कनठमाडौं ९ साउन / प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ सामना गर्ने क्रममा रहेका कायममुकाम प्रधानन्यायाधीश दीपकराज जोशीको दुई तहको परीक्षा र विद्यालय फरक–फरक भए पनि सिम्बोल नम्बर एउटै फेला परेको छ । जोशीले कानुनको प्रमाणपत्र तह (आईएल) पढ्न नेपाल ल क्याम्पसमा पेस गरेको विवरणमा यस्तो तथ्य फेला परेको हो ।
संघीय संसद् सचिवालय स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको कागजातअनुसार ल क्याम्पसको ‘प्रोग्रेस रिपोर्ट’ मा जोशीको प्रवेशिका र त्यसभन्दा अघिल्लो परीक्षा दुवैको सिम्बोल नम्बर एउटै (३६६७) छ। उनले राजधानीको डिल्लीबजारस्थित विजय मेमोरियल स्कुलमा विद्यालय तह अध्ययन गरेको र वीरगन्जको नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका उत्तीर्ण गरेको बताएका छन्।
नेपाल ल क्याम्पसको अभिलेखमा रहेको जोशीको ‘प्रोग्रेस रिपोर्ट’ मा उनी २०२९ सालमा १० कक्षा उत्तीर्ण भएको उल्लेख छ। त्यही प्रोग्रेस रिपोर्टको अर्को खण्डमा हाईस्कुल (माध्यमिक तह) पास गरेको विवरण भर्ने क्रममा उनले विजय मेमोरियल हाईस्कुलको नाम लेखेका छन्। पास भएको मिति २०२९ साल र सिम्बोल नम्बर ३६६७ उल्लेख छ। नेपाल राष्ट्रिय विद्यापीठको वीरगन्जस्थित प्रधान कार्यालयबाट जारी भएको प्राप्तांक विवरणमा पनि जोशीको सिम्बोल नम्बर ३६६७ नै लेखिएको छ। उक्त मार्कसिटमा परीक्षा केन्द्र ‘नक्साल–ख’ उल्लेख छ। दुवै तहमा उनी एकै वर्ष (२०२९ साल) उत्तीर्ण भएका देखिन्छन्।
‘आवश्यक प्रमाणसहित कामु प्रधानन्यायाधीशज्यूको प्रमाणपत्रको उजुरी यहाँ पेस भएको रहेछ,’ संसद् सचिवालय स्रोतले भन्यो, ‘तर पछि खोलेर हेर्दा प्रमाणपत्रको उजुरीचाहिँ देखिएन। संसद्मा परेका सबै उजुरीमाथि खुला छलफल हुनुपर्ने हो।’ संसदीय सुनुवाइ समितिमा पेस भएका उजुरीहरूसमेत ‘सेन्सर’ गरिएको भन्दै स्रोतले कान्तिपुरलाई विवरण उपलब्ध गराएको हो।
स्रोतका अनुसार नेकपा निकट केही कानुन व्यवसायीले प्रमाणपत्रमा देखिएको ‘समस्या’बारे प्रधानमन्त्री केपी ओलीलाई भेटेरै ब्रिफिङ गरेका थिए। तर ओलीले डा. गोविन्द केसीको आमरण अनशनका कारण परिस्थिति प्रतिकूल भएकाले यो विषयवस्तु नचर्काउन सुझाव दिएको स्रोतको दाबी छ। प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यो विषय संसदीय समितिमा उठाउँदा कांग्रेस र केसी पक्ष झनै हौसिएर प्रस्तुत हुने देखिन्छ। अघि नबढदा नै ठीक होला।’
सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा रहेको नेपाल राष्ट्रिय विद्यापीठको विवरणमा जोशीको सबै विवरण हुबहु मिलेको छ। तर विजय मेमोरियल स्कुलको अभिलेखमा जोशीको नाम भेटिँदैन। २०२८ र ०२९ सालमा १० कक्षाको अर्धवार्षिक, सेन्टप (टेस्ट) र एसएलसी दिने परीक्षार्थीको सूचीमा उनको नाम छैन। केहीमा दीपकराज शर्माको नाम भए पनि उक्त सिम्बोल नम्बर छैन।
कामु प्रधानन्यायाधीश जोशीले कान्तिपुरसँगको संक्षिप्त प्रतिक्रियामा आफू डिल्लीबजारस्थित विजय मेमोरियल स्कुलमा १० कक्षासम्म पढेको र टेस्ट पास भएपछि नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका दिएको प्रतिक्रिया दिए। ‘मैले विजय मेमोरियलमा १० कक्षासम्म पढेको हुँ। एसएलसी त्यहाँबाट दिइनँ। टेस्ट पास भएपछि नेपाल राष्ट्रिय विद्यापीठमा पढेर प्रवेशिका दिएको हो,’ जोशीले कान्तिपुरसँग भने, ‘विजय मेमोरियलकै चारित्रिक प्रमाणपत्रका आधारमा उता भर्ना भएकाले सिम्बोल नम्बर एउटै भएको हुनुपर्छ।’
कान्तिपुरमा कृष्ण ज्ञवालीले लेखेका छन् ।
प्रतिक्रिया