काठमाडौं १२ साउन / प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्र विवादमा परेपछि संसदीय सुनुवाइ विशेष समितिको बैठक दुई दिन पर सरेको छ। विवादित शैक्षिक प्रमाणपत्रबारे जोशीबाट स्पष्ट जवाफ नआएको भन्दै समितिले उनको विषयमा निर्णय गर्न ‘अप्ठ्यारो’ परेको भन्दै शुक्रबारलाई पूर्वनिर्धारित बैठक आइतबारसम्मका लागि स्थगित गरेको छ।
अन्नपूर्ण पोष्टका अनुसार शैक्षिक प्रमाणपत्रलगायत जोशीसमेतको इजलासले गरेका अधिकांश फैसला/आदेश विवादमा परेको भन्दै समितिले बिहीबार जोशीसँग छलफल गरेको थियो। तर जोशीले समिति बैठकमा ‘चित्तबुझ्दो’ जवाफ नदिएको भन्दै अब के गर्ने भन्नेमा अन्योल देखिएकाले बैठक स्थगित गरिएको समितिका एक सदस्यले बताए। ‘प्रधानमन्त्रीलगायत सरकारले के भन्छ, त्यसअनुसार समिति अघि बढछ’, ती सदस्यले भने। शुक्रबार पूर्वनिर्धारित बैठक सत्तासीन नेकपाका सांसदको आग्रहमा स्थगित गरिएको थियो।
१५ सदस्यीय समितिलाई दुईतिहाइका आधारमा सिफारिसलाई अस्वीकृत गर्ने अधिकार छ। ४५ दिनभित्र सुनुवाइ गरिसक्नुपर्ने सीमा तोकिए पनि जोशीको नाम ढिलो गरी मात्र आएकाले अझै समय बाँकी रहेको भन्दै समितिमा रहेका नेकपा सम्बद्ध सांसदले थप अनुसन्धान गर्नुपर्ने धारणा राख्दै आएका छन्।
‘शैक्षिक प्रमाणपत्र नै विवादमा परेपछि समितिले आँखा चिम्लिएर स्वीकृत गर्न सक्दैन’, समितिमा रहेका नेकपासम्बद्ध एक सांसदले भने। यसअघि जोशीको शैक्षिक प्रमाणपत्र विवादमा परेपछि विज्ञ बोलाएर छलफल गर्नुपर्ने प्रस्ताव नेकपा सम्बद्ध सांसदले गरे पनि कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अस्वीकार गरेका थिए। विज्ञको छलफलबिनै समितिले जोशीसँग उजुरीबारे छलफल गरेर निर्णय गर्न शुक्रबार बैठक बोलाएको थियो।
जोशीको प्रवेशिका र आईएलको शैक्षिक प्रमाणपत्र विवादमा छ। २०२९ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका जोशीको वीरगन्जस्थित विद्यापीठको शैक्षिक प्रमाणपत्र छ। तर सोही सिम्बोल नम्बरको प्रमाणपत्र काठमाडौंस्थित विजय स्मारक विद्यालयको रहेको भन्दै न्यायपरिषद्बाट समितिमा अर्को प्रमाणपत्र पेस भएको छ।
‘प्रधानन्यायाधीश जस्तो व्यक्ति शैक्षिक प्रमाणपत्रको विवादमा पर्नुहुन्न भनेर समितिले निर्णय ‘होल्ड’ गरेको हो’, समिति स्रोतले भन्यो, ‘अब उहाँ (जोशी)को प्रमाणपत्रमा थप अनुसन्धान गर्ने कि के गर्ने भन्नेमा टुंगो छैन। पर्सि (आइतबार) सम्म कुनै न कुनै निष्कर्षमा पुग्न सकिएला भन्ने विश्वास छ।’ जोशीबारे उच्च राजनीतिक नेतृत्वबीच पनि छलफल भइरहेको स्रोतले बतायो।
अन्नपूर्ण पोष्टमा प्रकाशित
प्रतिक्रिया