काठमाडौं २४ साउन / संघीय संसद्मा गठन भएका १४ विषयगत समितिमध्ये शिक्षा तथा स्वास्थ्य समितिको नेतृत्वमा सत्तारुढ दलका खगराज अधिकारी, हितबहादुर तामाङको चर्चा चलेको नयाँ पत्रिका दैनिकले छापेको छ ।
समिति शक्तिशाली हुने भएकाले आकांक्षी धेरै देखिएका हुन् । संसदीय समिति सभापतिले राज्यमन्त्रीसरह सुविधा पाउँछन् भने सरकारलाई अनुगमन र निर्देशन दिन्छन् ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिबाहेक अन्य नौ समिति र राष्ट्रिय सभाका चार गरी १३ वटा समितिको नेतृत्व सत्तारुढ दलले नै राख्ने तयारी भएको छ । प्रत्येक समितिमा सत्तापक्षकै स्पष्ट बहुमत छ । समितिको सभापति बहुमतप्राप्त उम्मेदवार विजयी हुने नियमावलीमा व्यवस्था छ ।
दुवै सदनमा गठन हुने विषयगत समितिमा कम्तीमा एकतिहाइ महिला सभापति हुने गरी सभापतिको निर्वाचन गर्नुपर्ने निर्देशन नियमावलीले दिएको छ । त्यसैले प्रतिनिधिसभामा सत्तारुढ दलले कम्तीमा तीन र राष्ट्रिय सभामा एक गरी चारवटा समितिको नेतृत्व महिला सांसदलाई दिनुपर्नेछ ।
संघीय समाजवादी फोरमलाई एउटा समितिको नेतृत्व दिएर प्रमुख सत्तारुढ दल नेकपाले अन्य सबै समितिको नेतृत्व लिनेबारे छलफल चलाएको छ । स्रोतका अनुसार फोरमकी सरिता गिरीलाई अन्तर्राष्ट्रिय समितिको नेतृत्व दिन सक्ने सम्भावना छ । राज्य–व्यवस्था समितिमा फोरमका राजेन्द्रप्रसाद श्रेष्ठलाई ल्याउने चर्चा पनि छ ।
सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दललाई दिने प्रचलन छ । तर, दिनैपर्ने बाध्यकारी कुनै नियम भने छैन । यद्यपि, सत्तारुढ नेकपा यो समितिको नेतृत्व कांग्रेसलाई दिने मनस्थितिमा रहेको स्रोतले बतायो ।
समितिको नेतृत्वमा कांग्रेसका भरत शाह मुख्य दाबेदार हुन् । तर, कांग्रेस नेता डा. मीनेन्द्र रिजालले चाहे सभापति बन्ने प्रायः निश्चित रहेको कांग्रेसका एक नेताले बताए । यद्यपि, पार्टीगत राजनीतिमा सक्रिय हुने भन्दै रिजालले सभापति पदका लागि मन नलगाएको स्रोतले बतायो ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले समिति सभापति चयनबारे अहिले नै छलफल भइनसकेको बताए ।
प्रतिनिधिसभातर्फका समिति र दाबेदार
अर्थ समिति : घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, महेश बस्नेत
कानुन, न्याय तथा मानवअधिकार समिति : कृष्णभक्त पोखरेल, राजेन्द्रप्रसाद गौतम
अन्तर्राष्ट्रिय सम्बन्ध समिति : अग्निप्रसाद सापकोटा, सुरेन्द्र कार्की, सरिता गिरी
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति : पूर्णाकुमारी सुवेदी, राधाकुमारी ज्ञवाली, छविलाल विश्वकर्मा, दलबहादुर राना
महिला तथा सामाजिक समिति : अमृता थापा, गंगा चौधरी सत्गौवा, गणेशसिंह ठगुन्ना, पार्वत गुरुङ, पवित्रा निरौला खरेल
राज्य–व्यवस्था तथा सुशासन समिति : जनार्दन शर्मा, पम्फा भुसाल, रेखा शर्मा, राजेन्द्रप्रसाद श्रेष्ठ
विकास तथा प्रविधि समिति : गणेश पहाडी, यज्ञराज सुनुवार, प्रभु साह, टेकबहादुर बस्नेत
शिक्षा तथा स्वास्थ्य समिति : खगराज अधिकारी, हितबहादुर तामाङ
सार्वजनिक लेखा समिति : भरत शाह, मीनेन्द्र रिजाल
राष्ट्रिय सभातर्फका समिति र दाबेदार
दिगो विकास तथा सुशासन : विमला राई पौड्याल, भैरवसुन्दर श्रेष्ठ, कालीबहादुर मल्ल
विधायन व्यवस्थापन समिति : पर्शुराम मेघी गुरुङ, शेरबहादुर कुँवर
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति : रामनारायण बिडारी, सुमनराज प्याकुरेल
राष्ट्रिय सरोकार तथा समन्वय समिति : कोमल ओली, दिलकुमारी रावल, पार्वती थापा, जीवन बुढा
नयाँ पत्रिकामा संसद्को कुन समितिमा को–को दाबेदार ? शिर्षकमा छापिएको खबरबाट
प्रतिक्रिया