काठमाडौं २० साउन / ठूल्ठूला कुरा गरेर फुर्सद नहुने समाजमा स–साना कमिलाको वास्ता कसलाई होला ? राजधानीलगायत सहरमा घचेटमचेट गर्दै हिँड्नुपर्ने अवस्था बेहोरिरहेका सर्वसाधारणलाई अनुशासित र पंक्तिबद्ध भएर लस्करै हिँडेका कमिलाबारे सोच्ने फुर्सद कहिले मिल्ला ?
धेरैलाई बेवास्ता भए पनि त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक इन्द्रप्रसाद सुवेदीलाई भने हरदम कमिलाकै बारेमा चासो छ । सुन्दा अचम्म लाग्न सक्छ, कमिलाकै विषयमा विद्यावारिधि गरिरहेका सुवेदी १२ वर्षयता निरन्तर त्यसैमाथि अध्ययन–अनुसन्धानमा केन्द्रित छन् ।
हामीले सोध्यौं, ‘यति साना कमिलामाथि त्यतिविधि अध्ययन गर्ने खाँचो किन पर्यो ?’ प्रश्न भुइँमा खस्न नपाउँदै उनले कमिलाको महत्त्व, यसमाथि अध्ययन गर्नुपर्नाको खाँचो र कमिलाबाट कसरी मान्छेले राम्रा कुरा सिक्न सक्छन् भन्नेबारे बताए । ‘नेपालमा कति प्रकारका कमिला छन् भन्नेबारे व्यवस्थित वर्गीकरण नै भएको छैन,’ उनले भने, ‘आलुमा लाग्ने रातो कमिलामाथि भने धेरथोर अध्ययन भएको छ ।’
सन् २००५ मा अमेरिकाका कन्जरभेसन इन्टरनेसनल र हावर्ड युनिभर्सिटीका १४ अनुसन्धानकर्मीले नेपालका जीव/वनस्पतिमाथि अध्ययन गरेका थिए । ५ नेपाली र ९ विदेशी अनुसन्धानकर्मीको टोलीमा सुवेदी पनि सामेल थिए । त्यहीबेला उनले कमिला पनि गम्भीर अध्ययन र अनुसन्धानको विषय रहेछ भन्ने थाहा पाए । त्यतिबेलाको अनुसन्धान विश्व प्रसिद्ध डिस्कभरी र एनिमल प्लानेटबाट पनि प्रसारण भएको थियो ।
उक्त अध्ययनलगत्तै उनले अस्ट्रेलिया र जापानका दुई विश्वविद्यालयमा कमिलामाथि छोटो अवधिको कोर्स पढ्ने मौका पाए । यसले उनको ज्ञानको दायरा मात्रै बढाइदिएन, कमिलामाथि कति धेरै अध्ययन गर्न बाँकी रहेछ भन्ने पनि थाहा पाए । नेपालमा एक सय ४४ प्रजातिका कमिला भएको पुष्टि भए पनि त्योभन्दा बढी भएको अनुमान सुवेदीको छ, जसलाई अध्ययनबाट पुष्टि गर्ने काम भएको छैन ।
भारतमा भने ८ सय ३५ प्रजातिका कमिला रहेको पुष्टि भएको छ । उनले भने, ‘हाम्रो भौगोलिक र जैविक विविधताका आधारमा कमिलाका धेरै प्रजाति छन् भन्ने सहजै अनुमान गर्न सकिन्छ ।’ कमिलाका प्रकार र यसबारे हुने खोजसम्बन्धी वेबसाइट एन्ट वेब डट ओआरजीमा इन्द्र र भारतको पन्जाब युनिभर्सिटीका अध्येता हिमेन्दर भारतीले नेपालका कमिलाबारे तयार पारेको डाटाबेस छ ।
उनका अनुसार उक्त डाटाबेसमा नेपालमा पाइने एक सय बीस थरी कमिलाबारे विस्तृत जानकारी छ । हालै मात्र थप २० प्रजातिका कमिला फेला परेको तर त्यसको प्राज्ञिक पुष्टि हुन बाँकी रहेको उनले बताए ।
विश्वमा ७ लाख ५० हजार प्रजातिका किरा छन् भने १६ हजार थरीका त कमिला मात्रै छन् । उनले कमिलाको महत्त्व बताउँदै भने, ‘प्रत्येक एक हजार किरामा एउटा कमिला पर्छ ।’ इन्द्रको अध्ययनले भन्छ, कमिला सामान्य किरा मात्रै होइन । फोहोर व्यवस्थापन गर्ने, परागसेचनमा भूमिका खेल्ने, माटो खुकुलो पारी वनस्पतिको जरालाई सिँचाइ र हावा लिन सजिलो पार्ने, वनस्पतिलाई हानि गर्ने किरा खाइदिनेजस्ता काम गर्ने कमिलाको गुन मान्छेले कहिले तिर्ला ? उनले भने, ‘खासमा कमिला कुसल इकोसिस्टम इन्जिनियर हुन् ।’
कमिलाबाट मान्छेले पनि धेरै कुरा सिक्ने सक्ने बताउँदै उनले केही तथ्य अगाडि सारे । कमिलाको गुँडको आर्किटेक्टबाट धेरै कुरा सिक्न सकिन्छ । जस्तो कि चीनमा भएको ओलम्पिक रंगशाला चराको गुँडको आर्किटेक्टबाट प्रभावित भएर बनाइएको थियो ।
हजारौं कमिला पनि गुँडबाट निस्कँदा बडो लय मिलाएर निस्कन्छन् । मान्छेजस्तो लेन मिचेर हिँडदैनन् । घन्चमन्च गर्दैनन्, ठेलमठेल पारेर निर्दोलाई पाखा धकेल्दैनन् । उनले भने, ‘कमिलाको ट्राफिक म्यानेजमेन्ट सिस्टमबाट हामीले सिक्न जरुरी छ ।’ हजारौं कमिला कसरी एकैचोटि अनुशासित भएर हिँड्न जानेका होलान् ? कसरी तिनीहरूले हिँडाइको चाल र लय मिलाएका होलान् ? उनले प्रश्नको भावमा भने, ‘मान्छेले त्यसो गर्न कहिले सिक्ला ?’
अन्टार्कटिकाबाहेक विश्वभर सबै महादेशमा पाइने कमिला नेपालमा भने एक हजार मिटरको तल्लो भेगदेखि ४५ सय मिटरको उचाइसम्म पाइएको देखिन्छ । यतिका धेरै भौगोलिक विविधता भएको देशमा कमिलामाथि भने निकै थोरै मात्र अध्ययन भएको उनको बुझाइ छ । सन् १९७० मा कलिङ उड नामक ब्रिटिस अध्येताले नेपालमा पाइने ३४ प्रकारका कमिलाको सूची एक अध्ययनमा प्रकाशित गरेका थिए । ती अध्येताले सन् १९६१ मा खुम्बु हिमाल क्षेत्रको भ्रमणपछि त्यस्तो सूची निकालेका थिए । इन्द्रले भने, ‘सम्भवत: यो नै नेपालका कमिलामाथिको पुरानो अध्ययन होला । त्यसयता संस्थागत र व्यवस्थित अध्ययन भएको देखिन्न ।’
‘दुनियाँले थाहा पाएको, तर खासै गहन अध्ययन नभएको विषय हो कमिला’ उनले गम्भीर स्वरमा भने, ‘कैयन् देशले आफ्नो मुलुकका कमिलाको प्याटेन्ट राइट दर्ता गरिसके । हामीले भने कमिलाको प्रकार कति छन् भन्ने पनि पत्तो लगाइसकेका छैनौं ।’ यही खनखनीले गर्दा उनले विश्वविद्यालयका आफ्ना विद्यार्थीलाई कमिलाको अध्ययनबारे भोक जगाउने काम गरिरहेका छन् । उनले भने, ‘अहिले ५ विधार्थीले स्नातकोत्तरको थेसिस कमिलामाथि गरिरहेका छन् ।’ कमिला पनि पढ्ने र अध्ययन गर्ने विषय हो भनेर बुझाउनै बाँकी रहेको ठान्ने इन्द्रले नेपालका सबै कमिलाको डाटा बेस तयार पार्ने सोचिरहेका छन् । आफ्नो विद्यावारिधि अध्ययनका क्रममा कमिलाबारे थप नयाँ तथ्य पत्ता लगाउने आस पनि उनले
गरेका छन् ।
कुराकानीको अन्त्यमा हामीले सोध्याैं, ‘खासमा बिर्को लगाएको भाडामा रहेको चिनीमा कमिला चाहिँ कसरी पस्यो सर ?’ उनले हाँस्दै भने, ‘तपाईंले यो सोध्नुहोला भन्ने मैले पहिल्यै अनुमान गरेको थिएँ ।’ खासमा चिनीभित्र कमिला उत्पत्ति हुने होइन । उनले अथ्र्याउने शैलीमा भने, ‘चिनीमा रहेका स–साना कमिलाका फूल उचित तापक्रम पाएर कमिला तयार हुने हो । यसमा त्यस्तो जादु र रहस्य केही छैन ।’
कमिलाबाट सिक्ने कला शिर्षकमा कान्तिपुरमा जनकराज सापकोटाले लेखेका छन् ।
प्रतिक्रिया