काठमाडौं - शिक्षक सेवा आयोगले शिक्षक नियुक्ति गर्न खुल्ला विज्ञापन गरे सँगै शहर बजारमा तयारी कक्षा भन्दै वर्गेल्ती ट्युसन सेण्टर खुलेका छन् । ती सेण्टरमा शिक्षा सेवामा कार्यरत कर्मचारीहरुलाई कक्षा लिन भ्याई नभ्याई छ ।
तर हिजो आज त्यहाँ एउटा प्रश्न गम्भिर रुपमा खडा भएको छ – नेपालको विद्यालय संरचना के हो ?
यसको सपाट उत्तर फेला नपरेर विद्यार्थी हैरान भए पछि वानेश्वरमा सञ्चालित एक ट्युसन सेण्टरका सञ्चालक झन् ठूलो आपत्मा परेका छन् ।
उक्त संस्थामा पढाउन बोलाईएका पाठयक्रम विकास केन्द्रका एक अधिकृतले विद्यालयको संरचना ९+४ भनेर पढाए ।
विद्यार्थीले सोधे – सर ऐनमा त आधारभूत ८ सम्म र माध्यमिक ९ बाट १२ भन्छ नि !
उनले झर्केर भनेछन् – कता कता के के लेखेको छ बरालिएर हुन्छ ? पाठ्यक्रम बनाउने मध्ये एक जना म पनि हो । मैले भनेकै लेख्नु !
परीक्षा दिने विद्यार्थीका लागि उनको जवाफले पनि स्पष्ट हुँदैन भन्छन् शिक्षा सेवाकै अर्का कर्मचारी । अहिले परीक्षा दिने विद्यार्थीलाई सपाट उत्तर चाहिएको छ ।
परीक्षा तयारीका लागि भन्दै प्रकाशित सहयोगी पुस्तकहरुमा भिन्दा भिन्दै लेखिएको छ । कसैले १+८ + ४ लेखेका छन् । कसैले ८+४ लेखेका छन् । कसैले ०+८+४ लेखेका छन् । त कसैले कानुनको व्याख्याता आफै बनेर तीनै प्रशिक्षकले जस्तो ९ र ४ पनि लेख्न भ्याएका छन् ।
तर ९ र ४ हुनै सक्दैन भन्ने तथ्य विद्यार्थी आफैले पनि थाहा पाउन सक्छन् । शिक्षा ऐनको परिभाषाले आधारभूत तहमा ८ सम्म र माध्यमिक ९ बाट भने पछि संरचनामा दुईवटा ९ हुँदैनन् भन्ने थाहा पाउन प्रतिस्पर्धाको तयारी गर्नेले आफैं पनि बुद्धि लगाउनु पर्छ भन्छन् शिक्षाकै अर्का कर्मचारी ।
शिक्षा ऐनको आठौं संशोधनमा विद्यालयको परिभाषामा आधारभूत र माध्यमिक हुने ब्यवस्था छ । उक्त ऐनमा भएको ब्यवस्था अनुसार आधारभूत शिक्षा भन्नाले प्रारम्भिक देखि कक्षा ८ सम्म बुझ्नु पर्ने बताउँछन् शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठ प्रसाद अर्याल ।
'१ बर्षको प्रारम्भिक बाल शिक्षा र कक्षा १ – ८ आधारभूत शिक्षा हो । प्रारम्भिक शिक्षा १ बर्षको र १–८ को उमेर ९ बर्ष हो । माध्यमिक शिक्षा कक्षा ९ – १२ हुने ऐनमै ब्यवस्था छ' उनले भने, 'जसको उमेर १३ –१६ हो । एसएसडीपी र ऐनमा उक्त ब्यवस्था समान छ । ऐन भन्दा तल माथि भन्ने कुरै भएन । निर्माणको चरणमै रहेको पाठ्यक्रम प्रारुप पनि ऐनको उक्त ब्यवस्थाकै बिचमा रहेर बन्नु पर्छ ।'
बालविकासलाई कक्षा मानिदैन, त्यो विद्यालयका लागि तयारी गराउने हो । सँगै पूर्व प्राथमिक शिक्षा संरचनामा ल्याएता पनि यो कसैका लागि अनिवार्य नभएकाले पूर्व प्राथमिक शिक्षा सहितको ८+४ भन्नु सबै भन्दा श्रेयस्कर हुने तर्क पनि बलियो छ ।
परीक्षामा तथ्यका बारेमा लेख्ने कुरालाई तर्कका आधारमा समाधान खोज्नु आफैंमा अलमल पार्ने कुरा हो ।
आयोगको परीक्षाको कापी जाँच्नेले यस विषयलाई कसरी व्याख्या गर्ने हुन् र के विकल्प बनाउने हुन् त्यसमा चिन्ता छ धेरैको । शिक्षा ऐनले प्रारम्भिक बाल शिक्षा देखि कक्षा ८ भनेको सन्दर्भमा बाल शिक्षालाई जिरो मान्ने कि नमान्ने एउटा सन्दर्भ फेरी आउँछ । ० कक्षा त हुँदैन तर संरचनामा कक्षा १ भन्दा अगाडिको एक वर्ष भनिएको हुनाले यसलाई ० मान्न सकिने देखिन्छ । शिक्षा मन्त्रालयको शैक्षिक सूचना २०७३ मा कक्षा ० मा प्रारम्भिक बाल विकासलाई राखिएको छ ।
आयोगको परीक्षामा संरचना ० + ८ + ४, वा ८+४ के हो स्पष्ट पार्नु पर्ने खाँचो छ । शिक्षा ऐनले पूर्व प्राथमिक सहितको ८ र ४ भन्छ । आयोगका परीक्षार्थीलाई संरचना मात्रले पुग्ने छैन । आन्तरिक परीक्षामा सोधेको विद्यालय शिक्षा कति वर्षको भन्ने प्रश्नको उत्तर चाहिएको छ र सँगै भोलि सोध्यो भने कुन विकल्प छान्ने भन्ने चाहिएको छ ।
बाल शिक्षा देखि त १३ वर्ष हुनुपर्ने तर बालविकास शिक्षा अनिवार्य नभएको र बाल शिक्षा नपढी विद्यार्थी कक्षा १ मा भर्ना हुन पाउने भएकाले विद्यालय शिक्षा पनि १२ वर्ष नै भन्न सकिन्छ । तर कुनै विद्यार्थीले बढीमा कति वर्ष विताउँछ भनेर सोधियो भने एक विद्यार्थीले विद्यालय शिक्षामा विताउने वर्ष १३ हो भने विद्यालय शिक्षा १२ वर्षको हो भन्न सकिन्छ ।
अहिले शिक्षा मन्त्रालय र यसका विभिन्न निकायका कर्मचारी मात्र होइन गाउँ घर तिर माध्यमिक तहका शिक्षक, स्रोत व्यक्ति र क्याम्पसका प्राध्यापकहरुका लागि पनि शिक्षक सेवा आयोगले राम्रो काम जुटाइदिएको छ, ट्युसन पढाउने । कागज भारत बाटै आयात भए पनि प्रेसहरु चलायमान भएका छन् । प्रेसले काम पाएका छन् । पुस्तक पसलहरुमा ग्राहकलाई पुस्तक बेच्न भ्याइ नभ्याइ छ । विद्यार्थी कसको किताब पढ्ने होला भनेर अलमलमा छन् । देशभर खुलेका ट्युसनरकोचिङ सेण्टरले एक प्रकारमा अर्थतन्त्र नै चलायमान बनाएको छ । शहरका होटल, होस्टल, फोटोकपी सेण्टर मात्र होइन जिल्लामा रहेका सेण्टरहरुले काठमाडौंबाट विज्ञ बोलाएर कक्षा चलाउने भएपछि एयरलाईन्सहरु समेतले यसको फाइदा लिन भ्याएका छन् ।
उत्कृष्ट शिक्षक छनौट गर्ने दौडमा शिक्षक सेवा आयोगले संसारकै नमूना पाठ्यक्रम प्रकाशन गरेको छ । संसारका १३ वटा देशको शैक्षिक संरचना र नीति मात्र होइन प्रधनाध्यापकको सरुवा कसले गर्छ भन्ने देखि सन् १८२९ मा कुनै व्यक्तिले प्रयोग गरेको अनुसन्धानको विधि समेत जानेको मान्छे चाहिन्छ भन्ने आधारमा आयोगको पाठ्यक्रम बनेको छ ।
दुई सय पेजको कुनै दस्तावेज पुरै पढेर कण्ठ पार्दा पनि त्यसबाट एउटा प्रश्न आउछ आउँदैन थाहा छैन । माध्यमिक तहले देशमा बनेका ६ वटा विभिन्न समिति वा आयोगका प्रतिवेदनबाट चार प्रश्न सोधिने छ । यसैले पनि सबै कुरा जान्न विभिन्न ट्युसन सेण्टरमा विद्यार्थीको भीड छ ।
वेराजगारीको डरलाग्दो अवस्था र करिब सातलाखभन्दा बढीले अध्यापन अनुमति पत्र लिएको अवस्था खुलेको सरकारी स्थायी शिक्षक बन्ने अवसर समाउन विद्यार्थी शहर केन्द्रित भएका छन् ।
तर, पाठ्यक्रम कसरी बनेको हो, कक्षा कोठामा राम्रो पढाउन सक्ने मान्छे चाहिएको हो वा बजारका किताब कण्ठ पार्ने मान्छे चाहिएको हो आयोगको पाठ्यक्रम विश्लेषण गर्दा अन्यौलमा पर्ने अवस्था छ ।
पढ्नुहोस् : शिक्षक आयोगको पाठ्यक्रम : योग्यलाई अल्मल्याउने ध्येय त हैन !
शिक्षक सेवा आयोगको नियमावलीको नियम १८ (२) मा लिखित परीक्षा उत्तीर्ण गर्न ३५ नम्बर चाहिने ब्यवस्था छ, तर शिक्षा ऐनले पास मार्क ४० भन्छ !
ऐनका अनुसार र नियमावलीका अनुसार भनेर किटेरै पास मार्क कति हो भनेर सोधे त परीक्षार्थीले त्यही अनुसार लेख्लान्, नछुट्याई सोधेमा के लेख्ने !
अर्कोतिर त्यस्ता ट्युसन सेण्टरमा पढ्न आएका विद्यार्थी माथि यस्ता तथ्यले पारेका हैरानीका कथाको सूची लामै बन्दै छ ।
पुतली सडकको एउटा ट्युसन सेण्टरमा पढाउन पुगेका मन्त्रालयका एक उप सचिवले पहिलो परीक्षा नियन्त्रक हरमणी आचार्य भनेर पढाएछन् ।
विद्यार्थीले हामीले त नन्दराम उप्रेती पढेका थियौँ भनेछन् !
तिमीहरुले पढेर हुन्छ, मैले हरमणी आचार्य भने पछि त्यही हो !
यही जिज्ञासाले पिरोलिएका विद्यार्थीले अर्को दिन पढाउन आएका शिक्षाकै अर्का हाकिमलाई सोधे – पहिलो परीक्षा नियन्त्रक को हो सर ?
उनले भने – नन्दराम उप्रेती !
विद्यार्थी अलमलिएको देखेर उनले भनेछन् – कसैले इतिहास फेरेर फेरिन्छ !
तर, परीक्षा तयारीमा रहेका विद्यार्थी मन मनै प्रश्न गर्न थालेका छन् – हामी के लेखौं ? हाम्रो कापी कस्ताले जाँच्ने होला ?
प्रतिक्रिया