काठमाडौं - चिकित्सा शिक्षाका वेथिती विरुद्ध अनसनरत डा. गोविन्द केसीको माग सम्बोधनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रिय सभा बैठक पनि अवरुद्ध गरेको छ । बुधबार विहान ११ बजे बसेको बैठक शुरु हुना साथ काँग्रेसका सांसद बद्री पाण्डेले सरकार दुई तिहाईको दम्भबाट अघि बढेको भन्दै केसीका माग सम्बोधन विना बैठक चल्न नदिने बताए ।
पूर्ववर्ती सरकारले ल्याएको अध्यादेश पारित गर्नु पर्ने संबैधानिक प्रावधान तोडमोड गरेर सरकारले बङ्ग्याउने चेष्टा गरेको आरोप लगाउँदै उनले २६ दिन देखि अननरत केसीको खस्कदों अवस्थामा पुगेको भन्दै चिन्ता ब्यक्त गरे । सरकारले मंगलबारबाट केसीसँग शुरु गरेको वार्ता दुर्गम ठाउँमा मेडिकल कलेज खोल्ने, विद्यार्थीले न्यूनतम शुल्कमा पढ्न पाउने र काठमाडौंमा थप मेडिकल कलेज आवश्यक नभएको बारेमा माथेमा कार्यदलले दिएको प्रतिवेदनका आधारमा अघि बढ्न माग गरे ।
'पूर्ववर्ती सरकारले ल्याएको अध्यादेशलाई कानून बनाउने गरी वार्ता त्यतै तिर उन्मुख होस्' उनले माग गरे ।
यस्तै गरी उनले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली छात्राहरु प्रति ब्यक्त कानून मन्त्रीको धारणाले महिला विद्यार्थी प्रति आँच आउने गरी अभिभावक र विद्यार्थीलाई प्रताडना दिएको भन्दै उनको रााजिनालाई सकारात्मक रुपमै लिएको उल्लेख गरे ।
तर कानून मन्त्री भन्दा अघि नै सोही विषयमा सार्वजनिक अभिब्यक्ति दिएका झापाको मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईलाई सरकारले कारवाही नगरी छाडा छाडेको भन्दै उनले आपत्ति जनाए ।
'धेरै पहिले एक जना अस्पताल ब्यवसायीले त्यो भन्दा पनि अझ निकृष्ट भाषामा छात्राहरु माथि आरोपित गर्ने गरी उनीहरुको चरित्रमाथि प्रश्न उठाउने गरी जुन कुरा उठाउनु भएको छ अहिले सम्म सरकारले उनलाई छाडा रुपमा छाडेको छ कारवाहीको कुनै कदम चालेको छैन । कानूनी दायरामा ल्याउने कुनै कोशिस गरेको छैन । उन्मुक्ति दिएको छ' प्रसाईको नाम नलिईकन उनले भने 'उनलाई तुरुन्त कानूनी दायरामा ल्याएर कडा कारवाही गर्न सभामुख मार्फत् सरकारको ध्यानाकर्षण गर्दछु ।'
यसैगरी जुम्लामा अनसनरत डा. केसीलाई काठमाडौं ल्याउने भन्दै सरकारले गरेको ब्यवहारको सही तथ्य छानविन गर्न पनि माग गरे । उक्त घटना छानविन गर्न सरकारले गठन गरेको टोलीले सरोकारवाला कसैसंग छलफल नगरेकोले निष्पक्ष प्रतिवेदनआउनेमा शंका लागेको पनि उनले बताए ।
यसैगरी उनले निषेधाज्ञा जारी भएको विरोधमा तरुण दलले गरेको प्रदर्शनमा राज्यबाट भएको दमनलाई बर्बरको संज्ञा दिदैं तरुणदलको अध्यक्षलाई चिनेरै जानेरै प्रहरीले घाईते बनाएको भन्दै आफूहरुले भन्दै गरेको अधिनायकबाद तर्फ सरकार जान लागेको दावी गरे ।
यी मागहरु पुरा गर्नका लागि सरकारलाई दवाव सृजना गर्न त्यतिञ्जेल सम्म बैठक नचल्ने उनले बताए लगत्तै काँग्रेसका सांसदहरु उठेका थिए । विपक्षी दलका सांसद उठेर विरोध जनाई रहेका बेला सत्ताधारी दलका सांसद रामनारायण विडारीले विपक्षीको विरोध विधि सम्मत नभएको तर्क गर्दै थिए ।
एक पटक अध्यक्षले बोल्ने समय दिदाँ बोलिसकेर पनि बिडारीले पटक प टक बोल्ने कोशिस गरिरहेका थिए । माईक अन नभएको बेला पनि उनी विपक्षी माथि खनिईरहेका थिए ।
'प्रमुख प्रतिपक्षीका सदस्य उठिरहनु भएको छ उहाँहरुले बैठक चल्न नसक्ने धारणा राख्नु भएको छ, यस्तो बेला छलफल नहुने' अध्यक्ष गणेश तिमिल्सिनाले स्मरण गराईरहँदा पनि उनी कराई रहेका थिए ।
प्रतिपक्षीको अवरोधका कारण बैठकलाई अघि बढाउन असजिलो भएको भन्दे अध्यक्ष तिमिल्सिनाले साउन १६ गते बुधबार विहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको जनाकारी दिए ।
यस अघि विपक्षि दलको पटक पटकको अवरोध पनि प्रतिनिधि सभ बैठक पनि शुक्रबार सम्मका लागि स्थगित भएको छ ।
प्रतिक्रिया