काठमाडौं १६ असार / एसईईको नतिजा सार्वजनिक गरेपछि हरेक विद्यालयमा समीक्षा चलिरहेको छ । राजधानीको एउटा सामुदायिक विद्यालयको समीक्षामा भाग लिने मौका मिल्यो । शिक्षकहरू भनिरहेका थिए, ‘यसपालि त हाम्रो विद्यालयका विद्यार्थी सबैले कक्षा ११ मा भर्ना पाउने भए ।’ भर्ना हुने आधारअनुसार सबै विद्यार्थीले १.६ जीपीए पूरा गरेका थिए ।
नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस ल्याएका थिए । शिक्षकहरू विद्यार्थीले पाएको जीपीएलाई ग्रेडमा बदलेर ए प्लस ल्याउने यति जना, ए ल्याउने यति जना भन्दै विद्यार्थीको ग्रेडसिट हेरेर गणना गरिरहेका थिए । उनीहरूको नजर विद्यार्थीले सैद्धान्तिकमा प्राप्त गरेको जीपीए र ग्रेडमा थिएन । सैद्धान्तिक र प्रयोगात्मक नम्बर जोडदा आउने ग्रेड र जीपीएमा मात्रै थियो । ३२ विद्यार्थीको ग्रेडसिट मैले पल्टाएँ । त्यसमा २१ जनाले गणितमा डी र ई ल्याएका थिए । अंग्रेजीमा १० जनाको सैद्धान्तिकमा ‘ई’ ग्रेड थियो । ७ जनाको डी थियो । अब भन्नुस्, विद्यार्थीको सिकाइ कस्तो रहेछ ?
***
एक निजी विद्यालयमा अध्ययन गरेकी एक छात्रा परीक्षा दिने बेलामा बिरामी परिन् । गणितको परीक्षामा उपस्थित मात्रै भइन् । उनको जीपीए २ भन्दा बढी छ । तर, गणितको ग्रेड ई छ । उनी अब ग्रेड वृद्धि परीक्षा दिने मनस्थितिमा छैनन् । ग्रेड वृद्धि परीक्षा नदिई ११ कक्षा पढ्न पाइन्छ भने परीक्षाको झन्झटमा किन लाग्नु भन्ने सोचाइमा छिन् । शिक्षा मन्त्रालयले ग्रेड वृद्धि नगरी भर्ना नहुने बाध्यात्मक व्यवस्था गरेकै छैन । विद्यार्थी नै परीक्षा दिने तयारीमा नभएपछि विद्यालय पनि जबर्जस्ती परीक्षा दिलाउने पक्षमा छैन ।
***
नुवाकोटका एक विद्यार्थीको जीपीए १.७० छ । अनिवार्य अंग्रेजीको सैद्धान्तिकमा ई, नेपालीमा डी, गणितमा ई, विज्ञानमा र सामाजिकमा डी छ । तर, सबै विषयमा शिक्षक र विद्यालयले दिएको प्रयोगात्मक नम्बर भने ए प्लस छ । २५ नम्बरको प्रयोगात्मकमा २५ नै दिएपछि विषयगत ग्रेडमा भने सैद्धान्तिक र प्रयोगात्मक जोड्दा गणितबाहेक सबै विषयमा डी प्लसभन्दा बढी छ ।
***
माथिका तीन तथ्यले तीन वर्षअघि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) ले शिक्षक र विद्यार्थीलाई पारेको प्रभाव कस्तो छ भन्ने छर्लङ्ग पारेको छ । कक्षा ११ मा भर्ना गर्न १.६ जीपीए ल्याए हुने र हरेक विषयमा प्रयोगात्मकमा २५ नम्बर पाउने भएपछि विद्यार्थीले मिहिनेत गर्न छाडेका छन् । शिक्षा मन्त्रालयले सबै विद्यार्थीले पढ्न पाउनुपर्ने भन्दै
भर्नाको आधार कमजोर बनाउँदा शिक्षाको गुणस्तर कमजोर हुँदै गएको विज्ञहरू बताउँछन् । २०७३ असार १ मा तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेल अध्यक्षतामा उच्च माध्यमिक शिक्षा परिषद्ले (हालको राष्ट्रिय परीक्षा बोर्ड) कक्षा ११ मा कस्ता विद्यार्थी भर्ना गर्ने भन्ने आधार तय गर्यो । विज्ञान पढ्न २ जीपीए, अंग्रेजीमा सी, सामाजिक र नेपालीमा डी प्लस हुनुपर्ने प्रावधान राख्यो ।
१० कक्षामा व्यावसायिक शिक्षा अध्ययन गरेका विद्यार्थीले ११ मा पढ्न विज्ञान, गणित र अंग्रेजीमा सी, सामाजिक र नेपालीमा डी प्लस तोकियो । व्यवस्थापन समूह अध्ययन गर्न पनि गणितमा सी, अंग्रेजी, नेपाली, सामाजिक र विज्ञानमा डी प्लस निर्धारण गरियो । २०७३ असार १५ मा अर्को बैठक बसेर विज्ञान पढ्न २ जीपीए र अंग्रेजीमा सी हुनुपर्ने प्रावधान हटाएर डी प्लस बनाइयो । विज्ञान र गणितमा अनिवार्य सी प्लस, सामाजिक र नेपालीमा डी प्लस हुनुपर्ने प्रावधान कायमै राख्यो । १० कक्षामा व्यावसायिक शिक्षा अध्ययन गरेका विद्यार्थीले ११ मा पढ्न विज्ञान, गणित र अंग्रेजीमा सी, सामाजिक र नेपालीमा डी प्लस तोकिएकोमा १.६ ल्याउने जसले पनि ११ कक्षा हुन पाउने व्यवस्था गरियो । अरू विषयको बन्देज हटाइयो ।
व्यवस्थापन समूह अध्ययन गर्न पनि गणितमा सी हुनुपर्ने प्रावधान हटाएर गणित, अंग्रेजी, नेपाली, सामाजिक र विज्ञानमा डी प्लस निर्धारण गरियो । शिक्षातर्फको भौतिक, रसायन, जीव विज्ञान र टिचिङ साइन्स अध्ययन गर्न नेपाली, गणित र अंग्रेजीमा डी प्लस ल्याए हुने प्रावधान राखियो । प्योर साइन्स पढ्नचाहिँ २ जीपीए अनिवार्य गरिएको थियो भने शिक्षातर्फको साइन्स पढ्न १.६ मात्रै भए पनि हुने व्यवस्था गरियो । अघिल्लो निर्णयमा विज्ञान र गणितमा सी, अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस हुनुपर्ने प्रावधान थियो ।
‘अघिल्लो भर्ना आधार एक हदसम्म वैज्ञानिक थियो र त्यसले विद्यार्थीमा नपढी आफूले रोजेको कक्षा ११ को विषय पढ्न नपाइने रहेछ भन्ने भावना जागृत गथ्र्यो,’ शिक्षाविद् मनप्रसाद वाग्लेले भने, ‘विडम्बना विद्यालय शिक्षा सुधार योजनामा सहयोग गर्ने दाताको दबाब थेग्न नसकेर २०७३ असार १५ गते नै त्यो सर्तसहितको ग्रिड परिवर्तन गरी १.६ नै शिक्षाको स्तर कायम गरियो । विद्यालयको स्तर खस्काउने काम गरियो ।’
कमजोरलाई शिक्षा विषय
शिक्षा समूह अध्ययन गर्न १.६ जीपीए ल्याउनुपर्ने हुन्छ । नेपाली र अंग्रेजीमा डी प्लस र सामाजिकमा डी ल्याउनेले पनि शिक्षा समूह अध्ययन गर्न पाउँछन् । एसईईमा कमजोर उपलब्धि हासिल गर्नेहरू शिक्षा विषय पढदैछन् । भविष्यमा अहिले यी कमजोर विद्यार्थीहरू नै सामुदायिक विद्यालयका शिक्षक र शिक्षा मन्त्रालय चलाउने सहसचिवहरू तयार हुनेछन् ।
शिक्षा सेवामा शिक्षा विषय अध्ययन गरेका मात्रै प्रतिस्पर्धा गर्न पाउँछन् । शिक्षा मन्त्रालयकै अधिकृत देवीराम आचार्यले गत वर्ष गरेको अध्ययनअनुसार १.६ देखि २ जीपीए ल्याउने विद्यार्थी ४८ प्रतिशत छन् । जीपीए १.६ ले विद्यार्थीको सिकाइलाई आंशिक स्वीकार योग्य भनेर व्याख्या गरेको छ । यही समूह अहिले शिक्षा विषय अध्ययन गरिरहेको छ ।
कान्तिपुरमा मकर श्रेष्ठले लेखेका छन् ।
प्रतिक्रिया