काठमाडौं १५ साउन / शैक्षिक प्रमाणपत्रको विावदका कारण प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाई लम्बिदैं गएको छ ।
जोशीले नेपाल ल क्याम्पसबाट आइएल पास गरेको प्रमाणपत्र पेस गरेका छन् । तर, सो प्रमाणपत्रमा उनले प्रवेशिका परीक्षा नेपाल राष्ट्रिय विद्यापीठबाट होइन, विजय मेमोरियल स्कुलबाट पास गरेको उल्लेख छ । विजय मेमोरियलको सिम्बोल नं। पनि ३६६७ नै उल्लेख छ । त्यसैले जीवनको सबैभन्दा महत्वपूर्ण परिस्थितिमा जोशी आफ्नै प्रमाणपत्रको जालोमा फसेका छन् ।
नयाँ पत्रिकामा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी संकटमा शिर्षकमा कृष्ण कट्टेल र निराजन पौडेलले रोकिएको संसदीय सुनुवाईको निर्णय र त्यस भित्रका विभिन्न पक्षहरुलाई केलाएर खबर लेखेका छन् ।
उक्त खबर अनुसार :
प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई अनुमोदन नगर्न संसदीय सुनुवाइ समितिमा नेकपाका सदस्यले सहमति मागेपछि कांग्रेसले दुई दिन पर्खन भनेको छ । दुई रातमा अग्राख नपलाए जोशी प्रधानन्यायाधीश बन्ने सम्भावना टरेको छ । किनकि, सत्तारुढ गठबन्धनसँग मात्रै पनि समितिमा दुईतिहाइ छ ।
पार्टी नेतृत्वसँग छलफल गर्ने कांग्रेस सांसदको आग्रहपछि सुनुवाइ समितिको बैठक बुधबार अपराह्न ३ बजेसम्मका लागि स्थगित भएको छ । मंगलबार कांग्रेसले सबै जिल्लामा आन्दोलन गर्ने कार्यक्रम राखेकाले बैठक बुधबारसम्मका लागि स्थगित गरिएको कांग्रेस सांसद एवं समिति सदस्य भीमसेनदास प्रधानले बताए ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका जोशीको संसदीय सुनुवाइ भने गत बिहीबार नै सकिएको छ । सुनुवाइ सकिएर निर्णय गर्न शुक्रबार र आइतबार बैठक बोलाइए पनि छलफलविना नै स्थगित गरिएको थियो । सोमबार भने जोशीलाई सर्वसम्मत अस्वीकृत गर्दै नयाँ प्रधानन्यायाधीशको खोजी गर्ने निचोडमा सत्तारूढ दल पुगेपछि कांग्रेसले समय मागेको हो ।
ज्येष्ठ सदस्यका रूपमा समितिको अध्यक्षता गरेका लक्ष्मणलाल कर्णले सहमतिकै आधारमा बैठक सारिएको बताए ।
सत्तारूढ नेकपाबाट संसदीय सुनुवाइ समितिमा रहेका नौ सांसदले बैठकअघि पार्टीका नेतासँग छलफल गरे । संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टी उपनेता सुवास नेम्वाङ, पूर्व महान्यायाधिवक्ता हरि फुँयाल, अधिवक्ता टीकाराम भट्टराई, नेकपाका प्रमुख सचेतक देव गुरुङ र नेकपाबाट सुनुवाइ समितिमा रहेका सदस्यबीच छलफल भएको हो ।
स्रोतका अनुसार त्यसअघि समिति सदस्यले प्रधानमन्त्री एवं दलका नेता केपी ओलीसँग पनि छलफल गरेका थिए । विभिन्न चरणका छलफलपछि सके सर्वसम्मत नभए दुईतिहाइबाट अस्वीकृत गर्ने निर्णयमा नेकपा पुगेको हो ।
प्रधानन्यायाधीशका रूपमा आफु अनुमोदन हुने अनिश्चित भएपछि कामु प्रधानन्यायाधीश जोशी सर्वोच्च अदालत गएका छैनन् । आइतबारदेखि अदालत नगई बालुवाटारस्थित निवासबाट पेसी तोकिरहेका छन् ।
तनहुँका गोपाल पराजुली र काठमाडौंका दीपकराज जोशी, तर एसएलसी वीरगन्जको एउटै विद्यालयबाट
-उमेर र शैक्षिक प्रमाणपत्रको विवादमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले असामयिक अवकाश लिनुप-यो । तर, पराजुलीको बिदाइसँगै कायममुकायम जिम्मेवारी लिएका र प्रधानन्यायाधीशमा प्रस्तावितसमेत भएका दीपकराज जोशीसमेत शैक्षिक प्रमाणपत्र विवादमा परेका छन् ।
-पराजुली तनहुँका हुन् भने जोशी काठमाडौंका । आश्चर्य ! दुवैले वीरगन्जको नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका परीक्षा पास गरेको प्रमाणपत्र पेस गरेका छन् । अझ दुवैले एउटै साल अर्थात् २०२९ मा तृतीय श्रेणीमा एसएलसी उत्तीर्ण गरेको देखिन्छ । तर, आश्चर्य, एउटै विद्यालयका र एउटै ब्याचका पराजुलीको सिम्बोल नं. ११७ छ भने जोशीको ३६६७ छ ।
प्रतिक्रिया