Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

छात्राप्रति गरेको टीप्पणीले गयो मन्त्रीको पद !

मंगलबार, ०८ साउन २०७५

काठमाडौं - छात्राहरुका बारेमा गरेको टीप्पणीको सर्वत्र आलोचना भएसँगै प्रधानमन्त्री केपी ओलीले कानून मन्त्री शेरबहादुर तामाङलाई राजिनामा गर्न निर्देशन दिएका छन् ।  

बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली चेलीहरुले आफूलाई नसुम्पिकन सर्टिफिकेट नपाउने दावी गर्दै मन्त्रीले सार्वजनिक अभिब्यक्ति दिएपछि उनको चौतर्फी आलोचना भएको थियो । 

यही विषयलाई वहाना बनाएर विपक्षीले सरकार माथि थप आक्रोश पोख्ने आँकलन गरेर प्रधानमन्त्री ओलीले तामाङ्लाई राजिनामा गर्न निर्देशन दिएका श्रोतले जनाएको छ । तामाङ्को उक्त अभिब्यक्ति प्रति सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत आपत्ति जनाउँदै आएका थिए । 

पढ्नुहोस् : छात्राप्रति मन्त्रीको टीप्पणीमा सत्ताधारी दलका प्रवक्ताकै आपत्ति

आफ्नो उक्त अभिब्यक्ति प्रति तामाङ्ले माफि समेत मागि सकेका छन् । तर सरकार र पार्टि दुवैबाट दवाव आएपछि तामाङ्ले दिउँसो पत्रकार सम्मेलन गरेर राजिनामा गर्ने तयारी गरेको मन्त्रीको पारिवारिक श्रोतले जनाएको छ । 

'हुन त उहाँको बानी त्यस्तो हैन, तर बोल्दा चिप्लिएको हो त्यसबारेमा माफि पनि मागि सक्नु भएको हो, तर अझै खेद्ने काम भयो' उक्त श्रोतले भन्यो 'सरकार र पार्टिले नै भने पछि राजिनामा गर्ने मनस्थिती बनाउनु  भएको हो ।'

दिउँसोको पत्रकार सम्मेलनमा तामाङ्ले आफूलाई भ्रष्टाचारीले काम गर्न नदिएको र यही कुरा उनीहरका लागि थप बहाना बनेको तर्क सहित राजिनामा सार्वजनिक गर्ने उक्त श्रोतको भनाई छ । 

तामाङ्ले शनिबार काठमाडौंमा आयोजित एक निजी विद्यालयको कार्यक्रममा भनेका थिए  : ‘आज म कथा खोल्छु । बंगलादेशमा हाम्रा कोही चेलीहरु, हाम्रा छोरीहरु डाक्टर पढ्न जानुहुन्छ भने मैले सुनेको छु, सर्टि्फिकेट लिनका लागि उसले कहिँ न कहिँ आफूलाई बेच्नैपर्छ, मार्मिक छ कथा, हामी हाम्रा छोरी चेलीलाई पढ्नलाई विदेशमा पठाउँछौं । तर उसले त्यहाँ आफूलाई नसुम्पीकन सर्टिफिकेट पाउने अवस्था छैन । उनीहरु सबैले यहाँ पढ्न पाउनुपर्छ भन्दा हामीहरु नै प्लेकार्ड बोकेर बाहिर निस्कन्छौं – हुँदैन ।’

केही दिन अघि छुट्टै सार्वजनिक कार्यक्रममा झापाको बीएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पनि बंगलादेशमा पढ्ने नेपाली छात्राबारे यस्तै टीप्पणी गरेका थिए । 

उनीहरुको टीप्पणी प्रति चौतर्फि आलोचना भईरहेको छ । 

प्रतिक्रिया