काठमाडौं - एसईई परीक्षामा भएको लापरवाहीको छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाए लगत्तै परीक्षा नियन्त्रक अम्विका प्रसाद रेग्मीको जिम्मेवारी खोसिएको छ । आईतबार साँझ शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले उनलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेर मन्त्रालय तानेका हुन् । उनले गर्दै आएको कामको जिम्मा तत्कालका लागि पाठ्यक्रम विकास केन्द्रका प्रमुख कृष्णप्रसाद काप्रीलाई तोकिएको मन्त्रीका प्रेस संयोजक सुनिल खड्काले जानकारी दिए ।
उक्त कार्यले परीक्षाको मर्यादामा प्रश्न उब्जाएको भन्दै चौतर्फि आलोचना भएपछि मन्त्री पोखरेलले शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेका थिए । ५ दिनको समय दिएर गठित उक्त समितिको म्याद शुक्रबारै सकिए पनि समितिले आईतबार बल्ल आफ्नो प्रतिवेदन मन्त्रीलाई बुझाएको हो ।
औपचारिक रुपमा प्रतिवेदन सार्वजनिक गरिएको छैन । तर परीक्षा सञ्चालन र ब्यवस्थापनमा गम्भिर लापरवाही भएको छानविन समितिले ठहर गरेको श्रोतले जनाएको छ । परीक्षा सञ्चालन र ब्यवस्थापन जस्तो सम्बेदनशील कुरामा आवश्यक सजगता नअपनाएको आशय सहित प्रतिवेदन प्राप्त भएपछि मन्त्रीले रेग्मीलाई मन्त्रालय तान्ने निर्णय गरेको मन्त्रालयको उच्च श्रोतले जनाएको छ ।
'परीक्षाको काम गर्दै आएका ईञ्जिनीयरको बढुवा सँगै सरुवा हुँदा समेत दक्ष जनशक्ति ब्यवस्थापन गर्न नसक्नु नेतृत्वको कमजोरी भएको प्रतिवेदनको सार हो' उक्त श्रोतले भन्यो, 'त्यसैले मन्त्रीले नियन्त्रकलाई मन्त्रालय तान्ने निर्णय गरेको हुन सक्छ, अन्य कुरा त प्रतिवेदनको विस्तृत अध्ययन गरेपछि मात्रै थाह होला ।'
नियन्त्रक रेग्मीले भने प्राविधिक त्रुटि भनेर नतिजामा भएको उक्त लापरवाहीको बचाउ गर्दै आएका थिए । परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले पनि बेलैमा गल्ति सच्याउन सकेको भन्दै उक्त कार्यको बचाउ गर्दै आएका थिए ।
पढ्नुहोस् : एसईईमा लापरवाही : बोर्ड अध्यक्ष गर्व साथ भन्छन्- त्रुटि लुकाउन सक्थ्यौं लुकाएनौं !
गत शनिबार प्रकाशित एसईईको नतिजामा कार्यालयले गम्भिर लापरवाही गरेको थियो ।
पढ्नुहोस् : एसईईमा लापरवाही : अघिल्लो दिन २४ जना, भोलीपल्ट ७४
जसका कारण नतिजाको भोलीपल्ट विद्यार्थीको जीपीए बदलिएको थियो ।
पढ्नुहोस् : एसईई नतिजामा चरम लापरवाही, एउटै विद्यार्थीको जिपीए फरक फरक
प्रतिक्रिया