काठमाडौं १० असार / अनिवार्य गणितबाहेकका सबै विषयमा प्रयोगात्मक नम्बरको व्यवस्था गरिँदा पनि एसईईको नतिजा गतवर्षको भन्दा ६.४६ प्रतिशतले खस्किएको छ । गतवर्ष १.६५ देखि ४ जीपीए ल्याउने विद्यार्थी ८२.३८ प्रतिशत रहेकोमा यसवर्ष ७५.९२ प्रतिशतमा झरेको हो ।
तीन वर्षअघि यही समूहको जीपीए ल्याउने विद्यार्थी ८४.३३ प्रतिशत थिए । यसवर्षदेखि कक्षा १० मा गणितबाहेक अनिवार्य सबै विषयमा २५ प्रयोगात्मक नम्बरको व्यवस्था छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार ४ लाख ५१ हजार ५ सय ३२ नियमित विद्यार्थीले परीक्षा दिएकोमा २ देखि ४ जीपीए ल्याउने ३ लाख ४२ हजार ८ सय २६ जना (७५.९२ प्रतिशत) मात्रै छन् । तैपनि नतिजाबाट निरुत्साहित हुनुपर्ने अवस्था नरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।
लोकसेवा आयोगले २ जीपीए ल्याएका मात्रै निजामती सेवामा प्रवेश गर्न पाउने आधार तय गरेको छ । कक्षा ११ भर्ना हुन १.६ जीपीए अनिवार्य हुनुपर्ने व्यवस्था छ । १.६५ भन्दा बढी ल्याउने विद्यार्थीको नतिजा हेर्दा हरेक वर्ष खस्किएको देखिन्छ ।
त्यस्तै ०.८५ देखि १.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ५८ हजार ६ सय ८८ छ । उनीहरू मानविकी, व्यवस्थापन, कानुन, विज्ञानलगायत अन्य कुनै पनि समूह अध्ययन गर्न अयोग्य हुन्छन् । तर उनीहरूले आउँदो साउन २३ देखि हुने ग्रेड वृद्धि परीक्षामा सहभागी भएर ग्रेड बढाउन भने सक्नेछन् । जुनसुकै विषयमा सी, डी प्लस, डी र ई ल्याउने विद्यार्थीले पुन: ग्रेड वृद्धि परीक्षा दिन पाउँछन् ।
११ कक्षा अध्ययन गर्न कम्तीमा १.६ जीपीए अनिवार्य ल्याएकै हुनुपर्ने प्रावधान छ । दुई वर्षअघि १.६५ देखि २ जीपीए ल्याउने विद्यार्थी २३.८४ प्रतिशत थिए । गतवर्ष बढेर २४.३४ पुग्यो । यसवर्ष यो प्रतिशत घटेर २२.३७ प्रतिशतमा झरेको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार ३.६५ देखि ४ जीपीए ल्याउने कुल विद्यार्थी ३.१५ प्रतिशत मात्रै छन् । यो समूहको जीपीए ल्याउनेमा गतवर्षभन्दा केही सुधार भएको छ । गतवर्ष २.७५ प्रतिशत मात्रै थियो । दुई वर्षअघिको नतिजाको तुलना गर्ने हो भने यो समूहको जीपीए प्राप्त गर्ने शून्य दशमलव ११ प्रतिशतले घटेको छ ।
त्यस्तै ३.२५ देखि ३.६० जीपीए ल्याउने विद्यार्थी गतवर्ष ९.५२ प्रतिशत थिए भने यसवर्ष १०.२१ प्रतिशत पुगेको छ । २.८५ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थी भने तीन वर्षकै कम देखिएको छ । तीन वर्षअघि यो समूहको जीपीए प्राप्त गर्ने ११.११ प्रतिशत रहेकोमा गतवर्ष ११.३६ प्रतिशत थिए भने यसवर्ष १०.८६ प्रतिशत मात्रै छन् ।
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार ४ जीपीएमा ४ नै ल्याउने २४ जना छन् । ३.९६ जीपीए ल्याउने १० जना र ३.९५ जीपीए ल्याउने १ सय १३ जना छन् । २ जीपीए ल्याउनेले विज्ञान, १.६ ल्याउनेले मानविकी, कानुन, शिक्षा र व्यवस्थापन समूह अध्ययन गर्न पाउँछन् । तर निश्चित विषयमा पनि ग्रेड पूरा गरेको हुनुपर्छ । विज्ञान समूह अध्ययन गर्न २ जीपीए ल्याएका विद्यार्थी योग्य भए पनि अनिवार्य विज्ञान र गणितमा सी प्लस ल्याएकै हुनुपर्छ । नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस आएको हुनुपर्छ । व्यवस्थापन समूहका विषय अध्ययन गर्न १.६ जीपीए र विषय ग्रेडमा अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिकमा डी प्लस ल्याउनुपर्ने हुन्छ ।
मानविकी समूह अध्ययन गर्न पनि १.६ जीपीए अनिवार्य छ । तीन सय पूर्णाङ्कको विषय छनोट गर्दा एसईईमा अनिवार्य विषय अंग्रेजी, नेपाली, सामाजिकमा डी प्लस आएको हुनुपर्छ । अंग्रेजी, नेपाली, समाजशास्त्र, आमसञ्चार, ग्रामीण विकास रोज्दा जीपीए १.६ ल्याउनुपर्ने हुन्छ । अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस ल्याउनुपर्छ । विज्ञान र गणितमा ई ल्याए पनि अध्ययन गर्न पाइन्छ । शिक्षा समूह अध्ययन गर्न पनि अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस आएको हुनुपर्छ । शिक्षा समूहको विज्ञान अध्ययन गर्न चाहनेले एसईईमा विज्ञान र गणितमा डी प्लस ल्याउनुपर्ने हुन्छ । प्राविधिक धारबाट १० कक्षाको परीक्षा दिएका विद्यार्थीले साधारणतर्फ पनि कक्षा ११ मा भर्ना हुन पाउँछन् ।
एसईई नतिजा झन् खस्कियो शिर्षकमा कान्तिपुरमा मकर श्रेष्ठले लेखेका छन्
कान्तिपुरमै गणेश राईले शिक्षाविद् भन्छन्,‘ग्रेडिङ प्रणाली उल्टो गतिमा’ शिर्षकमा खबर लेखेका छन् ।
उक्त खबर अनुसार शिक्षाविद्ले कक्षा १० मा लागू गरिएको ‘लेटर ग्रेडिङ’ प्रणाली उल्टो गतिमा रहेको बताएका छन् । यसकै कारण तीन वर्षयता शैक्षिक गुणस्तरसमेत खस्किएको उनीहरूको दाबी छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार सार्वजनिक भएसँगै उनीहरूले यस्तो प्रतिक्रिया दिएका हुन् ।
शिक्षाविद् विद्यानाथ कोइराला एसईई नतिजाको गुणस्तरप्रति सरकार, राजनीतिक दल, कर्मचारी, शिक्षक कोही जिम्मेवार नरहेको बताउँछन् । ‘एसईईको नतिजाले शैक्षिक गुणस्तर बढाउनेमा पत्यार छैन किनकि यसमा नतिजाको जिम्मेवारी कसले लिने भन्ने नै छैन । यो गम्भीर पक्ष हो,’ उनले भने, ‘ग्रेडिङअनुसार विद्यार्थीले पढेको र सीप सिकेको क्रेडिट आवर गन्ती हुनुपर्छ । तर व्यवहारमा त्यस्तो छैन । सबै पास भयौ, अब जता जान्छौ जाऊ भनेजस्तो स्थिति छ ।’ कोइरालाका अनुसार अमेरिकामा एसईई नतिजाप्रति स्थानीय शिक्षा निकाय जिम्मेवार रहन्छ भने चीनमा राजनीतिक दलको पनि सरोकारको विषय हुन्छ ।
लेटर ग्रेडिङ प्रणाली विद्यार्थीको खुबी, क्षमता, दक्षताको निरन्तर मूल्यांकन पद्धति हो । यसमा सम्बन्धित विषयमा प्राप्त नतिजा तथा लगावका आधारमा ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मूल्यांकन गरिन्छ । शिक्षाविद् मनप्रसाद वाग्ले दुई वर्षअघि ११ कक्षामा भर्ना हुन तय गरिएको गुणस्तरीय आधारलाई शिक्षा मन्त्रालयले १३ दिनभित्रै फेरेर फितलो निर्णय गरिदिएको बताउँछन् । ‘उक्त निर्णयले १ दशमलव ६ जीपीएसम्मकालाई कक्षा ११ को ढोका खोलिदियो,’ उनले भने, ‘यस्तो व्यवस्थाका कारण शैक्षिक गुणस्तरप्रतिको विश्वसनीयता गुम्न पुग्यो ।’
यसअघिको पूर्णाङ्क प्रणालीमा नतिजा विश्लेषण गर्ने आधार रहे पनि अहिले जसलाई पनि उत्तीर्ण मान्नुपर्ने अवस्था आएको वाग्लेले बताए । ‘लेटर ग्रेडिङ प्रणालीअनुसार पाठ्यक्रम र पाठ्यपुस्तकसमेत छैन । न त शिक्षण विधि र मूल्यांकन पद्धति छ । यी चारै पक्ष नसुधारी विद्यार्थीको शैक्षिकस्तर माथि उकास्न सकिँदैन,’ उनले भने । शिक्षाविद् वासुदेव काफ्ले मुलुक संघीय व्यवस्थामा गइसके पनि एसईई नतिजामा पुरानै ढर्रा र गैरजिम्मेवार परीक्षा प्रणाली हाबी हुँदा गुणस्तरमा आशंका बढेको बताउँछन् । ‘ग्रेडिङ सिस्टम सही मानेमा लागू भएकै छैन । तल्लो तहबाटै समन्वयात्मक रूपमा लागू हुनुपर्छ,’ उनले भने, ‘तर अहिलेको अभ्यासले यसमा बल दिँदैन ।’
अर्का शिक्षाविद् विनयकुमार कुसियत एसईईलाई शैक्षिक गुणस्तर बढाउने माध्यमका रूपमा अघि नबढाइँदा ग्रेडिङ प्रणाली उल्टो सावित भइरहेको उल्लेख गरे । ‘एसईई नतिजालाई प्रतिशतकै रूपमा व्याख्या गरिएको देखिन्छ, जुन गलत हो,’ उनी भन्छन्, ‘यसलाई अन्तर्राष्ट्रिय अभ्याससँग जोडेर अघि बढाउन जरुरी छ ।’ परीक्षा नियन्त्रण कार्यालयले एसईईको उत्तरपुस्तिका पूर्णाङ्कका आधारमा जाँच्ने गरेको छ । विषयगत अंकलाई पूर्णाङ्कमा जोड्ने र त्यसलाई ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मा बदल्ने गरिएको छ ।
यस्तै नयाँ पत्रिकाका अनुसार माथिल्लो कक्षाका लागि भर्ना पाउन कठिन हुने विद्यार्थी संख्या झन्डै दुई लाख छ । नियमिततर्फ कुल चार लाख ५१ हजार पाँच सय ३२ रहेकामा जिपिए २.० भन्दा कम ल्याउने विद्यार्थी एक लाख ९५ हजार तीन सय १५ छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले झन्डै ४५ प्रतिशतको शैक्षिक स्तर कमजार रहेको र सुधार गर्नुपर्ने अवस्था रहेको बताए ।
नियमिततर्फ सबैभन्दा माथिल्लो जिपिए ३.६५ देखि ४ ल्याउने १४ हजार दुई सय ३४ जना छन् । जसमध्ये आठ हजार ७३ छात्र र ६ एक सय ६१ छात्रा छन् । अघिल्लो वर्ष नियमिततर्फ चार लाख ४५ हजार पाँच सय ६४ सहभागी भएकामा सबैभन्दा माथिल्लो जिपिए ३.६५ देखि ४.० सम्म ल्याउनेको संख्या
१२ हजार दुई सय ८४
यस्तो छ कक्षा ११ मा भर्ना पाउने मापदण्ड
समूह १ : विज्ञान
विज्ञान समूहका फिजिक्स, केमेस्ट्री, बायोलोजी, गणित वा कम्प्युटर विज्ञान विषय अध्ययनका लागि कक्षा ११ मा भर्ना पाउन कम्तीमा जिपिए २ ल्याउनुपर्ने, विज्ञान र गणितमा सी प्लस, अंग्रेजीमा सी तथा सामाजिक र नेपालीमा डी प्लस ल्याउनुपर्ने ।
समूह २ –प्राविधिक विषय
भोकेसनल ग्रुपका विषयहरू एनिमल साइन्स/प्लान्ट साइन्स, इलेक्टिंकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ तथा कम्प्युटर इन्जिनियरिङका लागि न्यूनतम जिपिए १.६ हुनुपर्नेछ । विज्ञान, गणित र अंग्रेजीमा न्यूनतम सी ग्रेड तथा सामाजिक र नेपालीमा डी प्लस ल्याउनुपर्ने ।
समूह ३
गणित, लेखा, अर्थशास्त्र, कम्प्युटर साइन्स, टिचिङ म्याथ, को–अपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज, जोग्राफी, साइकोलोजीका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्ने । ती विषयका लागि एसइईमा म्याथम्याटिक्समा न्यूनतम सी तथा अंग्रेजी, नेपाली र सामाजिकमा न्यूनतम डी प्लस ल्याउनुपर्ने व्यवस्था गरेको छ ।
समूह ४
फिजिकल एजुकेसन, केमेस्ट्री एजुकेसन, बायोलोजी एजुकेसन, टिचिङ साइन्सका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्ने छ । एसइईमा साइन्स र म्याथमा न्यूनतम सी र अंग्रेजी, नेपाली र सामाजिकमा न्यूनतम डी प्लस ल्याउनुपर्ने हुन्छ ।
समूह ५
अंग्रेजी, अल्टरनेटिभ इंग्लिस, टिचिङ इंग्लिस र लिंगुस्टिक पढ्नका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्ने हुन्छ । एसइईमा इंग्लिसमा न्यूनतम सी र नेपाली र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्छ ।
समूह ६
मास कम्युनिकेसन, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम अध्ययनका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्छ । इंग्लिसमा सी, नेपाली, म्याथ र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्ने निर्णय भएको छ । परिषद्ले मास कम्युनिकेसनका लागि डी प्लस नचाहिने गरी निर्णय परिमार्जन गरेको छ ।
समूह ७
नेपाली, टिचिङ नेपालीका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्छ । त्यसैगरी नेपालीमा न्यूनतम सी, इंग्लिस र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्नेछ ।
समूह ८
पोलिटिकल साइन्स, हिस्ट्री, कल्चर, होम साइन्स, सोसियोलोजी, साइकोलोजी, लाइब्रेरी एन्ड इन्फरमेसन साइन्सका अध्ययका लागि न्यूनतम जिपिए १.६ चाहिन्छ । यी विषय अध्ययनका लागि एसएलसीमा सोसलमा न्यूनतम सी, नेपाली र इंग्लिसमा न्यूनतम डी प्लस ल्याउनुपर्नेछ ।
समूह ९
इन्ट्रोडक्सन टु एजुकेसन, इन्ट्रोडक्सन टु पेडागोजी, हेल्थ एन्ड फिजिकल एजुकेसन, पपुलेसन स्टडिज, इन्भाइरोमेन्ट एजुकेसन अध्ययनका लागि पनि जिपिए न्यूनतम १.६ चाहिन्छ । त्यसैगरी, एसएलसीमा इपिएचमा न्यूनतम सी, नेपाली, इंग्लिस र साइन्समा न्यूनतम डी प्लसको व्यवस्था गरेको छ ।
समूह १०
ह्युमन भेलु एजुकेसन, जनरल ल, संस्कृत व्याकरण, साहित्य, न्याय, वेद, नीतिशास्त्र, बौद्ध एजुकेसन र ल अध्ययनका लागि न्यूनतम जिपिए १.६ का साथै नेपाली, इंग्लिस र सोसलमा न्यूनतम डी प्लस ल्याएमा विद्यार्थीले भर्ना पाउँछन् । परिषद्ले संस्कृत पढ्नेका लागि इंलिसमा डी प्लस नचाहिने निर्णय गरेको छ ।
समुह ११
मैथिली, हिन्दी, नेवारी, फ्रेन्च, जापनिज, उर्दू, जर्मन, चाइनिज र अरू भाषा अध्ययनका लागि न्यूनतम जिपिए १.६ र इंग्लिसमा न्यूनतम डी प्लस ल्याएमा भर्ना पाउने व्यवस्था गरेको छ ।
समूह १२
डान्स, म्युजिक, स्कल्प्चर, पेन्टिङ, एप्लाइड आर्ट, स्पोर्टस् र अरू विषयमा न्यूनतम जिपिए १.६ र इंग्लिसमा न्यूनतम डी प्लस ल्याएमा कक्षा ११ मा भर्ना पाउने व्यवस्था छ ।
सी ग्रेडभन्दा तलकालाई ग्रेडवृद्धिको मौका
यस वर्षको परीक्षामा सैद्धान्तिक विषयतर्फ सी, डी प्लस, डी र ई प्राप्त गर्ने विद्यार्थीले सबै विषयमा ग्रेडवृद्धि गर्न पाउने भएका छन् । ती विषयमध्ये विद्यार्थीले चाहेका विषयमा र मूल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषयसम्म ग्रेड नखुलेका विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । परीक्षा नियन्त्रण कार्यालयले ग्रेडवृद्धिको परीक्षा २३ साउनदेखि गर्ने भएको छ ।
१३ हजार ड्रपआउट
साधारण र प्राविधिक विषयमा नियमित र एक्जाम्टेडतर्फ कुल चार लाख ८५ लाख ५ सय ८६ ले एसइईको परीक्षा आवेदन फारम भरेका थिए । तर, २१ हजार ८ सय ९७ विद्यार्थी अनुपस्थित भए । साधारणतर्फ नियमितका कुल १३ हजार ९०, एक्जाम्टेडतर्फ आठ हजार ६ सय ५७ ड्रपआउट भएका छन् । प्राविधिकतर्फ नियमितका एक सय ४४ र एक्जाम्टेडका ६ जना ड्रपआउट भए ।
११ जनाको रद्द, ७४ कम उमेर
यस वर्षको एसइईमा ११ जनाको उत्तरपुस्तिका रद्द भएको छ । ७४ जना कम उमेरका रहेका पनिकाले जनाएको छ । एक हजार ५० जनाको प्रयोगात्मक परीक्षा छुटेको छ ।
एसइई नतिजा : दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन शिर्षकमा भवानीश्वर गौतमले नयाँ पत्रिकामा लेखेका छन् ।
अन्नपूर्ण पोष्टमा सूर्यप्रसाद पाण्डेले भने शिर्षकमा लेखेका छन् । जस अनुसार तथ्यांक विश्लेषण गर्दा गत वर्षको तुलनामा यस वर्षको नतिजामा केही सुधार आएको भनिएको छ ।
यसपटक साधारणतर्फ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) तीन दशमलव ६५ देखि चारसम्म ल्याउने विद्यार्थी १४ हजार दुइ सय ३४ जना छन्, जसमा छात्रको संख्या आठ हजार ७० र छात्राको संख्या ६ हजार एक सय ६१ रहेको छ ।
यत्ति नै प्राप्तांक ल्याउने विद्यार्थीको संख्या गत वर्ष १२ हजार दुई सय ८४ मात्र थियो । जीपीए तीन दशमलव २५ देखि तीन दशमलव ६० ल्याउने विद्यार्थीको संख्या ४६ हजार एक सय ३० जना छन्, जसमा छात्रको संख्या २५ हजार नौ सय ४७ र छात्राको संख्या २० हजार एक सय ८३ जना थियो । गत वर्षको नतिजामा यो समूहका विद्यार्थी संख्या
४२ हजार ४ सय २७ थियो ।
जीपीए दुई दशमलव ८५ देखि तीन दशमलव २० ल्याउने विद्यार्थी ४९ हजार ३७ जना छन् । जसमा छात्रको संख्या २७ हजार ५ सय ५२ र छात्राको संख्या २१ हजार चार सय ८५ छन् । गत वर्ष यही समूहको जीपीए ल्याउने विद्यार्थी संख्या ५० हजार ६ सय ४६ थियो ।
जीपीए दुई दशमलव ४५ देखि दुई दशमलव ८० सम्म ल्याउने विद्यार्थी संख्या ७० हजार ५ सय १२ जना छन्, जसमा छात्रको संख्या ३६ हजार नौ सय ४० र छात्राको संख्या ३३ हजार ५ सय ७२ जना छन् । गत वर्ष यही समूहको नतिजा ल्याउने विद्यार्थी ६१ हजार नौ सय ५५ थियो ।
यस वर्ष जीपीए दुई दशमलव जिरो पाँचदेखि दुई दशमलव ४० ल्याउने विद्यार्थी ६१ हजार ८ सय ७० छन्, जसमा छात्रको संख्या २८ हजार नौ सय र छात्राको संख्या ३२ हजार नौ सय ७० छ । गत वर्ष यत्ति नै जीपीए ९१ हजार तीन सय १४ जना विद्यार्थीले ल्याएका थिए ।
जीपीए एक दशमलव ६५ देखि दुईसम्म ल्याउने विद्यार्थी एक लाख एक हजार ४३ छन्, जसमा छात्रको संख्या ४४ हजार ५ सय ५० र छात्राको संख्या ५६ हजार चार सय ९३ छन् । गत वर्ष यही समूहको नतिजा ल्याउने विद्यार्थी संख्या एक लाख ८ हजार चार सय ६४ थियो ।
यस वर्ष जीपीए एक दशमलव दुई पाँचदेखि एक दशमलव ६० सम्म ल्याउने विद्यार्थी संख्या ३५ हजार ५ सय ८४ छ, जसमा छात्रको संख्या १५ हजार दुई सय ६४ र छात्राको २० हजार तीन सय २० छ । गत वर्ष यही समूहको नतिजा ल्याउने विद्यार्थी संख्या ६४ हजार ५ सय ७७ थियो ।
यस वर्ष जीपीए जिरो दशमलव ८५ देखि एक दशमलव दुई जिरोसम्म ल्याउने विद्यार्थी संख्या ५८ हजार ६ सय ८८ छ, जसमा छात्रको संख्या २७ हजार एक सय ९७ र र छात्राको संख्या ३१ हजार ४ सय ९१ छ । गत वर्ष यही समूहको नतिजा ल्याउने विद्यार्थी संख्या ११ हजार दुई सय ८५ मात्र थियो ।
ग्रेडिङ प्रणालीअनुसार सबैभन्दा तल्लो स्तर मानिने जीपीए जिरोदेखि जिरो दशमलव ८० सम्म ल्याउने विद्यार्थी यसपटक शून्य रहे । गत वर्ष यो समूहका विद्यार्थी संख्या १५ जना थियो । यस वर्ष प्राविधिकतर्फ आठ हजार नौ सय ५ जना परीक्षार्थी सहभागी थिए । उनीहरूको नतिजा पनि नौ तहमै वर्गीकरण गरेर ग्रेडिङ प्रणालीमा सार्वजनिक गरिएको छ ।
गत चैत ८ गतेदेखि २० गतेसम्म सञ्चालित परीक्षाका लागि नियमित तथा एक्जाम्टेड समूहको साधारणतर्फ चार लाख ७६ हजार ८ सय ५२ जना र प्राविधिक धार तर्फ ८ हजार ७ सय ३४ जना गरी चार लाख ८५ हजार ५ सय ८६ जनाले परीक्षा फाराम भरेका थिए । तीमध्ये २१ हजार ८ सय ९७ जना परीक्षामा अनुपस्थित रहेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार परीक्षाको मर्यादाविपरीत काम गरेका नौ जना परीक्षार्थीको सबै विषय र एघार जना परीक्षार्थीको सबै विषयको परीक्षा रद्द गरिएको छ ।
सी ग्रेडसम्म ल्याउनेलाई पुरक परीक्षाको अवसर
सैद्धान्तिक विषयतर्फ सी, डी प्लस, डि र ई ग्रेड ल्याउने परीक्षार्थीले जति विषयमा सी ग्रेड र सोभन्दा तल्लो ग्रेड प्राप्त गरेको छ, त्यस्ता विषयमध्ये विद्यार्थीले चाहेको विषयमा ग्रेडवृद्धि (पूरक) सम्बन्धी परीक्षा दिन पाउने व्यवस्था मिलाइएको छ । यस्तो परीक्षा आगामी साउन २३ गते सञ्चालन गरिने पनिकाले जनाएको छ ।
कुनै परीक्षार्थीले आफ्नो नतिजामा चित्त नबुझेमा प्रति विषय पाँच सय रूपैंया तिरेर पुनर्योग गर्न पाउने व्यवस्था पनि पनिकाले गरेको छ ।
नतिजा पाँच घण्टा ढिलो
नतिजा प्रकाशन सम्बन्धी निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले दिउँसो तीन बजे बोर्ड बैठक डाकेको भए पनि बेलुका आठ बजे मात्र नतिजा प्रकाशित गरिएको थियो ।
तीन बजे नै बैठकमा उपस्थित भएका शिक्षा मन्त्रालयका सचिव, परीक्षा बोर्डका अध्यक्ष, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक, त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक लगायतका सदस्यहरू झण्डै चार घण्टा नतिजालाई सफ्टवयरमा इन्ट्री गर्ने क्रममा कठिनाइ भएपछि गफ मात्र गरेर बसेका थिए ।
विगतमा लामो अनुभव भएका प्राविधिक शाखाका कर्मचारी बढुवा भएर अन्यत्रै सरुवा भएको र हाल नयाँ आएका प्राविधिकमा पनिकाको कामको अनुभव नभएका कारण प्राविधिक कठिनाइ आएको परीक्षा नियन्त्रक रेग्मीले बताए ।
‘घण्टौं प्रयास गर्दा पनि प्राविधिक त्रुटि सुधार्न नसकिएपछि आज नतिजा नै सार्वजनिक गर्न सकिँदैन कि जस्तो लागेको थियो’, रेग्मीले भने, ‘तीन घण्टाको प्रयासपछि नतिजा प्रकाशन गर्न सफल भयौं ।’
नयाँ कर्मचारी आएपछि पर्याप्त परीक्षण गरेर मात्र बोर्ड बैठक बोलाउनुपर्ने भन्दै बैठकका सदस्यहरू नै असन्तुष्ट भएका थिए ।
एसइई परीक्षामा नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कसैले ल्याएनन् शिर्षकमा नेपाल समाचारपत्रमा खबर छ । खबर अनुसार
ग्रेडिङ प्रणालीअनुसार असार ९ गते साँझ सार्वजनिक गरिएको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कुनै विद्यार्थीको पनि आएको छैन ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत ८ गतेदेखि २० गतेसम्म साधारण तथा प्राविधिकतर्फ सञ्चालन गरेको परीक्षाको नतिजा आज ढिलो गरी पौनै आठ बजे सार्वजनिक गरेको हो ।
यस वर्षको परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ र आंशिकतर्फ २५ हजार १३८ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारको नियमिततर्फ आठ हजार ९०६ र आंशिकतर्फ १० परीक्षार्थी सहभागी भएको कार्यालयले जानकारी दिएको छ ।
सार्वजनिक भएको नतिजाअनुसार नियमिततर्फ १४ हजार २३४ विद्यार्थीले जिपिए ३.६५ देखि ४ (ए प्लस), ४६ हजार १३० विद्यार्थीले जिपिए ३.२५ देखि ३.६० (ए), ४९ हजार ३७ जना विद्यार्थीले जिपिए २.८५ देखि ३.२० (बि प्लस), ७० हजार ५१२ विद्यार्थीले जिपिए २.४५ देखि २.८० (बि), ६१ हजार ८७० विद्यार्थीले जिपिए २.०५ देखि २.४० (सि प्लस), १ लाख १ हजार ४३ विद्यार्थीले १.६५ देखि २.०० (सि) ल्याउन सफल भएका छन् । यसैगरी ३५ हजार ५८४ विद्यार्थीले १.२५ देखि १.६० (डि प्लस), ५८ हजार ६८८ विद्यार्थीले ०.८५ देखि १.२० (डि) ल्याएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिनुभयो । यसवर्ष ‘ई’ ग्रेड कसैले पनि ल्याएका छैनन् ।
आंशिकतर्फ ‘ए प्लस’ कुनै पनि विद्यार्थीको आएन भने दुई विद्यार्थीले मात्रै जिपिए ३.२५ देखि ३.६० (ए ग्रेड) ल्याएका छन् । आशिंकतर्फ १९ विद्यार्थीले जिपिए २.८५ देखि ३.२० (बि प्लस), १७७ विद्यार्थीले जिपिए २.४५ देखि २.८० (बि), ७०२ विद्यार्थीले जिपिए २.०५ देखि २.४० (सि प्लस), ५ हजार ८९५ विद्यार्थीले जिपिए १.६५ देखि २.०० (सि), ६ हजार ५२७ विद्यार्थीले जिपिए १.२५ देखि १.६० (डि प्लस), ३ हजार १०८ विद्यार्थीले जिपिए ०.८५ देखि १.२० (डि ग्रेड) ल्याएका छन् ।
यता प्राविधिक धारको नियमिततर्फ ५३८ विद्यार्थीले ‘ए प्लस’, १ हजार ७६६ विद्यार्थीले ‘ए’, २ हजार ६५३ विद्यार्थीले ‘बि प्लस’, २ हजार ५८० विद्यार्थीले ‘बि’, ६२९ विद्यार्थीले ‘सि प्लस’, ११२ विद्यार्थीले ‘सि’, ५ विद्यार्थीले ‘डि प्लस’ ४७९ विद्यार्थीले ‘डि ग्रेड’ ल्याउन सफल भएका छन् । प्राविधिकधारतर्फ आंशिकतर्फ ३ जना विद्यार्थीले ‘बि प्लस’ र १ विद्यार्थीले ‘डि ग्रेड’ ल्याउन सफल भएका छन् ।
परीक्षा नियन्त्रक रेग्मीका अनुसार साधारण र प्राविधिकतर्फ चार लाख ८५ हजार ५८६ परीक्षार्थीले परीक्षामा आवेदन दिएपनि परीक्षामा २१ हजार ८९७ परीक्षार्थी अनुपस्थित रहेको र चार लाख ६३ हजार ६८९ परीक्षार्थीले परीक्षा दिएका थिए ।
यसवर्षको परीक्षा सञ्चालनका क्रममा परीक्षाको मर्यादा विपरीत कार्य गर्ने नौ जना परीक्षार्थीको सबै विषयको परीक्षा रद्द गरिएको, ११ जनाको एक विषय रद्द गरि कूल २० परीक्षार्थीको परीक्षा रद्द गरिएको जानकारी दिएको छ ।
केही परीक्षार्थीको उत्तरपुस्तिकामा सिम्बोल नं स्पष्ट नभएको, प्रयोगात्मक अंक प्राप्त नभएका, तोकिएको जन्ममिति नपुगेका जस्ता कारणले नतिजा स्थगन गरेकाले त्यस्ता विद्यार्थी र सम्बन्धित विद्यालयले कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
अक्षरांकन पद्धतिले गुणस्तर खस्कियो शिर्षकमा नागरिकमा वसन्त खड्काले लेखेको खबर अनुसार जिपिए ३.६५ देखि ४ (ए प्लस ग्रेड) ल्याउने विद्यार्थीको संख्या १४ हजार दुई सय ३४ जना छ। ३.२५ देखि ३.६० जिपिए (ए ग्रेड) ल्याउने विद्यार्थीको संख्या ४६ हजार एक सय ३० र जिपिए २.८५ देखि ३.२० (बी प्लस ग्रेड) ल्याउने विद्यार्थीको संख्या ४९ हजार ३७ छ। यस्तै ७० हजार पाँच सय १२ विद्यार्थीले जिपिए २.४५ देखि २.८० (बी ग्रेड) ल्याएका छन्। जिपिए २.०५ देखि २.४० (सी प्लस ग्रेड) ल्याउने विद्यार्थी ६१ हजार आठ सय ७० र जिपिए १.६५ देखि २.०० (सी ग्रेड) ल्याउने विद्यार्थी एक लाख एक हजार ४३ छन्। जिपिए १.२५ देखि १.६० (डी प्लस ग्रेड) ल्याउनेको संख्या ३५ हजार पाँच सय ८४ र जिपिए ०.८५ देखि १.२० (डी ग्रेड) ल्याउने विद्यार्थीको संख्या ५८ हजार ६ सय ८८ छ। एक्जाम्टेडतर्फ भने एकजना विद्यार्थीले पनि जिपिए ३.६५ देखि ४ (ए प्लस ग्रेड) ल्याउन सकेका छैनन्।
यस वर्षको एसइईमा नियमिततर्फ चार लाख ५१ हजार पाँच सय ३२ जना परीक्षार्थी सहभागी थिए। तीमध्ये दुई लाख २३ हजार ६ सय एक छात्र र दुई लाख २७ हजार ९ सय ३१ छात्रा रहेको पनिकाले जनाएको छ । परीक्षामा एक्जाम्टेडतर्फ २५ हजार एक सय ३८ जना सहभागी थिए।
गत वर्षको एसइई परीक्षामा चार लाख ४५ हजार पाँच सय ६४ जना विद्यार्थी सहभागी थिए। तीमध्ये १२ हजार दुई सय ८४ विद्यार्थीले ए प्लस ग्रेड ल्याएका थिए। गत वर्षभन्दा परीक्षामा सहभागी विद्यार्थीको संख्या धेरै भएकाले ‘ए प्लस’ ग्रेड ल्याउने विद्यार्थीको संख्या केही बढी छ। तर समग्रमा विद्यार्थीले प्राप्त गरेको ग्रेड खस्किएको छ। गत वर्ष जिपिए ०.८५ देखि १.२० (डी ग्रेड) ल्याउने विद्यार्थीको संख्या ११ हजार दुई सय ८५ थियो। तर यस वर्ष ५८ हजार ६ सय ८८ विद्यार्थीको डी ग्रेड आएको छ। यसले ग्रेडिङ प्रणालीमा प्रवेश गरेपछि कमजोर विद्यार्थीको अवस्था झनै खस्किएको देखिएको छ।
शिक्षा ऐन २०२८ को आठौं संशोधन २०७३ असार १५ गते प्रमाणीकरण भएपछि विगत लामो समयदेखि कक्षा १० को परीक्षाका रुपमा हुँदै आएको स्कुल लिभिङ सर्टिफिकेट (एसएलसी) माध्यमिक शिक्षा परीक्षा (एसइई) मा परिवर्तन भएको हो। साथै नतिजा पनि ग्रेड सिस्टम (अक्षरांकन पद्धति) मा प्रकाशित गर्न थालिएको हो। ग्रेडिङ प्रणालीमा कुनै विद्यार्थीलाई अनुत्तीर्ण मानिँदैन। विगतमा कम विद्यार्थी पास भएको भन्दै सरोकारवाला निकायको आलोचना हुने गथ्र्यो। पछिल्ला दुई वर्षमा भने यो आलोचनाबाट सरोकारवाला निकायले छुटकारा पाएका छन्। तर शिक्षाको स्तर भने कमजोर हुँदै गएको शिक्षाविद् डा. विद्यानाथ कोइराला बताउँछन्। ‘अब न विद्यार्थीले मेहनत गर्नुपर्ने भयो न शिक्षकलाई नै विद्यार्थी पास भएनन् भन्ने चिन्ता हुने भो। जाँच दिँदादिँदै पास हुने प्रणालीमा गुणस्तर खोजेर कसरी हुन्छ ?’ कोइरालाले भने।
डा. कोइराला एसइई शिक्षकको रहर र तागत दुवै नभएकाले यो प्रणालीअन्तर्गत शिक्षा गुणस्तरीय हुन नसक्ने दाबी गर्छन्। ‘साँच्चिकै गुणस्तरीय शिक्षा कायम गर्ने हो भने ग्रेडिङ प्रणालीमा विद्यार्थीको नियमित मूल्यांकन हुनुपर्छ। उनीहरूलाई फाराम भर्न लगाएर पढाइको स्तर नियमित जाँच गर्नुपर्छ। तर कहाँ छ त्यस्तो अभ्यास?’ कोइरालाले भने।
ग्रेडिङ सिस्टमले विद्यार्थीलाई पनि समस्यामा पारेको उनी बताउँछन्। ‘बाहिर सबै विद्यार्थी पास भनिएको छ, तर ‘डी’ र ‘ई’ ग्रेड ल्याउने विद्यार्थीले के पढ्ने भन्ने अन्योल छ।’ उनले भने, ‘विद्यार्थी पास पनि भएको छ तर आफूले पढ्न चाहेको विषय पढ्न पाउँदैन, यसले विद्यार्थीलाई अघि बढ्न रोकेको छ।’
शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्साल पनि ग्रेडिङ प्रणालीबाट शिक्षाको गुणस्तर वृद्धि भएको भन्न हतार हुने बताउँछन्। ‘यो प्रणालीबाट उल्लेख्य सुधार भएको भनिहाल्ने अवस्था छैन। यसबाट उल्लेख्य सुधार भएको छैन,’ उनले भने। ग्रेडिङ प्रणालीले व्यवस्थापकीय पक्षचाहिँ सुधार भएको उनी बताउँछन्।
‘अहिलेको प्रणालीले विद्यालयस्तरीय शिक्षालाई कक्षा १२ मा पु-याएको र शिक्षा क्षेत्रमा रहेका दुई वटा ऐनको सट्टामा एउटा मात्र ऐन बनेको छ। यो प्रणाली कति प्रभावकारी छ भन्न गाह्रो छ,’ लम्सालले भने। सहसचिव लम्साल भने ग्रेड प्रणालीले विभिन्न विकल्प दिएको दाबी गर्छन्। ‘हिजो विकल्प बन्द थियो, तर आज ग्रेडअनुसारको अघि बढ्न विकल्प छ,’ उनले भने।
ग्रेडिङ प्रणाली लागू भएपछि शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गत वर्ष कक्षा ३, ५ र ८ कक्षाको सिकाइ उपलब्धि परीक्षण गरेको थियो। उक्त परीक्षणले शैक्षिक उपलब्धि घटेको देखाएको छ । ग्रेडिङ प्रणालीअनुसार फेल भइँदैन भनेपछि विद्यार्थीले मेहनत गर्न छोडेको शिक्षाविद्हरू बताउँछन्। ‘पहिले–पहिले एसएलसीलाई लक्षित गरेर विद्यार्थीले तल्लो कक्षादेखि नै मेहनत गर्थे। शिक्षक र अभिभावकले पनि त्यही किसिमको शैक्षिक वातावरण सिर्जना गर्थे। अहिले एसएलसीको हाउगुजी हट्यो। शिक्षक र अभिभावकलाई अल्छी बनायो। यसबाट शिक्षाको गुणस्तर खस्किन थालेको छ,’ शिक्षा मन्त्रालयका एक उच्च अधिकारीले भने।
प्रतिक्रिया