भक्तपुर - गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षामा प्राथमिक तहमा आवश्यक भन्दा ८ सय ४२ कमले मात्रै प्रतिस्पर्धा गरेका छन् । प्राविका लागि आवश्यक १६ हजार ५ सय ३२ पदका लागि १५ हजार ६ सय ९० जना मात्रै परीक्षामा सहभागी भएका हुन् ।
कूल २२ हजार ७६ पदका लागि भएको उक्त परीक्षाको तिनै तहमा समग्रमा सहभागी हुने परीक्षार्थीको संख्या भने १ सय ५९ ले बढि छ । परीक्षामा कूल २२ हजार २ सय ३५ जना सहभागी भएका आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए ।
निमाविका लागि आवश्यक ३ हजार २ सय ३४ पदका लागि ३ हजार ५ सय ७५ जनाले प्रतिस्पर्धा गरेका छन् ।
यस्तै २ हजार ३ सय १० पद रहेको मावि तहमा २ हजार ९ सय ७० जनाले प्रतिस्पर्धा गरेका छन् ।
उक्त परीक्षाका लागि तिनै तहमा गरी २३ हजार २ सय ८६ अस्थायी शिक्षकको आवेदन परेको थियो ।
आवश्यक मध्ये कम पदमा प्रतिस्पर्धा भएर बाँकी रहेको पद खुल्लामा जाने छ । अहिले खुलेको खुल्लाको विज्ञापनको परीक्षा सकिए पछि आयोगले यसै बर्षको अन्त्य सम्ममा यी सबै पदलाई मिलाएर खुल्ला विज्ञापन गर्ने योजना बनाएको छ ।
यसैविच उक्त परीक्षाको नतिजा प्रकाशनका लागि आवश्यक प्रकृया शुरु भएको गौतमले बताए । बिचमा कुनै ठूलै बाधा नआएमा दशैं अघि नै नतिजा निकाल्ने योजना बनाएको उनले बताए ।
'अहिले कापी कोडिङ्को काम शुरु भएको छ, यसलाई डबल कोडिङ् गरेर परीक्षणको लागि तयार बनाईन्छ' उनले भने, 'विचमा खुल्लाको परीक्षा पनि भएकोले केही समय डिस्टर्भ हुन्छ की भन्ने अनुमान हो, तै पनि हामीले दशैं अघि सम्म नतिजा निकाल्ने योजना अनुसार काम गरिरहेका छौं ।'
आयोगले तोकेका सय भन्दा धेरै परीक्षकले आयोगमै बसेर कापी परीक्षण गर्ने छन् ।
यसैविच कतिपय अस्थायी शिक्षकले दोहोरो अथवा आफू योग्य नहुने वर्गको परीक्षा समेत दिएको हुन सक्ने अनुमानमा आयोगले उक्त तथ्याङ्कलाई अझै मिहिन तरिकाले केलाउने काम गरिरहेको श्रोतले जनाएको छ ।
संविधान जारी हुनु अघि माविमा कार्यरत अस्थायीले विचको परीक्षाबाट निमाविमा स्थायी भईसक्दा पनि माविकै परीक्षा दिएको हुन सक्ने अड्कल काटेर आयोगका कर्मचारीले रुजु गरिरहेका छन् । संविधान जारी हुनु अघि दरबन्दीमै रहेका तर संविधान जारी भएपछि उक्त पदमा नियुक्त भई आएपछि राहतमा कार्यरत शिक्षकको हकमा पनि यस्तो समस्या हुन सक्ने अड्कल काटिएको छ ।
आयोगले आफू कार्यरत पदकै आधारमा मात्रै फारम भर्न सूचना गरे पनि केही परीक्षार्थीले एक तह भने पनि बढि हाल्छ भन्ने लोभमा त्यस्तो गरेको हुन सक्ने अनुमानका आधारमा मिहिन छानविन गरेको उक्त श्रोतले जनाएको छ ।
प्रतिक्रिया