Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

सांकेतिक भाषा सिक्न राजधानी

आइतबार, २७ साउन २०७५

काठमाडौं २७ साउन / गैरीधारास्थित काठमाडौं बहिरा संघको कार्यालयमा शिक्षक गोकुल रिसाल दर्जन प्रशिक्षार्थीलाई सांकेतिक भाषा सिकाउँदै थिए । नातागोता जनाउने अक्षरबारे उनी औंलाको इसाराले नक्कल गर्न लगाइरहेका थिए । भित्ताको सेतो पाटीमा लेखिएको थियो, ‘नेपाली सांकेतिक भाषाको शब्दकोश सिकाइ ।’

रिसाल स्वयं बहिरा हुन् तर प्रशिक्षार्थीमध्ये धेरैजना साङ्ग थिए । वनस्थलीकी सीता पौड्याल सात वर्षीया छोरी कान नसुन्ने भएकाले उनीसँग कुराकानी गर्न सांकेतिक भाषा सिकेको बताउँछिन् । ‘नानीसित कुराकानी गर्ने र उसको समस्या बुझेर अघि बढाउन सांकेतिक भाषा सिक्दै छु,’ उनले भनिन् ।

भोटेबहालकी १९ वर्षीया दृष्टि सिंहले बुबा (देवेन्द्रमान सिंह) बहिरा भएकाले सांकेतिक भाषा सिकेको बताउँछिन् । ‘मैले सांकेतिक भाषा सिक्नु बुबालाई सहयोग गर्नु हो,’ भर्खरै कक्षा १२ उत्तीर्ण गरी बीबीए पढ्ने तयारीमा रहेकी उनले भनिन्, ‘मेरी ठूली आमाले बहिरा महिला सिर्जनशील संस्था सञ्चालन गर्नुभएकाले त्यहाँ दोभाषेको काम पनि गर्छु ।’

बालुवाटारकी शान्ति महर्जन दाजु र भाउजूसँग सहज रूपमा कुराकानी गर्न सांकेतिक भाषा सिकेको सुनाउँछिन् । ‘हामीले बहिरा होस्टल चलाएका छौं, त्यहाँ पनि सहयोग गर्दै आएको छु,’ उनले भनिन् । रसुवाका रेशम लामा भर्खरै राजधानी झरेर व्यवस्थापन विषयमा कक्षा ११ मा भर्ना भएका छन् । उनी कान कम सुन्छन् । रुकुमको मुसिकोट नगरपालिका–१० स्थित प्रभात मावि, दोपाइका शिक्षक खडगबहादुर विक बर्खे बिदामा सांकेतिक भाषा सिक्न राजधानी आइपुगेका छन् । उनी कान कम सुन्छन् । 

चार वर्षदेखि निजी स्रोतबाट पढाउँदै आएका उनले सांकेतिक भाषा नजान्दा समस्या परेको बताए । ‘अरूलाई पनि सांकेतिक भाषा सिकाउने लक्ष्यसहित सिक्न आएको हुँ,’ उनले भने । पर्वतबाट आएकी लक्ष्मी शर्मा पनि कान सुन्दिनन् । उनी भर्खरै नक्सालस्थित बहिरा माविमा कक्षा ११ मा भर्ना भएकी छन् । भाषा प्रभावकारी बनाउन प्रशिक्षणमा सहभागी भएको उनी बताउँछिन् ।

सिन्धुपाल्चोककी तुलसी बजगाईं कक्षा १२ की छात्रा हुन् । सांकेतिक भाषा जानेपछि आफ्नै ठाउँमा फर्केर अरूलाई प्रशिक्षण दिने उनको योजना छ । नेपाल पत्रकार महासंघ, ओखलढुंगा शाखाका अध्यक्ष दीपेन्द्र रुम्दाली राईले भर्खरै सांकेतिक भाषा प्रशिक्षणको ६ महिने कोर्स पूरा गरेका छन् । ‘सहर बजारका बहिराले दोस्रो श्रेणीको नीलो अपांगता परिचयपत्र पाउँछन्,×’ बहिरा व्यक्तिको समस्या उठान गर्न सांकेतिक भाषा जान्नैपर्ने उल्लेख गर्दै उनी भन्छन्, ‘परिचयपत्रका आधारमा मासिक ६ सय रुपैयाँ सुविधा पनि लिन्छन् । तर गाउँघरमा बहिराले पाउने सुविधाबारे कुनै जानकारी छैन । उनीहरूकै हक–अधिकारको विषय उठान गर्न सांकेतिक भाषा सिकेको हुँ ।’

२०४५ सालमा स्थापित संघ देशकै एक मात्र नियमित सांकेतिक भाषा प्रशिक्षण दिने संस्था हो । संघले ६/६ महिनाको सांकेतिक भाषा प्रशिक्षण दिने गरेको अध्यक्ष सत्यदेवी वाग्लेले बताइन् । पढ्नका निम्ति साङ्गले ६ महिनाको ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । बहिरा प्रशिक्षार्थीले भने ६ महिनाको एकमुष्ट ३ हजार तिर्नुपर्छ, नसक्नेले नि:शुल्क प्रशिक्षण लिन्छन् । 

‘बजेट अक्षरमै सीमित’

सरकारले यस वर्ष बहिरा समुदाय र सांकेतिक भाषालाई पहिलोपटक बजेट वक्तव्यमा सम्बोधन गरेको छ । तर, बजेट भने छुट्याएको छैन । बजेटको ४३ औं बुँदामा छ, ‘नेपाली सांकेतिक भाषाको विकास तथा अनुसन्धान, दोभाषे तालिम र यसको व्यावसायिक विकासलाई प्रोत्साहित गरिनेछ ।’ राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केपी अधिकारी आयोगको सिफारिसलाई लिएर बजेटमा सम्बोधन गरिए पनि रकम विनियोजन नगरिएको बताउँछन् ।

कान्तिपुरमा गणेश राईले लेखेका छन् । 

प्रतिक्रिया