काठमाडौं २ भदौ / गोरखाको गाँखु स्थित कृष्णज्योती माविमा कक्षा ९ मा पढ्ने समिर मियाँ खोला तर्न नसकेपछि ३ दिन विद्यालय गएनन्। बर्खे बिदा भएर विद्यालय खुलेको दुई सातामा तीन दिन उनको कक्षा छुट्यो। कारण विद्यालय जाने बाटोमा पर्ने खोलामा ‘स्कुल’ जाने बेला पानी परेपछि बाढी आयो । ‘खोला बढेपछि विद्यालय जान गाह्रो हुन्छ, हामी फर्कन्छौँ, तर्न सकिँदैन’ उनले भने।
गोरखाको भिमसेन थापा गाउँपालिका १ निबेलका करिब २५ जना बालबालिका यसरी बर्खाको समयमा यसरी नै जराङ खोलाको भेलमा हेलिँदै स्कुल जान्छन्। निबेलखोला बर्खाको बेला तर्न नसक्ने गरी बाढी आउँछन्। निबेलमा कक्षा ५ सम्म मात्रै पढाई हुने विद्यालय छ। ६ कक्षा देखि १२ सम्म पढ्न खोला तरेर जाँदा करिब ३० मिनेटको दुरीमा कृष्णज्योती मावि छ। निबेलका बालबालिका त्यहाँ पढ्न जान्छन्। असार र साउन दुई महिना भने निबेलका विद्यार्थीलाई पढ्न निकै सकस छ।
कक्षा ८ मा पढ्ने निराजन थापा पानी परेर खोला बढेपछि विद्यालय जाँदैनन्। खोला तरेर जान गाह्रो हुन्छ, पानी परेको छ भनेपछि घरमा पनि आमाबाबुले कर गर्दैनन्। उक्त खोलामा पक्की पुल बन्ने तरखर भएको वर्षदिन बित्यो। निर्माण सुस्त छ। गाउँभन्दा करिब आधा घण्टा माथिको दुरीमा झोलुङ्गे पुल छ। उक्त पुल भएर विद्यालय जान एक घण्टा भन्दाबढि समय लाग्छ।
चिप्लो र एक्लै जाँदा बालबालिका डराउने भएपछि उक्त बाटो भएर खासै जाँदैनन्। ‘सकेसम्म भेलबाटै जाने हो’ विद्यार्थी निराजन थापाले भने ‘पुलबाट घुमेर जाँदा ढिलो हुन्छ, चिप्लो छ, लडिन्छ, पढाई पनि छुट्छ घरै फर्कन्छौँ।’ खोला बढेर विद्यालय आउन नसकेको बताएपछि शिक्षकहरूले पनि विद्यालय किन नआएको भनेर भन्दैनन्। आउन–जान समस्या छ भन्ने कुरा शिक्षकहरूले पनि बुझेका छन्।
खोला सानो भएका बेला हात समाएर सामुदायिक रुपमा विद्यार्थी खोला तर्छन। कहिलेकाँही अभिभावक खोला तार्न पनि जान्छन। ‘पानी परेको परै छ, खोला बढेको थाहा पाउँदा पाउँदै कसरी जान भन्नु’ अभिभावक काजी थापा भन्छन्, ‘भेलमा हेलिन भन्दा एक दुई दिन नगएर केही हुँदैन।’ उक्त गाउँ भएर मध्यपहाडी लोकमार्ग अन्र्तगत सडक निर्माण भइरहेको छ। उक्त सडक बिस्तार, कल्भट, पुल निर्माणको काम चलिरहेको छ।
समयमै जराङ खोलाको पुल निर्माण पुरा नहुँदा स्थानीयले आउजाउ गर्न पनि निकै दुःख भोग्नुपरेको गुनासो उनको छ। वारीपारी गर्न, खेत आउन जान, सदरमुकामसम्म पुग्न पनि खोला तरेरै जानुपर्ने बाध्यता स्थानीयलाई छ। पुल छिटो निर्माण गरिदिन पटक पटक लोकमार्ग निर्माणमा खटिएका प्राविधिकलाई भन्ने गरेका छन्।
नागरिकमा नरहरि सापकोटाले लेखेका छन् ।
प्रतिक्रिया