काठमाडौं - त्रिभुवन विश्वविद्यालयले परीक्षामा संलग्न हुने जनशक्तिलाई दिईदैं आएको पारिश्रमिकमा सतप्रतिशत वृद्धि गरेको छ । गत साउन २ गते बसेको कार्यकारी परिषद्को बैठकले पारिश्रमिक बढाउने निर्णय गरेको हो । बढेको उक्त पारिश्रमिक साउन ६ गतेदेखि सञ्चालन भईरहेको चार वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षा देखि नै लागु गरिएको छ ।
संशोधित पारिश्रमिकमा स्नातक तथा प्रविणता प्रमाण पत्र तहको परीक्षामा केन्द्रध्याक्षको लागि रु. ४ सय ५० बाट बढाएर ८ सय, सहायक केन्द्राध्यक्षको रु. ३ सयबाट बढाएर ६ सय, पर्यवेक्षकको ३ सयबाट वृद्धि गरी रु. ६ सय, निरीक्षकको रु. २ सय ५० बाट वृद्धि गरी ५ सय कायम गरिएको छ । कम्तिमा २१ जना विद्यार्थी बराबर १ जना निरीक्षकको व्यवस्था हुनेछ ।
त्यस्तै परीक्षा शाखाहरुमा कार्यरत कर्मचारीको पारिश्रमिक एक सयबाट वृृद्धि गरी २ सय कायम गरिएको छ भने सुरक्षाकर्मीहरुको लागि ६० रुपैयाँ रहेकोमा अब प्रति सुरक्षाकर्मी रु. एक सय तोकिएको छ । यसैगरी कार्यालय सहयोगीहरुको लागि ७५ रुपैयालाई वृद्धि गरी १ सय ५० रुपैया प्रतिदिन पारिश्रमिक कायम भएको छ ।
यसैगरी स्नातकोत्तर तहको परीक्षा सञ्चालनमा हुने खर्चमा पनि हेरफेर भएको छ । जसमा केन्द्राध्यक्षको रु. ६ सयबाट वृद्धि भई एक हजार, सहायक केन्द्राध्यक्ष र पर्यवेक्षकको रु. ४ सयबाट वृद्धि भई ८ सय, निरीक्षकको रु. ३ सयबाट वृद्धि गरी ६ सय कायम गरिएको छ । यसमा पनि २१ जना विद्यार्थी बराबर एक जना निरीक्षक रहने व्यवस्था छ ।
परीक्षा सञ्चालनमा संलग्न कर्मचारीको हकमा रु. १ सय २५ रुपैयाबाट वृद्धि गरी २ सय ५० रुपैया, सुरक्षाकर्मीहरुको लागि रु. ६० बाट वृद्धि गरी रु. एक सय र कार्यालय सहयोगीहरुको लागि रु. ८० बाट वृद्धि गरी रु. १ सय ६० रुपैया पारिश्रमिक कायम गरिएको छ । यो पारिश्रमिक वार्षिक प्रणाली अनुसारको परीक्षामा मात्र लागु हुने त्रिविले जनाएको छ ।
९ बर्ष पछि त्रिविले आफू अन्र्तगत सञ्चालन हुने वार्षिक परीक्षाहरुमा संलग्न शिक्षक, कर्मचारी तथा सुरक्षा कर्मचारीहरुको पारिश्रमिक सम्बन्धी व्यवस्थामा हेरफेर गरेको हो । उक्त संशोधन केन्द्रिय परीक्षा सञ्चालक समितिको सिफारिसका आधारमा गरिएको त्रिविले जनाएको छ ।
प्रतिक्रिया