काठमाडौं १ असार / पोखराका अधिकांश स्कुलले स्कुल बस निर्देशिका ०७४ विपरीत बस सञ्चालन गरिरहेका छन् । केही नाम चलेका विद्यालयले समेत निर्देशिकाविपरीत स्कुल बस सञ्चालन गरिरहेको फेला परेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता शिव थापाले पोखाराका सबै विद्यालयले स्कुल बस निर्देशिका कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए पनि अधिकांशले कार्यान्वयन नगरेको बताए ।
कास्कीमा दुई सय हाराहारीमा निजी विद्यालय छन् । नयाँ पत्रिकाका अनुसार यी विद्यालयका करिब चार सय बस सञ्चालनमा छन् । विद्यार्थी बोक्ने बसलाई बिहान विद्यालय समयमा विद्यार्थी पु¥याउन हतार हुन्छ । धेरै ठाउँ पुग्नुपर्ने, सीमित साधनले गर्दा ती बसको गति तीव्र हुने गरेको छ । एउटै बसले सबैतिर भ्याउनुपर्ने भएकाले उनीहरूको गति तीव्र हुने गरेको छ । स्कुल बस निर्देशिका ०७४ अनुसार स्कुल बसको अधिकतम गति ४० किलोमिटर प्रतिघन्टाभन्दा हुनुहुँदैन ।
स्कुल बस निर्देशिकाअनुसार १२ वर्षभन्दा मुनिका विद्यार्थीलाई सिट क्षमताभन्दा १.५ गुणा धेरै राखेर ओसार–पसार गर्न सकिन्छ । यसरी हेर्दा दुई सिटमा १२ वर्षमुनिका तीन विद्यार्थी बस्न सक्छन् । तर, यसैलाई अपव्याख्या गर्ने वा गलत बुझाइका कारण ठूला उमेरका विद्यार्थीलाई समेत कोच्ने गरेको पाइएको ट्राफिक प्रवक्ता थापाले बताए ।
प्रवक्ता थापाका अनुसार यसरी धेरै यात्रु कोच्ने बस कारबाहीमा समेत पर्दै आएका छन् ।
पोखराका केही विद्यालयले अझै पनि २० वर्ष पुराना बसमार्फत विद्यार्थी ओसार्ने गरेका छन् । बसको प्राविधिक जाँचपास सार्वजनिक सवारीसाधनअनुरूप हुनुपर्छ । यस्ता व्यवस्था अधिकांश स्कुल बसले लागू गरेको नपाइएको यातायात व्यवस्था कार्यालय गण्डकीका प्रमुख अच्युतराज रेग्मीले बताए ।
निर्देशिकाको पूर्ण पालना गर्न–गराउन नसकिएको प्याब्सन कास्कीका निवर्तमान अध्यक्ष चिनु रानाभाट स्विकार्छन् । नयाँ निर्देशिका आएको धेरै नभएको र विस्तारै कार्यान्वयन हुँदै गएको उनको तर्क छ ।
नयाँ पत्रिकामा गोविन्द सुवेदीले लेखेका छन् ।
प्रतिक्रिया