Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

प्रस्तावित माविलाई विशेष अनुदान, प्लस टुका विद्यार्थीलाई तालिम

बुधबार, २० असार २०७५

लम्जुङ् - सार्वजनिक शिक्षाको सुधारका लागि मध्यनेपाल नगरपालिकाले विशेष अनुदानको ब्यवस्था गर्ने भएको छ । 

नगर क्षेत्र भित्र रहेका प्रस्तावित मा.वि.लाई शैक्षिक गुणस्तर वृद्धिका निम्ती विशेष अनुदानको व्यवस्था गरिने लगायतका विषय समेटेर नगर प्रमुख रमेश कुमार पाण्डेले आ.व. २०७५ ÷ ०७६ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । उक्त नीति तथा कार्यक्रममा वेरोजगारी अन्त्यका लागि प्लस २ पढ्दै गरेका युवा युवतीलाई व्यवसायिक सिप तथा तालिमको व्यवस्था गरिने उल्लेख छ । पढेर पनि बेरोजगार बन्न सक्ने सम्भावनालाई ख्यालमा राखी उक्त ब्यवस्था गरिएको जनाईएको छ । 

“छोरा, छोरी पढाउनु होस पुण्य कमाउनु होस” भन्ने नाराका साथ शिक्षाको विकास, विस्तार गरिने भन्दै कार्यक्रममा दुई वटा विद्यालयलाई नमूना स्कूलको रुपमा विकास गरिने पनि कार्यक्रममा समेटिएको छ । 

“समृद्ध मध्यनेपाल सुखी मध्यनेपाल बासी” भन्ने नारालाई व्यवहारमा लागु गर्ने प्रतिवद्धता सहित प्रस्तु नीति तथा कार्यक्रममा नगर प्रमुख छात्राबृत्ती कोष खडा गरी नगरपालिका भित्रका स्कूलमा अध्ययनरत उत्कृष्ट छात्र छात्रालाई प्रोत्साहन स्वरुप नगर प्रमुख छात्रबृत्ति कार्यक्रम संचालन गरिने पनि उल्लेख छ । यस्तै संस्थागत तथा सामुदायिक विद्यालयको नियमित अनुगमन र मूल्याङ्कनको प्रणालीलाई व्यवस्थित एवं प्रभावकारी बनाउँदै मध्यनेपाललाई लमजुङ जिल्लाकै प्रमुख शैक्षिक केन्द्रको रुपमा विकास गर्न दीर्घकालिन नीति लिईने उल्लेख छ । 

“हाम्रा बालबालिका हाम्रो भविष्य ” भन्ने नारालाई व्यवहारमा लागू गर्न वि.सं.२०७६ सम्ममा मध्यनेपाल नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिने उल्लेख गर्दै कार्यक्रममा सडक बालबालिकालाई राहत, उद्धार, संरक्षण पुनस्थापना र पारिवारिक पुनरमिलनमा जोड दिईने जनाईएको छ । 

यसैगरी प्राविधिक शिक्षामा जोड दिदैँ गरीब, ईमानदार र जेहेन्दार छात्र छात्रालाई उचित शिक्षाको अवसर प्रदान गरिने उल्लेख गर्दै “सबैको लागि सधैँको लागि शिक्षा” भन्ने मान्यतालाई आत्मसात गर्ने जनाईएको छ ।

नगर भित्र कार्यरत शिक्षक शिक्षिकालाई आई.सि.टी. तालिम उपलब्ध गराईने पनि नगरपालिकाको योजना छ । 

प्रतिक्रिया