भक्तपुर - निम्न माध्यमिक तहको शिक्षक पदपूर्तिका लागि गरिएको विज्ञापनमा पेसा, व्यवसाय र प्रविधि विषयको शैक्षिक योग्यताका बारेमा शिक्षक सेवा आयोगले शैक्षिक योग्यता कायम गरेको छ ।
असार २ गते भएको निम्न माध्यमिक तहको शिक्षक पदपूर्तिका लागि गरिएको विज्ञापनमा उक्त विषयको शैक्षिक योग्यताका बारेमा आयोगले स्पष्ट पारेको हो । गत असार ८ गते बसेको आयोगको बैठकले उक्त विषयका लागि विज्ञान, कृषि, वाली विज्ञान, पशु विज्ञान, गृह विज्ञान, औधोगिक शिक्षामध्ये कुनै एक विषयमा कम्तिमा २०० पूर्णाङ्क सहित प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको योग्यतालार्ई कायम गर्ने निर्णय गरेको हो । विज्ञापनमा परीक्षा दिने विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको भनी उल्लेख भए पनि विषय स्पष्ट नभएको भन्दै विभिन्न जिल्लाले आयोगमा जानकारी मागेका थिए ।
शिक्षक नियुक्तिका लागि लिन लागिएको खुल्ला परीक्षामा देखिएका केही अन्यौललाई आयोगले स्पष्ट पारेको छ । विभिन्न जिल्लाबाट प्राप्त अस्पष्टतालाई आयोगले सम्बोधन गरेको जनाएको छ । जस अनुसार राहत शिक्षकले कार्यरत रहेको वा अन्यत्र जुनसुकै जिल्ला÷क्षेत्रको विज्ञापनमा सम्बन्धित तहमा दरखास्त दिन पाउने निर्णय पनि आयोगले गरेको छ । गत असार ७ गते बसेको आयोगको बैठकले शिक्षा ऐनको नवौं संशोधनको दफा ११च. को उपदफा (११) मा यो दफा प्रारम्भ भए पछि शिक्षकको पदपूर्तिको लागि हुने खुला तर्फको पहिलो विज्ञापनमा उम्मेदवार हुन राहत शिक्षकको रुपमा कार्यरत शिक्षकलाई उमेरको हद नलाग्ने ब्यवस्था अनुसार उक्त निर्णय भएको हो । राहत शिक्षकले आफू कार्यरत सम्बन्धित जिल्ला÷क्षेत्रको विज्ञापनमा मात्र दरखास्त फाराम भर्न पाउने हो वा अन्य जिल्ला÷क्षेत्रको विज्ञापनमा समेत दरखास्त
फाराम भर्न पाउने हो भनी विभिन्न जिल्लाबाट आयोगमा जानकारी माग गरिएको थियो । यस्तै शिक्षकको पदपूर्तिको लागि हुने खुलातर्फको पहिलो विज्ञापनमा उम्मेदवार हुन राहत शिक्षकको रुपमा कार्यरत शिक्षकलाई उमेरको हद नलाग्ने ब्यवस्था अनुसार आयोगले केही कुरा स्पष्ट पारेको छ । ऐन प्रारम्भ भएको २०७३ असार १५ गतेभन्दा अघिल्लो दिनसम्म नियुक्ति भई दरखास्त फाराम पेश गर्ने मितिसम्म
राहत शिक्षकको रुपमा सम्बन्धित तहमा कार्यरत शिक्षकलाई दरखास्त पेश गर्न उमेरको हद नलाग्ने आयोगले निर्णय गरको हो ।
यस्तै माध्यमिक तहमा विज्ञान, गणित, अंग्रेजी, लेखा, कम्युटर, सिभिल इञ्जिनियरिङ, इलेक्ट्रिकल इञ्जिनियरिङ, पशुपालन वा वाली विज्ञान गरी नौ विषयमा स्नातक गरेकालाई दिईएको लाइसेन्स माध्यमिक तहका निमित्त विशेष सुविधा भएकाले अन्य तहमा उम्मेदवार हुन नपाउने पनि आयोगले स्पष्ट पारेको छ ।
प्रतिक्रिया