Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

विद्यालय शिक्षक स्थायी परीक्षा : नयाँ पाठ्यक्रमको विज्ञद्वारा आलोचना

शुक्रबार, ०४ साउन २०७५

काठमाडौं ४ साउन / शिक्षक सेवा आयोगले अस्थायी शिक्षकलाई स्थायी गर्ने तय गरेको खुला प्रतियोगिता परीक्षाका लागि आयोगले पाठ्यक्रम सजिलो बनाएको छ। आयोगको बेवसाइटमा सार्वजनिक गरिएको नयाँ पाठ्यक्रमले अब विद्यालयमा सेवामा प्रवेश गर्ने शिक्षकले शिक्षण विधिसम्बन्धि पाठ्यक्रमबारे जान्नु नपर्ने र परीक्षामा पनि लेख्नै नपर्ने गरी नयाँ पाठ्यक्रम तय गरिएको छ। प्राथमिक तहदेखि माध्यमिक तहसम्मका १२ हजार ७ सय ३९ स्थायी पदका लागि लिइने परीक्षा असोज ११, १२ र १३ गते सञ्चालन हुनेछ। नयाँ पाठ्यक्रममा आयोगले पुरानो पाठ्यक्रमको ४० अंकभारको शिक्षण विधि हटाएको छ जसमा विज्ञशरुले आपत्ति जनाएका छन्।

आयोगले हालै सम्पन्न आन्तरिक प्रतियोगिताबाट अस्थायीलाई स्वतः पास गराउनका लागि पाठ्यक्रम सजिलो बनाई विद्यमान परीक्षा प्रणालीको खण्ड ‘क’ हटाएको थियो। अब खुला प्रतियोगितामा समेत सहजै पास गराउन सोही पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको छ। शिक्षक सेवा आयोगले २०७२ साल फागुन २८ गतेबाट लागू गरेको पाठ्यक्रमलाई परिवर्तन गरी २०७५ साल जेठ ५ गतेपछि लिइने परीक्षामा लागू हुनेगरी सार्वजनिक गरिएको छ। नयाँ पाठ्यक्रममा पुरानो पाठ्यक्रमको खण्ड ‘क’ को सम्पूर्ण भाग हटाइएको छ। पुरानो पाठ्यक्रममा बस्तुगतको बहुबैकल्पिक प्रश्नको २० नम्बरको खण्ड ‘क’ मा माध्यामिक तहको पाठ्यक्रम शिक्षण विधि एवं प्रविधिअन्र्तगत ४० अंकभारको थियो भने खण्ड ‘ख’ मा ४० नम्बरका लागि सम्बन्धित विषयको विषयबस्तु सम्बन्धित ज्ञानमा आधारित प्रश्न सोध्ने गरेको थियो।

२०७२ सालको स्थायी पदमा खुला प्रतिस्पर्धामा सफल भई स्थायी भएको शिक्षक नारायण गौतमले बस्तुगतलाई २० बाट ४० बनाएर विद्यालयमा दक्ष र सिर्जनशील शिक्षक प्रवेशमा रोक लगाएको बताए । नेपाली विषयका मावि तहमा स्थायी शिक्षक गौतमका अनुसार शिक्षकको मुख्य आधार नै शिक्षण विधि नै भएकाले यसलाई कम आँक्न नमिल्ने प्रष्ट पारे। उनले आफूले खुलामा स्थायी पदमा परीक्षा दिँदा बस्तुगत २० नम्बर, विषयबस्तुको ज्ञानको ४० नम्बर, समस्यामूलक प्रश्नका लागि २० नम्बर र सूचना तथा प्रविधिको प्रश्नका लागि २० नम्बर निर्धारण गरेको जनाए।

‘पुरानो पाठ्यक्रमको ४० नम्बरको शिक्षण विधि पाठले शिक्षकले कक्षाकोठामा कसरी पढाउने, कक्षाकोठाको समस्या कसरी समाधान गर्ने, श्रव्यदृश्य तथा शैक्षिक समग्रीले विद्यार्थीको सिकाइ उपलब्धी कसरी राम्रो पार्ने र विषयतगत ज्ञानबारेको प्रश्नले शिक्षकलाई सिर्जनशील बनाएको थियो,’ शिक्षक गौतमले अनुभव सुनाए, ‘अब नयाँ पाठ्यक्रमले भर्खर विश्वविद्यालय शिक्षा पास गरेकाहरुलाई सहजै विद्यालय शिक्षामा स्थायी शिक्षक बनाउने भयो ।’ उनले चेताए, ‘तर शिक्षामा सुधार ल्याउन चुनौती थपिन्छ।’

अब नयाँ पाठ्यक्रममा क्षिासम्बन्धी आधारभूत ज्ञानअन्तर्गत खण्ड ‘क’ माध्यमिक तहको पाठ्यक्रम, शिक्षण विधि एवं प्रविधिका लागि वस्तुगत/बहुबैकल्पिक ४० अंक र खण्ड ‘ख’ सम्बन्धित विषय वस्तुको ज्ञानका लागि ६० अंक छुट्याइएको छ। विगतको २० अंकको शिक्षासम्बन्धि आधारभूत ज्ञान पाठ हटाइएको छ भने विगतको खण्ड ‘क’ मा रहेको शिक्षण विधि एवं प्रविधि ४० अंकभारको पाठ पूरै हटाइएको छ।

नयाँ पाठ्यक्रमले भने धेरैलाई पास गराउने नियतसहित बनाइएको धारणा शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाको छ। उनले वस्तुगत/बहुबैकल्पिक प्रश्न सरकारले शिक्षकहरुलाई सोध्नै नहुने स्पष्ट पारे। ‘वैकल्पिक प्रश्नले शिक्षकलाई चोर्न सिकाउँछ,’ शिक्षाविद् कोइराला सुझाउँछन्, ‘त्यही भएर चोरी गर्न सिकाउने प्रश्नको व्यवस्था गरेर सरकारले विद्यालयमा चोरको संख्या बढाउने प्रष्ट छ।’ कक्षाकोठामा शिक्षण विधि नै हटाइदिएर आफ्नालाई जसरीतसरी पास गराउने सरकारी दाउले समग्र विद्यालय शिक्षालाई नै ध्वस्त बनाउने उनको ठहर छ।

‘४० नम्बर ल्याउने त्रासले परीक्षाबाटै भाग्ने शिक्षकहरुलाई अब शिक्षण विधि पाठ्क्रमबाटै हटाएर परीक्षा सञ्चालन गर्दा धेरै मिहिनेत नगरी पास हुने भए। सिर्जनात्मक शिक्षाको प्रवेसमा यो पाठ्यक्रमले रोक लगायो,’ प्रा.डा. कोइरालाले नागरिकसँग भने, ‘यसले विद्यालय शिक्षाको सिकाइ उपलब्धि सुधार गर्न सक्दैन।’ उनले थपे, ‘विद्यालयमा शिक्षक प्रवेस गराउँदा दयाले होइन विद्यार्थीको सिकाइ उपलब्धी राम्रो गर्नसक्ने शिक्षक प्रवेस गराउन सरकारले ध्यान दिनुपर्नेमा उल्टै चोरेर पास हुने शिक्षक प्रवेस गराउन थालेको छ।’

वस्तुगत परीक्षाको लागि ४५ मिनेट र विषयगत परीक्षाको लागि २ घण्टा १५ मिनेटको समय निर्धारण गरिएको छ। पहिले शिक्षासम्बन्धी आधारभूत ज्ञानका लागि २० मिनेट, माध्यमिक तहको पाठ्यक्रम, शिक्षण विधि एवं प्रविधि र सम्बन्धित विषयको विषयवस्तुसम्बन्धी ज्ञानका लागि दुई घण्टा ४० मिनेट निर्धारण गरिएको थियो। अब वस्तुगत (बहुवैकल्पिक) अन्तर्गत ४० वटा प्रश्न (एक÷एक नम्बरको) र विषयगतमा छ (१० नम्बरको) वटा प्रश्न सोधिनेछ। विगतमा वस्तुगत २० र १४ वटा प्रश्न सोध्ने गरिन्थ्यो। १४ मध्ये १२ वटा छोटो र दुई वटा लामो उत्तर हुन्थे। नयाँ व्यवस्थाबाट वस्तुगत प्रश्नहरु बढी मिलाउन सक्नेले परीक्षामा सहजै बढी नम्बर ल्याउन सक्छन्।

शिक्षक सेवा आयोगका सदस्य ज्ञानी यादवले भने आयोगले परीक्षाको तयारी पुरानै ऐनअनुसार गरेकाले तीन तहको शिक्षकको परीक्षा सञ्चालन गर्नुपरेको स्पष्ट पारे। उनले नयाँ पाठ्यक्रमको सवालमा थोरै परीमार्जन गरी नयाँ आन्तिरकलाई नै बनाइएको पाठ्यक्रम नै खुलालाई समेत बनाइएको बताए। उनले हालको नयँ पठ्यक्रमले पनि शिक्षण विधिलाई केही समेटेको दाबी गरे । उनले नयाँ पाठ्यक्रम व्यवहारिक र विद्यालय शिक्षा सुहाउँदो रहेको दाबी गरे। ‘४० अंकभारको वैकल्पिकमै शिक्षा, ऐन, नियम, शिक्षण विधि, प्रविधि संविधनसँग सम्बन्धित प्रश्न रहेका छन्,’ सदस्य यादवले भने, ‘६० अंकभारको विषयगत पाठ्यक्रममा मूल विषयबस्तु समेटिएको छ।’ उनले थपे, ‘अब नयाँ पाठ्यक्रमअनुसार ४० अंकको छुटै शिक्षण विधि तथा प्रविधि पाठ व्यवस्था हटाइएको छ।’

नागरिकमा रूबी रौनियारले लेखेकी छन् । 

यो पनि पढ्नुहोस् : शिक्षक आयोगको पाठ्यक्रम : योग्यलाई अल्मल्याउने ध्येय त हैन !

प्रतिक्रिया