काठमाडौं १६ असार / गत शनिबार एसईईको परिणाम सार्वजनिक हुँदा सुरुमा ३.९५ जीपीए देखियो सफल सुवेदीको । पोखरा लेखनाथ २९ का उनी र अभिभावकको खुसीको सीमै थिएन । भोलिपल्ट आइतबार खुसी साटासाटमै व्यस्त थिए ।
साँझपख विद्यालयबाट बाबु बद्रीनाथलाई फोन आयो, ‘सफलको ४ जीपीए आएको रहेछ है ।’ साथीसँग फुटबल खेल्दै गर्दा उनलाई पनि खबर पुग्यो । सुरुमा उनले पत्याएनन् । आफ्नै बाबुले भनेपछि नपत्याई सुखै भएन । नेटबाट मार्कसिट हेर्दा ४ जीपीए प्रस्टै थियो । ‘प्राविधिक कमजोरीले त्यस्तो भएको रहेछ,’ सफलले भने, ‘खुसी थपियो ।’
उनी पढ्ने क्रममा मसिना विषयवस्तुमा ध्यान दिन्थे । ‘सर्टफर्म’ बनाएर ‘साना’ कुरालाई पनि नोट गर्थे । शिक्षकले पढाएको र भनेको ध्यानपूर्वक सुन्थे । अनुसरण गर्थे । ‘पहिलो कुरा मिहिनेतको परिणाम हो,’ उनले भने, ‘सुरुबाटै मसिना विषयमा ध्यान दिएर पढेमा एसईईको परीक्षामा बढी मिहिनेत गर्न पर्दैन ।’
मालेपाटनकी झरना पौडेलले पनि ४ जीपीए ल्याइन् । मिहिनेतअनुसारको फल पाएको भन्दै उनी दंग छिन् । ‘घोटिएर पढ्नुभन्दा पनि शिक्षकले देखाएको बाटोमा हिँड्यो भने सफलता पाइने रहेछ,’ एसईईको परिणामको अनुभव उनले सुनाइन्, ‘घरमा अलिकति मात्रै पढ्ने आधार (वातावरण) बनाए पुग्ने रहेछ । शिक्षकको गाइड, साथीको संगत, पारिवारिक वातावरण र आफ्नो मिहिनेत सफलताका कारण हुन् ।’ घरमा गएर धेरै समय पढ्नुभन्दा पनि शिक्षकले पढाएको र भनेको कुरामै ध्यान केन्द्रित गर्न उनले आग्रह गरिन् ।
सुवेदी र पौडेल मात्र होइन, यहाँको मासबारस्थित मदरल्यान्ड माविबाट यसपटकको एसईईमा ७ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । मासबारकी कृति बराल, कास्की धितालका प्रयास पौडेल, बिरौटाकी वर्षा बराल, सिरहा विष्णुपुरका रञ्जन यादव र पामेका राजेश अधिकारीले पनि ४ जीपीए ल्याए । यही विद्यालयमा नर्सरीदेखि पढाइ थाले पनि प्रयास २ कक्षादेखि प्रथम हँुदै आएका थिए । पढाइमा यति लगाब थियो कि शिक्षकले कक्षामा पढाएको कहिल्यै भुल्दैनथे । शिक्षकले भनेको सबै कुरा मान्थे । ‘अपेक्षा गरेको थिएँ, तर पनि परीक्षा हो, अपेक्षाअनुसार नहुन पनि सक्थ्यो भन्ने लाग्थ्यो,’ उनले भने, ‘नतिजा सोचेजस्तै आयो । योभन्दा खुसी अरू के नै हुन्छ र ।’
वर्षाले पनि अनुशासनमा रहेर शिक्षक, अभिभावक, साथीभाइको सही संगतले सफलता हासिल हुने बताइन् । ‘कति समय पढ्नेभन्दा पनि पढेको बुझ्नु महत्त्वपूर्ण हुनेरहेछ,’ उनले भनिन्, ‘आफ्नो मिहिनेत, स्कुल र परिवारको सहयोगले यो परिणाम आएको हो ।’ कृतिको अनुभवमा पढ्नका लागि कुनै समय चाहिँदैन । ‘शिक्षक र अभिभावकको ‘गाइडलाइन’ मा हिँडेपछि पढ्ने समयको कुनै पर्वाह नहुने रहेछ,’ परीक्षाको नतिजाबाट प्रफुल्लित उनी भन्छिन्, ‘सबैका कुरा सुनेर आफ्नो बाटो आफैं हिँड्नुपर्दो रहेछ ।’ उत्कृष्ट नतिजाले आफू मात्र होइन, विद्यालय, अभिभावक, इष्टमित्र र आफन्तजनलाई पनि खुसी बनाउन सकिने उनले बताइन् ।
रञ्जनका बाबु व्यवसायी हुन्। बाबुका साथी स्याङ्जामा पढाउँछन् । उनैले रञ्जनलाई ८ कक्षामा ल्याएर यहीँ भर्ना गरेका थिए । नेपाली विषयमा अलि शंका भए पनि उत्कृष्ट नतिजा आउनेमा ढुक्क थिए । घरमा बसिरहेका बेला विद्यालयबाट फोन गएपछि उनी निकै खुसी भए । ‘अभिभावक र मेरो आफ्नै चाहना पूरा भएको छ,’ उनले भने, ‘सानै कक्षादेखि जग बलियो बनाएर पढ्नुपर्छ । घोकन्ते पढाइले मात्र सफल भइन्न ।’
अर्का विद्यार्थी राजेशको पनि पहिलो नतिजामा ३.९५ जीपीए थियो । पछि मार्कसिट हेर्दा ४ जीपीए भयो । पछिल्लो समय सामाजिक सञ्जालमा विद्यार्थी झुम्मिने प्रवृत्ति उनलाई ठीक लागेको छैन । फेसबुक कहिलेकाहीँ चलाए पनि उनले त्यसमा लगाव दिएनन् । पढाइमा मात्रै केन्द्रित रहे । खेल्ने समयमा विज्ञानका सामग्री बनाउँथे । ‘परीक्षामा जस्तोसुकै प्रश्न पनि आउन सक्छ भनेर संवेदनशील भएर तयारी गर्नुपर्छ,’ उनले भने, ‘किताब र बाहिरी ज्ञानमा पोख्त हुन सके सफलता अवश्य मिल्छ ।’
प्रयासकी आमा सरला पौडेलले ४ जीपीए ल्याएर छोराहरूले आफूहरूको शिर उँचो बनाएको बताइन् । उनी आधारभूत विद्यालयमा अस्थायी शिक्षिका हुन् । ‘मिहिनेतको परिणाम हो यो,’ उनले भनिन्, ‘छोराले आफैं पकाएर, भाँडा माझेर पढेको हो ।’ धिताल घर भएका प्रयास पोखरामा भाडाको कोठामा बस्थे ।
प्रिन्सिपल नारायण बराल विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउँदा विद्यालयलगायत सबै क्षेत्र खुसी हुनु स्वाभाविक रहेको बताउँछन् । विद्यालय, शिक्षक र विद्यार्थीको मिहिनेत र क्रियाशीलता, अभिभावकको सहयोग, पूर्वाधार, सिक्ने र सिकाउने वातावरण र विद्यार्थीलाई आवश्यक स्वतन्त्रता रहने गरी पढाइमा स्वामित्व लिने हैसियतलगायत कारणले यो नतिजा आएको उनको भनाइ छ । ‘कसरी पढाउँदा नतिजा राम्रो हुन्छ भन्नेमा विद्यालय केन्द्रित छ,’ उनले भने, ‘शिक्षकबीच नियमित अन्तक्र्रिया, विद्यार्थीको नतिजा मूल्यांकन, कमजोरी पहिचान गरी सच्याउनेजस्ता कामले पनि यो सफलता मिलेको हो ।’ यो छविलाई कायम राखिराख्न सिक्ने र सिकाउने विषयमा विभिन्न अभ्यास गर्दै जाने र कुशल विद्यार्थी बनाएर नतिजा सुनिश्चित गर्ने योजना उनले सुनाए । विद्यार्थी केन्द्रित पढाइ नै प्राथमिकतामा रहने उनको भनाइ छ । विद्यालयबाट १ सय ५० विद्यार्थी परीक्षामा सहभागी भएकामा १ सय १५ ए प्लस, २८ ए र ७ जना बी प्लसमा उत्तीर्ण भएका छन् ।
०५१ मा ५ जनाको पहलमा स्थापना भएको विद्यालयको विगतको एसएलसी (हाल एसईई) नतिजा राम्रो छ । विद्यालयमा नर्सरीदेखि विज्ञान र व्यवस्थापन विषयमा कक्षा ११ र १२ को पढाइ हुन्छ ।
मदरल्यान्डबाहेक कुमुदुनी होम्सबाट २, नेसनल इन्भेन्टिभबाट २ र सिर्जना आवासीय तथा फिस्टेल एकेडेमीबाट एक–एक जनाले ४ जीपीए ल्याए । त्यसैगरी सामुदायिकतर्फ शीतलादेवी माविबाट एकजनाले ४ जीपीए ल्याएको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका उपसचिव गोविन्दराज पोखेरेलले बताए । पोखरेलका अनुसार यस वर्षबाट नेपाली र सामाजिक शिक्षा विषयमा २५ नम्बरको प्रयोगात्मक परीक्षाका कारण विद्यार्थीलाई ४ जीपीए ल्याउन सहज भएको हो ।
कान्तिपुरमा लालप्रसाद शर्माले लेखेका छन् ।
प्रतिक्रिया