Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

त्रिविमा घोटाला, छानविनको माग

बुधबार, ०६ भदौ २०७५

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको मानव शास्त्र संकायका प्राध्यापकहरुले आर्थिकसँगै नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी संघ, त्रिवि समितिले छानविनको माग गरेको छ ।  

समितिका सभापति हरि आचार्यद्धारा जारी विज्ञप्तिमा विदेशी अनुदानबाट आएको करोडौं रुपैयाँ अनुसन्धानमा खर्च नगरेर त्रिविका कर्मचारी र प्राध्यापकहरुले खल्तीमा हाल्ने गरेको आरोप लगाईएको छ । 

'उक्त विभागका विभागीय प्रमुख प्रा.डा.लय प्रसाद उप्रेतीले विभागीय प्रमुख पदमा नियक्ती भई विभागको प्राज्ञिक उन्नयनमा योगदान पु¥याउनु पर्नेमा पदको दुरुपयोग गरि विना अनुमति त्रि.वि.को लोगो समेत अन्यत्र प्रयोग गर्दै कमाउने धन्दामा लागेको पाइएको छ' विज्ञप्तिमा भनिएको छ । 

'अ स्टडी अन स्टेट अफ सोसल ईन्क्ल्युजन ईन नेपाल' नामक परियोजनाका लागि अमेरिकी संस्था यूएसआईडिले सहयोग गरेको छ । 

उक्त परियोजनाबाट शैक्षिक सुधारको काम गर्नु पर्नेमा आफ्ना नजिककाहरुलाई नियम विपरित विभागमा नियुक्त गरि उच्च पारिश्रमिक दिने गरिएको नेविसंघको दावि छ । कार्यालय सहयोगीका रुपमा कार्यरत कर्मचारीलाई मासिक रु. ५० हजार सम्म उपलब्ध गराईदैं आएको दावि गर्दै नेविसंघले उप्रेती विभागमा नियमित उपस्थित नहुने बरु हप्तौ सम्मको हाजिर एकै चोटी गर्ने आरोप लगाएको छ । 

'बालुवाटारमा कार्यालय खोली अन्य कामहरु गर्ने तथा विभिन्न बैंक खाताहरु मार्फत ठुलो मात्रमा रकमको दुरुपयोग भइरहेको छ' विज्ञप्तिमा भनिएको छ, 'यस्ता प्रोजेक्टहरु त्रि.वि. कार्यकारी परिषद्बाट स्वीकृती लिई निश्चित प्रक्रिया र आधिकारीक निकायबाट अनुमोदित हुनुपर्ने कानुनी प्रावधान रहेता पनि त्यस्तो प्रक्रिया पु्रा गरेको पाइएको छैन ।'

त्रिविबाट नियमित तलब भत्ता खाने प्राध्यापकहरुले बाहिरको काम गर्न नियमानुसार स्वीकृती लिनुपर्नेमा स्वीकृती नलिएको आरोप लगाउँदै नेविसंघले विभागीय प्रमुख उप्रेती सहितको गिरोहले आंशिक शिक्षकमा नियुक्त गरेका व्यक्तिबाट रु. ३० हजार आफैं राख्ने आरोप समेत लगाएको छ । 

'यति ठूलो रकम कारोबार गर्नका लागी त्रिविको आधिकारीक निकायबाट स्वीकृती नलिई राजिष्ट्रारबाट खाता खोल्ने अनुमति दिनु तथा शिक्षाध्यक्षबाट नो अब्जेक्सन लेटर दिनुले ठुलो घोटाला भएको देखिन्छ'  विज्ञप्तिमा भनिएको छ, 'यस्ता विविध काम गर्दा त्रि.वि.को आधिकारिक निकायबाट स्वीकृती गरेकाले सम्बन्धित निकायबाट नियमानुसारको कारबाही होस ।'

उपकुलपति , रेक्टर र राजिष्ट्रारको मिलोमतोमा ठूलो 'आर्थिक घोटाला' भएको आरोप लगाउँदै नेविसंघको विज्ञप्तिमा विभागको सम्पूर्ण रुपमा प्राज्ञिक मर्यादा र उन्नयनको दृष्टिले ज्यादै कमजोर बन्दै गइरहेको तर प्राध्यापकहरु परियोजना केन्द्रित हुँदै गइरहेकोले विद्यार्थीको पठनपाठन कमजोर हुँदै विभाग प्राज्ञिक दृष्टिले कमजोर हुँदै गइरहेको उल्लेख छ । 

उक्त कार्यको निष्पक्ष छानवीन गरि दोषी माथि कडा भन्दा कडा कारवाही गर्न संघले माग गरेको छ । 

‘त्रिविका भीसी, रेक्टर र रजिष्ट्रार समेत यस कार्यमा संलग्न छन् भन्ने हाम्रो आशंका छ, नत्र त्रिविको लोगो र स्ट्याम कसरी दुरुपयोग भयो ?' बुधबार आयोजित पत्रकार सम्मेलनमा आचार्यले भने 'विदेशी प्रोजेक्टलाई त्रिविको विधानभित्र रहेर क्रियाकलापहरु गर्न पाईने भनिएको छ, तर युएसएआईडीसंग मिलेर यस्तो काम भएको छ, त्रिविका कार्यकारी पदाधिकारीहरुको अनुमतिविना यो काम कसरी भयो ? कति आर्थिक दुरुपयोग भयो ? त्यसका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बोल्नुपर्छ ।’

 

प्रतिक्रिया