Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

गुरु पूर्णिमा : गुरु प्रति सम्मान साथ मनाइँदै

शुक्रबार, ११ साउन २०७५

काठमाडौं - गुरु प्रति सम्मान प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । हिन्दु धर्म अनुसार आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुलाई सम्मान ब्यक्त गरी गुरु पूर्णिमा पर्व मनाईन्छ ।

ज्ञानरुपी प्रकाशले अज्ञान रुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्र शास्त्र र धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आज विद्यालय एवम् विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धा भाव प्रकट गर्दैछन् ।

गुरुलाई शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा मानेको छ । ब्रह्मा, विष्णु र महेश्वरले समाधान गर्न नसकेको समस्यालाई गुरुले समाधान गर्न सक्छन् भन्ने शास्त्रीय मान्यता छ । 
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । 

यस वर्ष पूर्णिमा व्रत र व्यास पूजा एवम् गुरु पूर्णिमा एकै दिन परेको छ । आजकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।

वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । 

व्यासले पुराण र उपपुराणका माध्यमबाट अरूको उपकार गरे धर्म हुन्छ एवं अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन् ।

प्रतिक्रिया