्थानीय तहभित्रै ब्यापक असमानता
एउटै जिल्लाका स्थानीय तहभित्रका विद्यालयमा पनि विद्यार्थी शिक्षक अनुपात निकै असमान पाइएको छ । कार्यदलका संयोजक तथा पुर्वसचिव महाश्रम शर्माका अनुसार प्राथमिक तहमा विद्यार्थी शिक्षक अनुपातमा कपिलबस्तुको जिल्ला औषत ६४ छ, तर सो जिल्लाको बाणगंगा नगरपालिकामा २५ र बिजयनगर गाउँपालिकामा १२६ छ । कैलाली जिल्लाको प्रावि तहमा शिक्षक विद्यार्थी अनुपात ५१ छ तर सोही जिल्लाको बर्दगोरिया गाउँपालिका र लम्कीचुहा नगरपालिकामा ७८ र कैलारीमा ३१ मात्र छ । प्राथमिक तहमा विद्यार्थी शिक्षक अनुपात १७ रहेको सल्यान जिल्लामा बनगाड कुपिण्डे नगरपालिकामा ८७ छ ।
विद्यार्थी शिक्षक अनुपात कुन देशमा कति ?
नेपाल ३२
भारत ४०
बंगलादेश ४३
पाकिस्तान ४१
श्रीलंका २४
चीन १७
दक्षिण कोरिया २१
इन्डोनेसिया १६
थाइल्याण्ड १६
नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् ।
प्रतिक्रिया