Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

मेसिनबाट कापी जाँच्ने शिक्षक आयोगको तयारी

मंगलबार, १५ साउन २०७५

भक्तपुर - शिक्षक सेवा आयोगले परीक्षार्थीको उत्तर पुस्तिका मेसिनबाट जाँच्ने प्रविधि ब्यवस्था गर्ने तयारी गरेको छ । वस्तुगत प्रश्नहरुको उत्तरपुस्तिका परीक्षणका लागि अप्टिकल मार्क रिडर (ओएमआर) मेसिन भित्र्याउने गरी अध्ययन शुरु गरेको आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए । 

अब खुल्ने विज्ञापनमा सहभागी हुने परीक्षार्थीबाट उक्त प्रविधि प्रयोग गर्न सकिने गरी अध्ययन अघि बढाएको उनले बताए । परीक्षालाई चुस्त र परीक्षणमा त्रुटि कम गर्ने तथा लाग्ने समय बचत गरी छिटो नतिजा निकाल्न प्रविधि भित्र्याउने योजना बनाएको उनको भनाई छ । यसका लागि आयोगले आन्तरिक तयारी गरेको उनले बताए । यस अघि नै शिक्षा मन्त्रालयले एमविविएस परीक्षाको कापी परीक्षण गर्नका लागि ल्याएको मेसिन खाली रहेकोले त्यही मेसिन प्रयोग गर्ने गरी मन्त्रालयसँग कुरा अघि बढाएको उनले बताए । 

'प्रविधिका हिसावमा यो नयाँ कुरा त हैन, यस अघि यही प्रविधि लोकसेवा आयोगले प्रयोग गर्दै आएको छ, हामी पनि त्यही प्रविधि ल्याउने सोचमा पुगेका हौं' उनले भने, 'शिक्षा मन्त्रालयमा खाली बसेको प्रविधि जडान र त्यसका लागि आवश्यक पेपर तथा केही जलिष्टिक खर्च बाहेक ठूलो भार पर्ने कुरा पनि हैन ।' 

मन्त्रालयलाई उक्त मेसिन उपलब्ध गराएकै कम्पनीका प्रतिनिधिसँग जडान गर्दा लाग्ने लागत र आवश्यक अन्य पक्षहरुका बारेमा आयोगले केही चरणको छलफल गरेको गौतमले बताए । 

मेसिनबाट परीक्षण हुने उत्तर पुस्तिकाको हकमा कलमको प्रयोग गर्नु हुँदैन । यसको प्रयोगका बारेमा परीक्षार्थीहरुलाई छुट्टै जानकारी दिने गरी आयोगले योजना बनाउने गौतमले बताए ।  

 

प्रतिक्रिया