काठमाडौं - बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली छात्राहरुका बारेमा कानून मन्त्रीले गरेको टीप्पणी प्रति सत्ताधारी दलका प्रवक्ताले आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् ।
मन्त्री शेरबहादुर तामाङले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली चेलीहरुले आफूलाई नसुम्पिकन सर्टिफिकेट नपाउने दावी गरेका थिए । उनको उक्त भनाईप्रति नेपाल कम्युनिस्ट पार्टीका
प्रवक्ता नारायणकाजी श्रेष्ठले आपत्ति जनाउँदै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् । उनको उक्त भनाई सामाजिक सञ्जाल मार्फत् फैलिएपछि उनको चर्को आलोचना भईरहेको छ ।
‘आज म कथा खोल्छु । बंगलादेशमा हाम्रा कोही चेलीहरु, हाम्रा छोरीहरु डाक्टर पढ्न जानुहुन्छ भने मैले सुनेको छु, सर्टिफिकेट लिनका लागि उसले कहिँ न कहिँ आफूलाई बेच्नैपर्छ, तामाङ्ले उक्त कार्यक्रममा भनेका थिए मार्मिक छ कथा, हामी हाम्रा छोरी चेलीलाई पढ्नलाई विदेशमा पठाउँछौं । तर उसले त्यहाँ आफूलाई नसुम्पीकन सर्टिफिकेट पाउने अवस्था छैन । उनीहरु सबैले यहाँ पढ्न पाउनुपर्छ भन्दा हामीहरु नै प्लेकार्ड बोकेर बाहिर निस्कन्छौं – हुँदैन ।’
केही दिन अघि छुट्टै सार्वजनिक कार्यक्रममा झापाको बीएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पनि बंगलादेशमा पढ्ने नेपाली छात्राबारे यस्तै टीप्पणी गरेका थिए ।
फेसबुकमा स्टाटस लेखेर श्रेष्ठले प्रसाईको उक्त टीप्पणीलाई पनि अत्यन्त आपत्तिजनक भन्दै आत्मालोचनाको माग गरेका छन् ।
यसैविच मन्त्री तामाङ्को अभिव्यक्ति प्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि विरोध जनाएको छ । राप्रपा प्रचार विभाग प्रमुख तथा सहप्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गरी मन्त्री तामाङले अभद्र, अशिष्ट र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनलाई बर्खास्त गर्न माग गरेका छन् ।
अपडेट
कानून मन्त्री तामाङको अभिब्यक्तिमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि बिरोध गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै यस्ता अभिव्यक्ति प्रधानमन्त्रीबाटै रोक्नु पर्ने भन्दै केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।
‘स्वयं प्रधानमन्त्रीबाट बेलाबेला हलुका अभिव्यक्ति बाहिरिने गरेका बेला जिम्मेवार मन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिमा कारवाही गर्ने कसले ?’ विज्ञप्तिमा प्रश्न गर्दै लेखिएको छ, ‘छोरी चेलीलाई देवीका रुपमा मान्ने हाम्रो संस्कार स्मरण गराउँदै यस्ता अभिव्यक्तिलाई तत्कालै नियन्त्रणमा लिने दायित्व फेरि पनि प्रधानमन्त्रीकै रहेको विषय स्मरण गराउन चाहन्छौं ।’
यसैविच चौतर्फि आलोचना भए पछि मन्त्री तामाङ्ले विज्ञप्ति निकालेर आफ्नो बचाउको प्रयास गरेका छन् । विज्ञप्ति निकाल्दै उनले क्षमा मागेका छन्।
हेर्नुहोस् विज्ञप्ति :
प्रतिक्रिया