Edukhabar
मंगलबार, २० कार्तिक २०८१
खबर/फिचर

शिक्षक आयोगको पाठ्यक्रम : योग्यलाई अल्मल्याउने ध्येय त हैन !

विहीबार, ०७ असार २०७५

काठमाडौं - शिक्षक सेवा आयोग, देशभरका सामुदायिक विद्यालयमा स्थायी शिक्षक नियुक्तिका लागि उत्कृष्ट व्यक्ति छनौट गर्ने निकाय । स्थापना भएको १५ वर्षसम्म स्थापनाको औचित्य माथि प्रश्न उठिरहँदा २०६९ मा खुला विज्ञापन गरेर एक कदम अगाडी बढ्न सफल भयो । त्यस पछिका दिनहरुमा पनि २ पटक निमावि र माविको विज्ञापन गरेर अब यसले काम गर्ला कि भन्ने आश पलाउँदै गर्दा कार्यरत अस्थायीको परीक्षा लिने सवालमा तोकिएको मिति ४ पटक सम्म स्थगित गरेर नराम्रोसँग चुक्न पुग्यो ।

हिजो के कारणले रोकिएको त्यो परीक्षा अहिले के कुरा समाधान भएर तोकियो ? प्रश्नको सपाट उत्तर त फेला परेको छैन, तर कामना गरौं यो पटक कोही अनसन बस्ने छैनन्, कसैले आन्दोलन गर्ने छैनन् र आयोगले तोकेको कार्यरत अस्थायी शिक्षकको परीक्षा सफलता पूर्वक सम्पन्न हुने छ । आईन्दा कसैको मनमौजि तालबाट कुनै व्यक्ति शिक्षकका रुपमा कक्षा कोठामा भित्रिने क्रम ठप्प हुने छ । लामो समय देखि सार्वजनिक शिक्षाका सन्दर्भमा क्रोनिक बनेको अस्थायी शिक्षकको समस्या समाधान हुने छ ।

अर्को पनि आशा गरौं आयोगले तोकेको खुला परीक्षा सम्पन्न भई योग्यतम् व्यक्ति शिक्षकका रुपमा कक्षा कोठामा पुग्ने छन्, सामुदायिक शिक्षाको स्तर उकासिने छ ।

कार्यरत अस्थायी शिक्षकको रोकिएको परीक्षा र खुल्ला विज्ञापनको मिति तय भएसँगै यस क्षेत्रमा भने केही फरक दृष्यहरु देखिदैं छन् ।

फेसबुकमा तयारी पेज खुलेका छन् ।

केही पत्रिका शिक्षक सेवा आयोग विशेषका रुपमा प्रकाशित हुँदै छन् ।

ठाँउ ठाँउमा तयारी कक्षा शुरु भइसके । कतै शुरु हुने क्रममा छन् ।

आकर्षक विज्ञापन तयार भएका छन् ।

तयारी कक्षामा धाउनेहरुको संख्या बढ्दो छ ।

औषतमा एक सहभागी बराबर १० हजार रुपैंया भन्दा बढी रकम तिरेर तयारी कक्षा शुरु भएका छन् ।

ठाँउ ठाँउ सञ्चालित तयारी कक्षामा राजधानीबाट जहाज चढेर विषयगत प्रशिक्षकहरु पुग्ने क्रम पनि शुरु भईसकेको छ ।

सन्तानले जागिर खाओस् भन्ने कामना साथ कतिपयका आमा बाबुले ऋण पान गरेर तयारी कक्षामा पठाउने सुरसार गर्दैछन् ।

गाँउबाट शहरमा आएर होटलमा कोठा खोजेर पनि तयारी कक्षा लिने क्रम शुरु भएको छ ।

ट्युशन सेण्टरले होस्टलको सुविधा सहितको विज्ञापन गरेका छन् ।

यस अर्थमा होटल व्यवसाय, यातायात, जहाज, फोटोकपि, निजी शैक्षिक संस्था (ट्युशन र कोचिङ सेन्टर) पनि चलायमान भएका छन् ।  

४०, ५० थरिका सहयोगी गाइड प्रकाशित भएका छन् हुँदैछन् ।

स्थानीय एफ एम रेडियो स्टेशनहरुले पनि तयारी कक्षाको विज्ञापन पाएका छन् ।

छापाका माध्यमका सहयोगी पुस्तक र तयारी कक्षाको आकर्षक विज्ञापन पनि देखिन्छ ।

यी सबैका लागि पक्कै पनि लाखौं रुपैंया बराबरको कागजको आयात भएको छ ।

थुप्रै प्रेसहरु चलायमान भएका छन् ।

धेरै लेखकहरु जन्मिएका छन् ।

एक अर्थमा हेर्ने हो भने बजार चलायमान भएको छ । यसको प्रतिशत कति होला छुट्टै खोजको विषय हुन सक्छ तर शिक्षक सेवा आयोगले खोलेको यो विज्ञापनले अर्थतन्त्रनै चलायमान भएको छ ।

मुख्य कुरा उक्त परीक्षामा सामेल हुन चाहने विद्यार्थी भने अलमल र अन्यौलमा छन् । यो अलमल र अन्यौलको मुख्य पक्ष हो उनीहरुले दिने गरी तोकिएको परीक्षाका लागि तय पाठ्यक्रम  !

मूल्याङ्कनका विभिन्न तरिकाको (विषयगत – लामो छोटो, विश्लेषणात्मक आदि आदि र वस्तुगत – बहुवैकल्पिक, खाली ठाँउ भर्ने, ठिक वेठिक, जोडा मिलाउने आदि आदि) प्रतिपादन किन भयो होला ? संसारमा धेरै थरिको ज्ञान र विषयवस्तु छ, कुनै पनि व्यक्तिले सबै ज्ञान र विषयवस्तु जानेको छ छैन भन्ने बुझ्न एकै प्रकारका अथवा एउटा मात्र मूल्याङ्नको विधिले हुँदैन । धेरै थरिको ज्ञान मापन गर्नका लागि धेरै थरिका मूल्याङ्कनका साधन विकास भएको हो ।

इतिहासका तिथि मिति खाली ठाँउ भर्ने प्रश्नले मापन गर्ला, तर इतिहासमा भएको कुनै घटनाले अहिले पारेको प्रभावलाई मापन गर्न विश्लेषणात्मक प्रश्न चाहिन्छ । कुनै विषय वस्तुको सैद्धान्तिक ज्ञान उपयोगी होला त कुनै विषयवस्तुको लागि प्रयोगात्मक ज्ञान चाहिन्छ ।

राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ देखि ३२ को योजनाको वारेमा सैद्धान्तिक ज्ञानले पुग्ला तर बाल अधिकारसँग सम्बन्धि सैद्धान्तिक ज्ञान भन्दा पनि विद्यालयमा बाल अधिकारको संरक्षण, प्रयोग र प्रत्याभूत गर्न सक्ने हुनु पर्छ । अनि व्यक्तिको विषयवस्तुको ज्ञानको गहिराइ बुझ्नका लागि पनि विभिन्न प्रश्न चाहिन्छ ।

ब्लुम्सको ट्याक्सोनोमीबाट दीक्षित भएकाहरुका लागि संज्ञानात्मक तहका ६ वटै क्षेत्रको मापन गर्नका लागि पनि एकै प्रकारका प्रश्नले मापन गर्न सक्दैनन होला ।

तर शिक्षक सेवा आयोगले गत जेठ २ गते सार्वजनिक खुल्ला विज्ञापनको पाठ्यक्रम विश्लेषण गर्दा  स्थापित सिद्धान्तहरु आयोगका लागि किन लागु नहुने रहेछन् बुझ्न कठिन भएको छ ।

उक्त पाठ्यक्रम अनुसार प्रयोग गर्नुपर्ने बाल अधिकारका कुरा पनि वहुबैकल्पिक प्रश्नबाट मापन गरिदै छ, विद्यालयमा बनाउनु पर्ने विद्यालय सुधार योजना र वार्षिक कार्य तालिका पनि बहु वैकल्पिक प्रश्नमै सोधिदैँछ । कक्षा कोठाको शिक्षण सिकाइसँग कुनै नाता सम्बन्ध राख्नु नपर्ने दक्षिण कोरियाको शिक्षाको संरचना पनि बहु वैकल्पिक प्रश्नमै सोधिने भएको छ ।

प्रतिस्पर्धात्मक सोधिने परीक्षाको प्रश्नका सन्दर्भमा विश्व वैङ्कका लागि लेखक द्वय Anderson, and Morgan, 2008 ले कुनै पनि प्रतिस्पर्धात्मक परीक्षाका लागि तयार गरिएका साधनहरु कमजोर भए भने त्यसले समय र पैसाको मात्र खर्च नगरी प्रतिस्पर्धा नै झुटो बन्न पुग्छ भनेका छन् ।

The quality of any competitive examination depends on the quality of the test items (questions). In fact, if the test items (questions) are poorly designed, the competitive exam cannot be able to select the best candidate. Hence, it is a fallacy of the competition.

शिक्षक सेवा आयोगले यी २० वटा प्रश्न बनाउन २,४ लाख खर्च गर्छ होला र २०, ४० जना विद्धान पनि सहभागि हुन्छन् होला तर २० वटा प्रश्न मध्ये ३ वटा प्रश्नमा (शिक्षक दरबन्दि, समावेशी र प्र अ छनौट) समस्या देखिन्छ ।

सबै सतही ज्ञान मात्र मापन गर्ने, प्रश्न बनाउन सजिलो हुने तिथि मिति र तथ्य तथ्याङ्क मात्र सोधिन्छ । कुनै पनि प्रश्नले उच्चतहको ज्ञानको मापन गर्दैनन्, सबै प्रश्नहरु ब्लुम्सको ट्याक्सोनोमिको सबैभन्दा तल्लो तहको ज्ञान (knowledge-vomiting answer type) मा आधारित हुन्छन् ।

बहुवैकल्पिक प्रश्नका पनि विभिन्न प्रकार हुन्छन्, तर शिक्षक सेवा आयोगकले विज्ञहरूले Best Answer type भन्दा अरु बनाएको छैन । यसै पनि सबै विषयवस्तु बहु वैकल्पिक प्रश्नबाट मापन गर्न नसकिने त छदैछ, त्यसमा पनि यसको एउटा प्रकारको मात्र प्रयोग भएको छ । वस्तुगत प्रश्नकै अन्य प्रकारको पनि प्रयोग गर्न सकिने अवस्था छँदैछ । पाठ्यक्रमका विषयवस्तुले औचित्य पुष्टी गर्न सकेका छैनन ।

एउटा विद्यालयको शिक्षक जसको प्रमुख दायित्व शिक्षण सिकाइ हो, उसका लागि संसारभर भएको शिक्षाको ज्ञान किन आवश्यक छ ? उक्त कुरा जान्ने शिक्षकले के कुरा गर्न सक्छ र नजान्नेले के सक्दैन ? भन्ने स्पष्ट पार्नु आवश्यक छ ।

लहडका भरमा कुनै व्यक्ति विशेषलाई जुन जुन विषयवस्तु राख्न मन लाग्यो त्यो सबै पाठ्यक्रममा राखेर बोझिलो गराँउदैमा मात्र त्यसले कुशल र सक्षम व्यक्ति छनौट हुन सक्दैन, विडम्बना निकट भविष्यमा शिक्षक सेवा आयोगले लिने परीक्षामा त्यस्तै प्रश्न सोधिने छ, र त्यसबाट अब्बल हुने ब्यक्ति शिक्षक बनेर कक्षा कोठामा भित्रिने छ ।

तर पनि हामी आशा गर्न छाड्दैनौं योग्य शिक्षक छनौट हुन्छन्, बहुसंख्यक नेपालीको पहुँचमा रहेको सामुदायिक शिक्षाको स्तर उकासिन्छ !

शिक्षक सेवा आयोगलाई यति हतार छ कि वर्षा लाग्यो, मेलो सकाउनु पर्छ । पाठ्यक्रमका विषयवस्तु यति हचुवाका भरमा निर्धारित छन् कि शिक्षक सेवा आयोगले संसारको शिक्षक छनौट गर्ने पद्धतिलाई चुनौति दिइरहेको छ ।

खुला प्रतियोगिताका लागि २०७५ जेठ ५ गतेबाट लागू हुने गरी पाठ्यक्रम जारी गर्दा २०७४ चैत २८ मा शिक्षा कार्यालय खारेज भएको आयोगमा समाचार लैजाने कोही छैन ! त्यसैले प्राविको पाठ्यक्रममा शिक्षा कार्यालयकै वारेमा पढ्नु पर्नेछ ।

निमाविको पाठ्यक्रमको पहिलो पृष्ठ त सच्चाउन भ्याइएछ तर दोस्रो पानामा परीक्षाको पाठ्यक्रम २०७४ हुन पुगेछ । गुणस्तरीय शिक्षक छनौटको रटान लगाईरहेका छँदै छौं, यस्ता वर्षहरु किन हेर्नु र !

प्राथमिक तह र माध्यमिक तहको परीक्षा दिनेले शिक्षा मन्त्रालय, शिक्षा विभाग, शिक्षा कार्यालयको बारेमा जान्नुपर्छ तर निमाविको परीक्षा दिनेलाई यो चाँहिदैन ! पाठ्यक्रमका विषयवस्तु हेर्दा यस्तै देखिन्छ ।

२०७४ फागुनमै हो शिक्षा मन्त्रालयको नाम परिवर्तन भएको तर शिक्षक सेवा आयोगको पाठ्यक्रममा यो परिवर्तन हुन भ्याएको छैन । ठूला विद्धानहरुले यस्ता नाममा ध्यान दिने कुरा पनि त भएन !  

उक्त पाठ्यक्रममा शिक्षाका नवीनतम चिन्तन भन्ने एउटा एकाइ छ, पाठ्यक्रमका विषयवस्तुको सिलसिला यसरी मिलाइएको छ, सायद यस्तो सिलसिला साना मान्छेले मिलाउनै सक्दैन ।

५.३ मा बालअधिकार,

५.४ मा बालमैत्री विद्यालय,

५.५ मा पुन बाल अधिकार

५.७ मा विद्यालय शान्ति क्षेत्र र

५.१० मा विद्यालय शान्ति क्षेत्रको अवधारणा ।

शिक्षक तालिम नीति, शिक्षक सक्षमताहरू र शिक्षक शिक्षा र तालिम तीनवटा फरक फरक शीर्षक राखिएका छन् ।

प्राथमिक र निम्न माध्यमिकका परीक्षार्थीले पढ्नुपर्ने एकाइ ५ कै निरन्तर र वैकल्पिक एवम् खुला तथा दूर शिक्षा माध्यमिक तहका परीक्षार्थीले नपढ्दा पनि हुने भएको छ । यसको तर्क के हो ?    

माध्यमिक तहको एकाइ २ मा शिक्षा सम्बन्धी योजना तथा कार्यक्रम भन्ने एकाइ शीर्षक छ । उक्त एकाइ अन्तरगत १० वटा विषय क्षेत्र छन् ।

२.४ मा विद्यालय क्षेत्र विकास कार्यक्रम (२०७३–२०७९) रहेको छ । शिक्षा मन्त्रालयको वेभसाइडमा राखिए अनुसार यो कार्यक्रमको दस्तावेजको नाम विद्यालय क्षेत्र विकास योजना हो । कार्यक्रम र योजना सानो कुरा त हो, बुझिन्छ भनेर भनौँ भने २.७ मा विद्यालय क्षेत्र विकास योजना भन्ने अर्को विषय क्षेत्र छ । एउटा त जुन भए पनि त्यही होला तर अर्को कुन हो त ? परीक्षार्थीलाई कुहिरोको काग बनाईएको छ ।  

एकाइ १० संविधान र ऐन नियमका विषयवस्तु भएको एकाइ हो । शिक्षा ऐन संशोधन सहित भनेर आठौँ संशोधन मात्र छ, यसो भन्नुको मतलब नवौँ संशोधन भएको आयोगलाई थाहा नभएको त होइन होला ? के नवौँ संशोधन भएको विद्यार्थीलाई थाहा नभए पनि हुने हो ?

संविधानको भाग १ देखि ५ सम्म मात्र जान्नु पर्ने कारण के हो ? भाग १ देखि ५ जान्दा कसरी राम्रो शिक्षक हुने र अरु जान्दा वा १ देखि ५ नजान्दा के हुने हो ? विद्यार्थीलाई बुझ्न कठिन भएको छ ।  
परीक्षार्थीले बुझ्ने गरी पाठ्यवस्तु निर्धारण गर्दा शिक्षक सेवा आयोगका विद्धानहरुको विद्धता कमजोर हुन्छ र ?

जथाभावि हचुवाका भरमा राखिएका विषयवस्तुले मात्र राम्रा शिक्षक छनौट गर्न सकिन्छ ?

विगतमा भएका परीक्षामा २० वटा वस्तुगत प्रश्नमा तीनवटा गल्ती थिए । मानवीय त्रुटी हुन्छन स्वभाविक हो तर आयोग जस्तो निकाय जहाँ एउटै प्रश्न अन्तिमिकरण हुन ५–७ चरण पुरा गरिन्छ र लाखौँ खर्च गरिन्छ अनि त्यही प्रश्नका आधारमा लाखौँ परीक्षार्थीबाट सय वा हजार मान्छे छनौट गरिन्छ भने आयोगको कुनै पनि गल्तीलाई स्वभाविक रुपमा लिन सकिदैंन र क्षम्य हुन सक्दैन ।

हामीलाई अहिले जापान सिंगापुरको शैक्षिक नीति घोकेर आयोगको परीक्षामा ओकल्ने शिक्षक होइन कक्षामा गएर विद्यार्थीको सिकाइसँग आफूलाई जिम्मेवार बनाउँदै विषय वस्तुको ज्ञान र शिक्षण सिपमा अब्बल मानिस चाहिएको छ ।

आयोगका पदाधिकारी र विज्ञहरुलाई आफैले जारी गरेको पाठ्यक्रम एकपटक पल्टाउने फुर्सद होला ?

एउटै मानिस पाठ्यक्रम बनाउने, बजारमा गाइड प्रकाशन गर्ने, ट्युशन सेन्टर चलाउने र फेरी फर्केर आयोग तिरै कापी परीक्षण र अन्तरवार्तासम्म भ्याउने सिण्डिकेट पनि हटाउने हो कि ! कि आयोगका यस्ता विद्धानहरु नै सर्वेसर्वा हुन् ?

अब्बल शिक्षक बनेर कक्षा कोठाबाटै सिकाइ सुधार थाल्छु भन्ने दृढता सहित परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई छिर्न नदिने गरी अल्मल्याउन पाठ्यक्रममा यो हद सम्मको हेलचेक्र्याईँ गरिएको हो भन्ने टुङ्गोमा पुग्न नपरोस् ।

अहिलेलाई परीक्षा तयारीमा रहेका विद्यार्थीलाई शिक्षक भएर सार्वजनिक शिक्षा सुधार गर्ने मैले नै हो भन्ने ध्येयमा एकाग्रता मिलोस्, आयोग सुधार्न पनि कोही न कोही त पक्कै आउलान् !

प्रतिक्रिया