काठमाडौं ४ असार / पाल्पा माथाँगढी गाउँपालिका–८ बहादुरपुरकी ठकुमाया जर्घा १५ वर्षकी पुगिन्। उनको काखमा एक वर्षको छोरा छ। विद्यालयमा कापी कलम लिएर पढ्न जाने समयमा ठकुमाया बच्चा स्याहार्दै घर व्यवहार चलाउँदै आएकी छन्।
अन्नपूर्ण पोष्टका अनुसार कक्षा ५ मा पढ्दै गर्दा उनको विवाह भएको हो। १३ वर्षमा बिहे गरेकी उनी एक वर्षपछि आमा बनिन्। हाँस्दै खेल्दै पढ्ने उमेरमा ठकुमाया आमा बनिन्। परम्परा र सामाजिक संस्कारका कारण ठकुमाया जस्तै बहादुरपुरका धेरै किशोरी आमा बनेका छन्।
तराईमा व्याप्त रहेको भनिने बालविवाह पहाडी क्षेत्रमा पनि झन डरलाग्दो छ। पाल्पा बहादुरपुरका धेरै आमा किशोर अवस्थामै भए, पढाइ छाडे। १८ वर्षकै उमेरमा दुई सन्तान जन्माएकाहरूको संख्या पनि निकै छ। उमेर नपुग्दै हुने यस्तो विवाहलाई बहादुरपुरका मगर समुदायले सामान्य मान्दै आएका छन्।
‘१४/१५ वर्षकै उमेरमा महिनावारि रोकियो, गर्भ जाचँ गरिदिनुस् न दिदी भनेर स्वास्थ्यचौकी आउने गरेका छन्’, अहेब मीना चौधरीले भनिन्। गाउँमा बालविवाह बढ्दो छ। गाउँमा कार्यरत महिला स्वयंसेविकाहरूसमेत बालविवाहबाट अछुतो छैनन्।
स्वास्थ्य सेवाका खटिएका अधिकांश महिला स्वयंसेवीहरूको १४ देखि १६ वर्षमा विवाह भएको छ।
बहादुरपुरको मगर समुदायमा विवाह गर्न दिन, समय र बार हेर्नु नपर्ने र केटाकेटीको मन मिलेपछि, जुनसुकै समय पनि विवाह हुने गरेको छ। बाआमा पनि यसैगरी विवाह गरे, हामीले पनि यसैगरी विवाह गर्ने हो भन्ने धारणा समाजमा विद्यमान हुँदा बालविवाह मौलाउँदै गएको छ।
विद्यालयमा भर्ना भएका अधिकांश बालबालिकाको पढ्दा पढ्दै विवाह हुने गरेको छ। कक्षा ५ देखि विवाहको क्रम सुरु हुन्छ र कक्षा १० मा पुग्दासम्म अधिकांश छात्राको विवाह हँुदै आएको छ।
बालविवाह हटाउन गाउँपालिकाले पनि अभियान चलाउन सुरु गरेको वडाध्यक्ष दिलबहादुर ढेगाले बताए। तर, जनचेतनामूलक कार्यक्रमले मात्र बालविवाहमा कमी नआएको वडाध्यक्ष ढेगाले बताए। पाल्पाको मगर, कुमाल, दलित तथा अल्पसंख्यक समुदायमा परम्परा र संस्कारको नाममा बालविवाह कायम छ। २० वर्ष उमेर नपुगी केटा वा केटीबीच विवाह गरे तथा गराएमा कानुनी कारवाही हुने व्यवस्था भए पनि व्यवहारमा कार्यान्वयन भएको छैन।
अन्नपूर्ण पोष्टमा कृष्ण पोखरेलले लेखेका छन् ।
प्रतिक्रिया